Skip This
पुनर्निर्माणपछि भरिभराउ दरबार हाइस्कुल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २१ मंगलबार
  • Saturday, 27 July, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o७९ भदौ २१ मंगलबार o७:५४:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पुनर्निर्माणपछि भरिभराउ दरबार हाइस्कुल

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ २१ मंगलबार o७:५४:oo

पाँच सय ५५ मध्ये तीन सय ३३ विद्यार्थी उपत्यकाबाहिरका

कोभिड महामारीपछि देशकै जेठो स्कुलका रूपमा रहेको दरबार हाइस्कुल (भानु मावि)मा विद्यार्थीहरूको संख्या बढेको छ । ०७२ सालको भूकम्पले यो स्कुल क्षतिग्रस्त भएको थियो । माघ ०७७ मा पुनर्निर्माण सम्पन्न भएपछि यस स्कुलमा आउने विद्यार्थीको चाप बढेको हो । 

कोभिड महामारीबीच विद्यार्थीको संख्या कम भए पनि यस वर्ष बढेको विद्यालयकी प्रधानाध्यापक शारदा पौडेलले बताइन् । उनका अनुसार ०७७/७८ मा विद्यार्थी संख्या दुई सय ६० सय हाराहारी थियो भने अहिले उक्त संख्या बढेर पाँच सय ५५ पुगेको छ ।

प्लेग्रुपदेखि १० कक्षासम्म पढाइ हुने यस स्कुलमा पढ्ने विद्यार्थीमध्ये झन्डै ६० प्रतिशत उपत्यकाबाहिरका छन् । कुल विद्यार्थीमध्ये उपत्यकाबाहिरका तीन सय ३३ जना र उपत्यकाभित्रका दुई सय २२ जना छन् । यहाँ पढ्ने बालमन्दिरका एक सयभन्दा धेरै विद्यार्थीको संख्या पनि यस आँकडामा समावेश छ ।

‘अहिले दरबार हाइस्कुलमा पढ्न आउने विद्यार्थी बढेका छन्, कक्षाकोठा अभावका कारण भर्ना हुन आएका कतिपय विद्यार्थीलाई हामीले फिर्ता पठाउने गरेका छौँ,’ उनले भनिन्, ‘कक्षाकोठा पर्याप्त भएको भए विद्यार्थी अझै बढ्थे ।’ पुनर्निर्माण भएपछि कक्षाकोठा थपिएको र कम्पाउन्ड पनि व्यवस्थित भएको उनले बताइन् । 

प्रधानाध्यापक पौडेलले देशका जुनसुकै ठाउँबाट आए पनि दरबार हाइस्कुलमा पढ्न पाइने व्यवस्था रहेको बताइन् । तर, विद्यालयको भौतिक संरचना अझै साँघुरो भएकाले कतिपय भर्ना हुन उपत्यकाबाहिरबाट आएका विद्यार्थीलाई फिर्ता पठाउनुपरेको छ । पछिल्लो समय भर्ना हुन आउनेमध्ये अधिकांश विद्यार्थी कक्षा सातदेखि माथिका छन् । तल्ला कक्षाहरूमा भने उपत्यकाबाहिरका विद्यार्थीको संख्या केही कम रहेको उनले बताइन् । 

यस विद्यालयलाई ८५ करोड लागतमा चीन सरकारले पुनर्निर्माण गरिदिएको थियो । हाल यस स्कुलका ३० जना दरबन्दी शिक्षक, दुई जना नेपाल भाषाका शिक्षक र अन्य चार जना कार्यालय सहयोगी छन् । यस स्कुलमा आफ्ना छोराछोरी पढाउनका लागि अहिले धनीवर्गका अभिभावकले पनि चासो दिन थालेको प्रधानाध्यापक पौडेलले बताइन् । उनका अनुसार भवन र पठनपाठन व्यवस्थित भएकाले कतिपय विद्यार्थी बोर्डिङ छाडेर यहाँ पढ्न आउने गरेका छन् ।

आगामी वर्षदेखि मन्टेसरी कक्षा सञ्चालन हुने
पौडेलका अनुसार हाल विद्यालयमा प्लेग्रुपदेखि पढाइ सञ्चालन भए पनि अब भने मन्टेसरीदेखि नै कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ । आगामी शैक्षिक सत्रदेखि उक्त कार्यक्रम सञ्चालनको तयारी गरिएको उनले बताइन् । यसबाहेक स्कुलले अन्य भाषाको कक्षा पनि सञ्चालन गरिरहेको छ । कक्षा सातदेखि १० सम्मका विद्यार्थीलाई लक्षित गरी अंग्रेजी, नेवारी र चाइनिज भाषाको पढाइ भइरहेको स्कुलले जनाएको छ ।

प्रविधिमैत्री पढाइमा जोड
दरबार हाइस्कुलले कक्षा आठदेखि १० सम्मको पठनपाठनलाई प्रविधिमैत्री बनाएको छ । विद्यार्थीलाई डिजिटल कक्षाकोठामा पढाइने र उनीहरूलाई पावरपइन्टमा अभ्याससमेत गर्न लगाइने प्रधानाध्यापक पौडेलले बताइन् । ‘हामीले दरबार हाइस्कुललाई प्रविधिमैत्री बनाउँदै छौँ, अहिले माथिल्ला कक्षाहरूमा हामीले प्रविधिको प्रयोग बढाएका छौँ, अब तल्ला कक्षाहरूमा पनि डिजिटल प्रणालीबाट पढाइ सुरु गर्छौँ,’ प्रधानाध्यापक पौडेलले भनिन्, ‘तल्ला कक्षामा कम्प्युटरको प्रयोगबारे विद्यार्थीलाई सिकाइरहेका पनि छौँ ।’ 

‘पढाइलाई प्रविधिमैत्री बनाएका छौँ’ : शारदा पौडेल, प्रधानाध्यापक, दरबार हाइस्कुल
हामीले यहाँको पढाइलाई प्रविधिमैत्री बनाएका छौँ । अहिले कक्षा ८, ९ र १० मा कम्प्युटर प्रणालीबाट पढाइ हुन्छ भने मिडिया ल्याबको पनि व्यवस्था गरेका छौँ । विद्यार्थीलाई कसरी प्रविधिमैत्री बनाएर पढाउने भन्नेबारे हाम्रो ध्यान केन्द्रित छ । अहिले विद्यार्थीको संख्या पोहोरभन्दा बढेको छ । 

दरबार हाइस्कुल देशको शैक्षिक इतिहास : सत्यमोहन जोशी, संस्कृतिविद् 
दरबार हाइस्कुल देशको शैक्षिक इतिहासका रूपमा रहेको छ । यो विद्यालयमा कुनै समय राजारजौटाका छोराछोरीले पढ्ने गर्थे । राजनीतिक घट्नाक्रमसँगै सर्वसाधारणले शिक्षामा पहुँच पुर्‍याए । निकै पुरानो स्कुललाई सधैँ संरक्षण गर्नुपर्छ र गरिबका छोराछोरीलाई शिक्षाको पहुँचमा ल्याउनुपर्छ ।

अंग्रेजी भाषामा पढाइ 
दरबार हाइस्कुलले अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको छ । गत वर्षदेखि नै कक्षा एकदेखि १० सम्म अंग्रेजी भाषामा पढाइ हुन थालेको हो । 

नौ रोपनीमा फैलिएको भवनमा ४६ कक्षाकोठा
भूकम्पअघि दरबार हाइस्कुल २० कोठामा सीमित थियो । विद्यार्थी धेरै हुने, तर कक्षाकोठा धेरै भएपछि कोचाकोच गरेर पढाउनुको विकल्प थिएन । तर, पुनर्निर्माणपछि भने विद्यालयका कक्षाकोठा पनि बढेका छन् । नौ रोपनी क्षेत्रफलमा रहेको स्कुल भवन पुनर्निर्माण गर्दा ४६ कक्षाकोठा बनाइएको छ । त्यसअघि २० वटा कोठा मात्रै थिए । हाल हरेक कक्षा कोठामा ४० जना विद्यार्थी राखिन्छ । नयाँ भवन बनेपछि विद्यार्थीको आकर्षण पनि बढेको छ । दरबार हाइस्कुललाई ०२७ सालमा भानु माविमा परिणत गरिएको थियो ।  

सुविधासम्पन्न साइन्स ल्याब र रोबटिक्स क्लास 
चीन सरकारले पुनर्निर्माण गरेको उक्त स्कुलमा अहिले सुविधासम्पन्न साइन्स ल्याब छ । त्यस्तै, लाइब्रेरी, पढाउने डिजिटल बोर्ड, कम्प्युटर ल्याब, खेलमैदान सुविधा छ । त्यस्तै, स्कुलमा रोबटिक्सको क्लास सञ्चालनमा छ । दरबार हाइस्कुल (भानु मावि)सँगै जोडिएको संस्कृत माविमा हाल करिब चार सय विद्यार्थी छन् । तर, दुई विद्यालयका विद्यार्थीलाई एकै भवनमा राख्दा भिडभाडसमेत भएको प्रधानाध्यापक पौडेलले बताइन् ।