१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
आइतबार निर्माणाधीन म्याग्दी अस्पताल भवन परिसरमा अनेरास्ववियु र युवा संघले महादेव खिम्ती गल्वा रफिना जेभीका सञ्चालक रवि सिंह हराएको भन्दै तस्बिरसहित निकालेको सूचना । तस्बिर : कमल खत्री/नयाँ पत्रिका
कमल खत्री म्याग्दी
२०७९ भदौ २१ मंगलबार ०७:१९:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ठेकेदारका नेता सिंहले पारे आधा दर्जन आयोजना अलपत्र

Read Time : > 4 मिनेट
२०७९ भदौ २१ मंगलबार ०७:१९:००

बेनी अस्पताल ६ वर्षदेखि अलपत्र छाडेपछि एमाले कार्यकर्ताले निकाले ‘ठेकेदार हराएको सूचना’ 

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको निर्माण कम्पनीले ठेक्का लिएका विभिन्न आयोजना समयमै सम्पन्न नगरेर अलपत्र पारेका छन् । देशैभरका आयोजना समयमै सम्पन्न गराउने तथा गुणस्तरीय बनाउने कार्यमा भूमिका खेल्ने नैतिक जिम्मेवारीमा रहेका अध्यक्षले नै निर्माणको ठेक्का लिएर समयमै सम्पन्न नगर्ने तथा अलपत्र पार्ने काम गरेको पाइएको हो । 

महासंघका अध्यक्ष सिंहको महादेव खिम्ती निर्माण सेवा कम्पनीले जिम्मा लिएका आधा दर्जनभन्दा बढी आयोजना समयमै बन्न सकेका छैनन् । सोमबार मात्रै उनी संलग्न रहेको संयुक्त उपक्रम (जोइन्ट भेन्चर) कम्पनी महादेव खिम्ती रसिना निर्माणले म्याग्दी जिल्ला अस्पतालको भवन समयमा नबनाएको विषय बाहिरिएको छ । एमालेनिकट भ्रातृ संगठन युवा संघ र अनेरास्ववियुले सोमबार उनको फोटोसहित ठेकेदार हराएको सूचना भनेर म्याग्दी जिल्ला परिसरका पर्खाल तथा सामाजिक सञ्जालमा प्रकाशन गरेका छन् । 

हुलाकी राजमार्गअन्तर्गतको झापामा पर्ने कन्काई पुल पनि उनले तोकिएको समयमा नबनाएको सडक विभागले जनाएको छ । हुलाकी राजमार्ग (पूर्वी खण्ड), महेन्द्र राजमार्गअन्तर्गतको दधौरा पुल (पथलैयाभन्दा चार किलोमिटरपूर्व)लगायतका अलपत्र आयोजना उनकै कम्पनीले पाएको छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले सिंहको निर्माण कम्पनी महादेव खिम्तीले काममा ढिलासुस्ती गरे पनि आयोजना अलपत्र भने नपारेको दाबी गरे । ‘उक्त कम्पनीले विभागबाट लिएको आयोजना अलपत्रमा पारेको अवस्था छैन । तर, निर्माणमा भने ढिलासुस्ती नै छ । ठेक्का सम्झौता अवधिमै उहाँले जिम्मा लिएको आयोजना बन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘महादेव खिम्ती एक्लैले लिएको भन्दा पनि जोइन्ट भेन्चरमा लिएको आयोजनाको निर्माण ढिलाइ भएको छ ।’ 

अध्यक्ष सिंहकै अगुवाइमा महासंघले आयोजनाहरूको म्याद पटक–पटक थप्न सरकारलाई दबाब दिँदै आएको छ । गत असारमा पनि सरकारले सार्वजनिक खरिद नियावलीको १२औँ संशोधन गर्दै आयोजनाको म्याद एक वर्ष थपेको छ । समयमै काम सम्पन्न नगर्ने र सरकारलाई दबाब र प्रभावमा पारेर आयोजनाको म्याद थपिरहने प्रवृत्ति महासंघ र अध्यक्ष सिंहमा देखिएको विभागका अधिकारीहरू बताउँछन् । 

सिंहमाथि दुईवटा भ्रष्टाचारको मुद्दा
महासंघ अध्यक्ष सिंहमाथि भ्रष्टाचारको मुद्दा विशेष अदालतमा विचाराधीन छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबकैया नदी नियन्त्रण आयोजनामा तीन करोड रुपैयाँभन्दा बढी अनियमितता गरेको भन्दै उनीसहित पाँचजनाविरुद्ध १४ पुस ०७७ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले आयोजना प्रमुख राजकुमार श्रीवास्तव र इन्जिनियर पाण्डवप्रसाद देवविरुद्ध समेत मुद्दा दर्ता गरेको थियो । सिंहले उक्त आयोजना मैनाचुली निर्माण सेवा प्रालिसँग जोइन्ट भेन्चरमा अघि बढाएका थिए । सोअनुसार मैनाचुली निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक मदनकुमार अधिकारी तथा महादेव खिम्ती र मैनाचुली जेभीका आधिकारिक प्रतिनिधि सन्तोष प्रधान शाहीविरुद्ध पनि आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यस्तै, ०७८ साउनमा खोटाङमा पर्ने मध्यपहाडी लोकमार्ग एक खण्डको ठेक्कामा पनि अनिमियता भएको भन्दै उनीसहित पाँचजनाविरुद्ध अर्काे मुद्दा परेको छ । दुई अर्ब १० करोडको ठेक्कामा झन्डै ६८ लाख ९३ हजार ७७८ रुपैयाँ हिनामिना भएको अख्तियारको दाबी छ ।

चुनाव लड्ने तयारी गरेको वेला मलाई नंग्याउन प्रयास गरियो  : रवि सिंह, अध्यक्ष नेपाल निर्माण  व्यवसायी महासंघ 
एमालेनिकट युवा संघ र अनेरास्ववियुका साथीहरूले विषयवस्तुबारे राम्रोसँग नबुझेर कदम उठाएको जस्तो लाग्छ । सूचनामा उहाँहरूले निर्माण कम्पनीको नाम गलत लेख्नुभएको छ । मेरो नामसमेत गलत लेख्नुभएको छ ।

मेरो नाम रवि सिंह मात्रै हो । तर, सूचनामा श्रेष्ठ पनि थप गरिएको छ । तीन–चार वर्षअघि नै मेरो कम्पनी महादेव खिम्ती, जाल्वा र रसिना निर्माण कम्पनीले संयुक्त रूपमा यो ठेक्का लिएको थियो । त्योअनुसार नीतिगत रूपमा यसमा म पनि आबद्ध छु ।

तर, त्यसको आर्थिक–भौतिकलगायतको जिम्मेवारी भने रसिना निर्माण कम्पनीका सञ्चालक रविनराज जोशीले लिनुभएको हो । जोइन्ट भेन्चर ठेक्का भएकाले यसमा मेरो दायित्व छैन भन्न भएन ।

तर, यसको पछाडि मेरो कुनै कमजोरी छैन । म कांग्रेसमा आबद्ध व्यक्ति हुँ । बागमती प्रदेशमा समानुपातिकतर्फबाट उम्मेदवार बन्ने प्रयासमा छु । एमाले भ्रातृ संगठनले मलाई नंग्याउने प्रयास गरेका छन् ।

भवन अलपत्र पार्ने ठेकेदारलाई ७१ लाखभन्दा बढी भुक्तानी

म्याग्दी सदरमुकाम बेनीमा ५० शय्या क्षमतामा स्तरोन्नतिसहित निर्माणाधीन बेनी अस्पतालको भवन अलपत्र परेको छ । ६ वर्षअघि निर्माण सुरु भएर अलपत्र अवस्थामा रहेको भवनको ठेक्का नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्षसमेत रहेका रवि सिंहको महादेव–खिम्ती–गल्वा–रफिना जेभीले लिएको थियो । राजनीतिक पहुँच राख्न सक्ने निर्माण व्यवसायीको कारण अलपत्र परेको अस्पताल भवनले पूर्णता पाउने निश्चित भएको छैन । डेढ वर्षदेखि दुई–चारजना कामदारलाई कार्यक्षेत्रमा राख्नेबाहेक भौतिक प्रगति भएको छैन । हाल निर्माण कार्य पूर्ण रूपमा ठप्प छ ।

निर्माण सम्पन्न गर्नुपर्ने म्याद गुजारेको करिब तीन वर्ष पुग्न लाग्दा बेनी अस्पतालको भवन निर्माण योजना अन्योलमा रहेको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए । ‘जिल्लामै शल्यक्रियासहितको उपचार सेवा दिइरहेको बेनी अस्पताल अहिले अस्थायी टहराबाट सेवा दिइरहेको छ, अस्पतालको पुराना संरचना भत्काइएको र नयाँ भवन अलपत्र बनेपछि अस्पतालबाट दिने सेवा र बिरामीले पाउने सुविधा सहज भएको छैन,’ उनले भने । 

तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बाग्लुङसँग २१ पुस ०७३ मा महादेव खिम्ती, गल्वा रफिना जेभीले १८ करोड ८४ लाख आठ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । २० मंसिर ०७६ भित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भए पनि योजना अलपत्र परेपछि अहिले चौतर्फी आलोचना बढेको छ । निर्माण सुरु भएको ६ वर्षसम्म पनि म्याग्दी अस्पताल भवन अलपत्र पार्ने ठेकेदार कम्पनीलाई सम्झौतामा उल्लेख गरिएको दररेटभन्दा बढी भुक्तानी दिएको पाइएको छ ।

सर्वजनिक महालेखापरीक्षकको ५९औँ वार्षिक प्रतिवेदनमा बेनी अस्पतालको भवन बनाउने ठेकेदारलाई सम्झौताविपरीत ७१ लाखभन्दा बढी रकम भुक्तानी गरेकाले असुलउपर गर्नुपर्ने उल्लेख गरिएको छ । ठेक्का सम्झौतामा निर्माण व्यवसायीलाई घनमिटरदरमा इँटाको गारो लगाउने सम्झौता भए पनि भुक्तानी गर्दा वर्गमिटरमा नापजाँच गरी ७१ लाखभन्दा बढी भुक्तानी भएको महालेखाको ठहर छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना बाग्लुङले आर्थिक वर्ष ०७७/७८ सम्ममा १०७.४० घनमिटरको मूल्य अभिवृद्धि करसमेत १२ लाख ९७ हजार भुक्तानी दिनुपर्नेमा नापी किताबअनुसार ६९५.८९ वर्गमिटरको हिसाब गरी ८४ लाख चार हजार भुक्तानी दिएकाले सम्झौताअनुसार बढी भुक्तानी दिएको ७१ लाख सात हजार असुलउपर गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

११ वर्षदेखि अलपत्र छ कन्काई माईको पुल
हुलाकी राजमार्गअन्तर्गत कन्काई माई नदीमा निर्माणाधीन पुल ११ वर्षदेखि अलपत्र छ । जसकारण सडक कालोपत्रे भइसक्दासमेत यात्रुले सहज रूपमा यात्रा गर्न पाएका छैनन् । यो सडक निर्माणको जिम्मा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको महादेव खिम्ती र पप्पु कन्स्ट्रक्सनले लिएको हो । 

७२४ मिटर लम्बाइको यो पुल ०७२ जेठ मसान्तमा निर्माण सम्पन्न गर्ने गरी ३४ करोड नौ लाखमा ठेक्कामा लगाइएको थियो

झापाकै ठूलो नदी कन्काई माई नदीमा पुलको पिलर लगाउने कामबाहेक केही पनि हुन सकेको छैन । हुलाकी राजमार्गअन्तर्गत गौरीगन्ज र झापा गाउँपालिका जोड्ने यो पुल अलपत्र हुँदा यात्रुले वर्षामा ढुंगा र हिउँदमा बाँसको पुलमा जोखिमपूर्ण यात्रा गरिरहेका छन् । चार वर्षभित्र सक्ने गरी ३१ जेठ ०६८ मा पप्पु कन्स्ट्रक्सन र महादेव खिम्ती जेभीले पुल ठेक्कामा लिएका थिए ।

७२४ मिटर लम्बाइको यो पुल ०७२ जेठ मसान्तमा निर्माण सम्पन्न गर्ने गरी ३४ करोड नौ लाखमा ठेक्कामा लगाइएको थियो । निर्माणको करिब ६० प्रतिशत काम भएको हुलाकी सडक निर्देशनालय इटहरीले जनाएको छ । करिब ५० प्रतिशत रकम हुलाकी सडक आयोजना इटहरीले भुक्तानी गरेको आयोजना इटहरीका इन्जिनियर दीपेन्द्र चौधरीले जानकारी दिए । ‘दुई वर्षयता काम केही अघि बढेको छ । १९ वटा स्पाममध्ये सातवटामा काम भइरहेको छ,’ उनले भने, ‘०८० असार मसान्तसम्म समय थपका लागि सडक विभागमा फाइल पठाइएको छ । सम्भवतः म्याद पनि थपियो होला ।’

निर्माण कम्पनी महादेव खिम्तीका सञ्चालक रवि सिंहले आफूहरूले ०७७ बाट मात्र निर्माणको जिम्मा लिएको बताए । यसअघि पप्पु कन्स्ट्रक्सनले विभिन्न कारणले काम अघि बढाउन नसकेको उनाको भनाइ छ । ‘सुरुमा हुलाकी सडक निर्देशनालयकै कमजोरीले काम हुन सकेन । पछि ठेक्का लागेको समयभन्दा निर्माण सामग्रीको भाउ बढ्यो । पप्पुमा समस्या आयो, त्यसपछि हामीले जिम्मा लियौँ,’ उनले भने, ‘हामीले धमाधम काम गरिरहेका छौँ । अहिले वर्षाका कारण काम रोकिएको छ । अब दसैँलगत्तै काम गर्छौँ । लगभग ७० प्रतिशत काम सकिइसकेको छ ।’