१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
सार्वजनिक जग्गा हडपेर व्यक्तिले बनाएको संरचना ।
Invalid date format o७:११:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

ललितपुरमा सार्वजनिक जग्गा व्यापारिक प्रयोजनमा प्रयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:११:oo

ललितपुर महानगरपालिका–१३ स्थित एकान्तकुना चक्रपथछेउमै रहेको सार्वजनिक जग्गा अतिक्रमण गरेर व्यापारिक प्रयोजनमा प्रयोग गरेको पाइएको छ । ललितपुर नगरपालिका–१३ स्थित कित्ता नम्बर २९६ को २५९.०९५ वर्गमिटर (आठ आना कायम भएको) सार्वजनिक जग्गामा दुई व्यक्तिले सटर बनाएर भाडामा लगाइरहेको पाइएको हो ।

राष्ट्रिय सतर्कता केन्द्रका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद अधिकारी  र कम्प्युटर अधिकृत रमेश फुँयाल सम्मिलित छानबिन समितिले सार्वजनिक जग्गा अतिक्रमणमा परेको र उक्त जग्गा संरक्षण गर्नुपर्ने सिफारिस गरेको हो । छानबिन समितिको प्रतिवेदनअनुसार टहराका सटरको बहाल (भाडा) छिरिङ नोर्बु लामा र ललितपुर–१३, खड्का टोलकी अञ्जना खड्काले बुझ्ने गरेका छन् ।

डिएसपी अधिकारीका अनुसार साबिकको ललितपुर महानगर–४ कित्ता नम्बर १७५ नन्दकेसरी गुठीको नाममा रहेको उक्त जग्गा मालपोत कार्यालय ललितपुरको ४ फागुन ०५० को निर्णयले तत्कालीन श्री ५ को सरकारको नाममा दरपीठ भएर पक्की बाटो कायम भएको थियो । तर, पक्की बाटो कायम हुँदा बचेको कुनौटो जग्गामा लामा र खड्काले तीनवटा सटर बनाएर प्रतिसटर मासिक १५ हजारदेखि २० हजार भाडा लिने गरेको पाइएको हो । स्थानीय सरकार सञ्चालन ऐन ०७४ को परिच्छेद १३ को दफा ९७ मा ‘स्थानीय तहमा भएका सार्वजनिक जग्गा, जमिन, बाटो, मठमन्दिर, पार्टीपौवा, कुलो, कुलेसो एवं सरकारी–सामुदायिक भवनको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको हो । एकान्तकुनाको सार्वजनिक जग्गामा निर्मित सटर हटाएर सार्वजनिक सम्पत्तिको संरक्षण महानगरपालिकाले गर्नुपर्ने सुझाव सतर्कताले दिएको छ ।

ललितपुर महानगरपालिका–१३ ले गत १५ असारमा ती दुई व्यवसायीलाई पत्र लेख्दै कित्ता नम्बर १७५ सार्वजनिक हो–होइन, सात दिनभित्र प्रमाण कागजात पेस गर्न भनेको थियो । सोही सूचनाअनुसार वडामा भेला गर्दा जग्गा सार्वजनिक रहेको र सटरको बहाल लामा र खड्काले लिने गरेको पाइएको हो । ललितपुर–१३ का वडाध्यक्ष गणेश केसीले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएको सटर भत्काउन निर्देशन दिएको बताए । ‘त्यो सार्वजनिक जग्गा हो, सटर भत्काउन भनिसकेका छौँ, अब महानगर आफैँले भत्काउँछ,’ उनले भने, ‘त्यहाँ सानो पार्क बनाउने कि सार्वजनिक शौचालय बनाउने भनेर छलफल भइरहेको छ ।’