निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज ११ मंगलबार
  • Tuesday, 27 September, 2022
प्रतिमा पौडेल
२०७९ भदौ १७ शुक्रबार ११:४५:००
Read Time : > 2 मिनेट
Read Time : > 2 मिनेट
प्रतिमा पौडेल
२०७९ भदौ १७ शुक्रबार ११:४५:००

छोरी हुँदा लाग्थ्यो बाबुआमाविना बाँच्न सक्दिनँ 
श्रीमती हुँदा लाग्थ्यो श्रीमानविना बाँच्न सक्दिनँ
आमा भएपछि लाग्यो सन्तानविना बाँच्न सक्दिनँ
जिन्दगीको आरोह–अवरोहहरूसँग जुध्दै जाँदा  बल्ल पो बुझेँ
म त म आफैँविना पो बाँच्न नसक्ने रहेछु

माथिका हरफहरूले जिन्दगीको यथार्थ बोलेको छ। म फलानोविना बाँच्न सक्दिनँ, फलानो नै मेरो जिन्दगी हो भन्नेजस्ता कुरा मेरा शब्दकोशमा छैनन्। एक बिहान फेसबुक खोल्दा म्यासेन्जरमा चार–पाँचवटा एउटैखाले म्यासेज आएका रहेछन्– ‘मलाई मर्न मन छ’, ‘म बाँच्न सक्दिनँ’, ‘मेरो अन्तिम फैसला-आत्महत्या’, ‘अब म बाँचेर काम छैन’,...।

यस्तै–यस्तै खालका ती म्यासेज पढेपछि मन अमिलो भयो। हुन त ती म्यासेज के कारणले आए भन्ने बुझिसकेको थिएँ। किनकि म त्यस्ता कन्फेसन लेख्नेहरूलाई इनबक्समा बोलाएर ‘मोटिभेट’ गरिरहने गर्छु। धेरैजनाको दिमागबाट आत्महत्याको सोच हटाउन पनि सफल भएकी छु। त्यसैले आज पनि हतारहतार उनीहरूलाई इनबक्समा बोलाएँ र समस्याबारे सोधेँ। तर, समस्या सबैको उही– ‘बुढाले छोड्यो’, ‘अर्को केटीसँग लाग्यो’, ‘घरमा पैसा दिएन’, ‘मलाई कसैले सपोर्ट गरेन’ आदि।

उनीहरूको समस्या सुनेपछि मैले सबैलाई एउटै खाले जवाफ दिएँ– वश यत्ति ? यत्ति समस्याले जिन्दगी सकाउने ? यो पनि कुनै आत्महत्या गर्ने कारण हो ? यस्तो उत्तरले उनीहरूलाई रिस पनि उठ्यो होला। आफूलाई के परिरहेछ, वश यत्ति रे ! भन्ने भयो होला । हो– वश यत्ति।

यो समस्या धेरै सानो हो। तिम्रो खुट्टाको कान्छी औँलामा बिझेको सानो काँडाजस्तै। यो जिन्दगी समाप्त गर्न सुहाउने समस्या नै होइन। यत्रो ५–६ फिटको शरीरमा एउटा काँडा बिझ्यो भन्दैमा हामी अंग नै काटेर फाल्छौँ र ? औँलाको नङ बढे नङ काटिन्छ, औँला होइन। यो समस्याभन्दा ठूलो पीडाहरू सहेर तिम्रो आमाले तिमीलाई जन्माएर, हुर्काएर, बढाएर गरी यहाँसम्म ल्याउनुभएको हो। कोही अरूको तिरस्कारकै कारण ज्यान फाल्न तिमीलाई जन्माएको हो र ? तिमी अरूमाथि किन निर्भर हुने ? तिमी अरूलाई भगवान् किन बनाउँछौ ? तिमी आफैँ कसैलाई आफ्नो सबथोक हौ भनेर देउता बनाइदिन्छौ। लास्टमा त्यो देउताले भनिदिन्छ– भगवान् कोही एकको हुँदैन। अनि तिम्रो रोनाधोना सुरु।

हिजो आमाबाबु छाडेर पनि हाँस्दै नयाँ जिन्दगी सुरु गर्न सक्ने तिमी आज दुई दिनअघि आएको व्यक्तिको लागि ज्यान दिन्छौ ? यति सस्तो छ जिन्दगी ? यो सिरियलको कुनै एपिसोड होइन, आज मरम् भोलि बाँच्नलाई । तिमी मरेर कसैलाई फरक पर्दैन। सबै आफ्नै गतिमा उसैगरी चलिरहन्छ। केही क्षण रुन्छन्, अर्को क्षणबाट सबै नर्मल हुन्छ। जसको कारण मर्‍याै उसका लागि सजाय होइन, झन् सहज भइदिन्छ परिस्थिति । तिमी मरेर कसैको जिन्दगी रोकिन्न, संसार ठप्प हुन्न। घाम उस्तै गरी झुल्किन्छ, जुन पनि त्यसरी नै उदाउँछ, केही परिवर्तन हुन्न। वश, यो दुनियाँमा तिमी एउटाको ‘बोझ’ कम हुन्छ।

बाँच्नलाई वश, तिमी आफू भए पुग्छ। दोस्रो कोही चाहिन्न। राम्ररी सोच त–भगवानले हामीलाई कति स्वनिर्भर बनाइदिएका छन्। हामीलाई बाँच्न चाहिने सम्पूर्ण चिज हामीभित्रै छ। मुटु, कलेजो, फोक्सो, आन्द्रा, आमाशय, धमनीहरू, सोच्ने दिमाग, काम गर्ने हात, हिँड्ने खुट्टा, माया गर्ने मन सबै पर्सनल छ। अरूको नाकले सास तानिदिएला र मेरो श्वासप्रश्वास चल्ला भनेर बस्नुपर्दैन। अरूको मुटुले रगत पम्प गरिदिएला र मेरो शरीरमा रक्तसञ्चार होला भन्नुपर्दैन। अरूको मुखले खाइदेला र मेरो पेट भरौँला भन्नुपर्दैन। अनि किन कोही व्यक्तिविना ज्यानै फाल्ने ? समस्याहरू त जुध्न आउँछन्, हामीलाई हराउन होइन। यो त हाम्रो कमजोरी हो कि हामी खेल नखेल्दै हार्दिन्छौँ। यो संसारमा ठूलाठूला समस्या छन्, हाम्रो समस्या जाबो केही होइन। जिन्दगीभन्दा ठूलो कुनै समस्या हुँदैन। बाँच्नुपर्छ समस्याका सयौँ हल निस्किन्छन्। मर्ने एउटा कारण होला, बाँच्ने हजारौँ कारण निस्किन्छन्।

कुनै सम्बन्ध बोझ बन्छ भने त्यसलाई टुंग्याउने हो, जिन्दगीलाई होइन। जसरी हुन्छ बाँच्नुपर्छ। बाँचे देख्न पाइन्छ, देखाउन पाइन्छ। मरेपछि फेरि फर्कन पाइन्न। त्यसैले नाम होस् या बदनाम होस्, गुमनाम हुनुभएन।

यो तनावग्रस्त दुनियाँमा केही समयका लागि प्रायः सबै व्यक्ति डिप्रेसनमा जान्छन्। डिप्रेसनमा गएको वेला त्यो एक क्षण मात्र आफूलाई कन्ट्रोल गर्न सकियो भने हामी आत्महत्याबारे सोच्दै सोच्दैनौँ। कुनै पल आत्महत्याको सोच आयो भने कसरी हुन्छ माइन्ड डाइभर्ट गरौँ। के गर्न मन लाग्छ त्यही गरौँ–नाच्नु, गाउनु, लेख्नु, कसैसँग गफ गर्नु, सोसल मिडिया चलाउनु। जे मन लाग्छ गर्नु, तत्काल मर्ने सोच हराउँछ।

अर्को सबैभन्दा महत्वपूर्ण कुरा– आफूले आफूलाई प्रेम गरौँ। ऐनाअगाडि बसेर आफ्नो सुन्दरता नियाल्नुहोस्। तपाईंलाई आफू उत्पात राम्रो लाग्छ र आफैँसँग डिप लभ पर्छ। जब आफैँसँग लभ पर्छ, तब मृत्युसँग डर लाग्छ। हामी अरूलाई हद नाघेर माया गर्न सक्छौँ भने आफूलाई किन सक्दैनौँ ? जीवनीहरू पढ्नुहोस्। अझ बेस्ट त दिमागले नकारात्मक कुरा सोच्न थालेपछि कमेडी सो हेरिहाल्नुस्। जति हाँस्नुहुन्छ, त्यति आफूलाई हल्का पाउनुहुन्छ। यो मेरो निजी अनुभव पनि हो।