१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १५:११:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं महानगरमा नयाँ दमकल सञ्चालनमा

नयाँ सडकसँगै बालाजु, महाराजगञ्ज र रामहिटीबाट सेवा दिन्छौँ - प्रमुख शाह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:११:oo

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले आगलागीजन्य विपतलाई तत्काल सम्बोधन गर्न दमकल सेवालाई विस्तार गरिने बताएका छन् । आज राष्ट्रिय सभागृहमा विपत् व्यवस्थापन विभागलाई नयाँ दमकलको साँचो हस्तान्तरण गर्दै साहले यस्तो बताएका हुन् । 

महानगरका पूर्वप्रमुख विद्यासुन्दर शाक्यप्रति आभार व्यक्त गर्दै उनले नयाँ दमकल थपिएपछि आगलागीबाट भौतिक तथा मानवीय क्षति कम गराउन मद्दत पुग्ने बताए । 

उपप्रमुख सुनिता डंगोलले दमकलको प्रभावकारी सञ्चालनबाट छिमेकी पालिकाले समेत लाभ लिन सक्ने बताइन् । 

दमकल खरिदका लागि ०७७ फागुन महिनामा बोलपत्र आह्वान गरिएको थियो । त्यसमा इन्डोनेसियामा काम गरिरहेको जर्मन कम्पनी जिग्लर इन्डोनेसिया छनोट भएको थियो । कम्पनीले करबाहेक सात करोड २१ लाख रुपैयाँ मूल्यमा इन्डोनेसियाबाटै सामान पठाएको हो । 

नयाँ दमकलको इन्जिन क्षमता २७० एचपी हो । दमकलमा प्रतिमिनेट तीन हजार लिटर पानी तान्न र फाल्न सक्ने क्षमता छ । यस्तै, ६० मिटर टाढासम्म पानीको फोहोरा हान्न सक्छन् । एकैपटक चारवटा डिस्चार्ज लाइनबाट प्रेसरका साथ पानी फाल्न र दुईवटा सक्सन लाइनबाट पानी तान्न मिल्छ । 

तीन हजार लिटर पानी र पाँच सय लिटर फोमको ट्यांक रहेको दमकलले पानीमा फोम आफैँ मिसाउन सक्छ । पानी फाल्ने मोनिटर तीन सय ६० डिग्रीमा वरिपरि घुमेर र ८० डिग्री सीधा माथि पानी फाल्न सक्छ । 

आठ हजार किलोग्रामभन्दा धेरै तौल भएका यी दमकल एन्टिलक ब्रेक सिस्टक (एबिएस) हुन् । तीन वर्ष वारेन्टी भएका दमकलहरूमा एबिसी टाइपका फायर इस्टिंग्विसर, चारवटा ब्रिदिङ एपारटर्स, पाँच मिटर लामा दुईवटा अल्मुनियमका भर्‍याङ, दुई हजार वाट क्षमताको एउटा जेनेरेटर, दुईवटा स्पट लाइट, नाइलनको डोरी, पाइप तथा नोजललगायत सामाग्री तथा उपकरण छन् । 

आठ मिटर लम्बाइ र २.५ मिटर चौडाइ भएका दमकलले घरमा लागेको, पेट्रालियम पदार्थ लागेको र ग्यासमा लागेको आगो निभाउन सक्छन् ।

घना बस्ती भएकाले काठमाडौं आगलागीजस्ता विपतका कोणबाट जोखिममा छ । आगलागीका समयमा क्षति कम गराउन काम गर्नुपर्ने पक्षसँगै अग्नि दुर्घटना हुनै नदिनु सबैभन्दा उत्तम विकल्प हो । विपत् व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठ भन्छन्, ‘विभागले सचेतनाका कार्यक्रममार्फत घटना हुनै नदिनेतर्फ ध्यान दिएको छ ।’

नयाँबाहेक महानगरसँग अहिले पूर्ण क्षमतामा काम गर्न सक्ने दुईवटा र सहयोगका लागि प्रयोगमा ल्याउन सकिने तीनवटा गरी पाँचवटा दमकल सञ्चालनमा छन् । जुद्ध बारुण यन्त्र कार्यालय काठमाडौंका प्रमुख चन्दन श्रेष्ठका अनुसार नयाँ सडक बारुण यन्त्र कार्यालयमा एउटा पूर्ण क्षमताको र दुईवटा सहयोगका लागि प्रयोग गर्न सकिने दमकल छन् । त्यस्तै, रामहिटीमा एउटा पूर्ण क्षमताको र एउटा सहयोगका लागि प्रयोग गर्न सकिने दमकल छन् । 

त्यस्तै, ३० मिटरको लामो एउटा र २५ मिटर लामो एउटा गरी दुईवटा ल्याडर छन् । रेस्क्युका लागि एउटा ट्रक र एउटा जिप छन् । जनशक्ति ओसारपसार गर्न एउटा भ्यान र एउटा जिप छन् । यसैगरी पाँचवटा फायर मोटरसाइकल सञ्चालनमा छन् । दकमलमा पानी थप्न एउटा पानी ट्यांकर छ । यस्तै, पानी तानेर फाल्नका लागि पाँचवटा पम्प छन् ।