१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
कृष्ण रिजाल काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार o८:२५:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

डेढ महिना लम्बियो आयात प्रतिबन्ध

Read Time : > 3 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o८:२५:oo

तोकिएका कार, मोटरसाइकल, मदिरा र मोबाइलको आयातमा २८ असोजसम्म प्रतिबन्ध, कुरकुरे, टेलिभिजन, खेलौना, चुरोट, सुर्ती, हीरा र तासको आयात खुल्यो

निजी क्षेत्रको चौतर्फी दबाबका बाबजुद सरकारले आयातको प्रतिबन्धलाई निरन्तरता दिएको छ । सरकारले गत १३ वैशाखदेखि १० वस्तुमा लगाउँदै आएको प्रतिबन्धलाई परिमार्जनसहित निरन्तरता दिएको हो । यससँगै अब तोकिएका कार, मोटरसाइकल, मदिरा र मोबाइलको आयातमा २८ असोजसम्म प्रतिबन्ध लगाइएको छ । तर, कुरकुरे, लेज, सुर्ती–चुरोट, टेलिभिजन, खेलौना र तास आयातको प्रतिबन्ध भने हटाइएको छ । 

मन्त्रिपरिषद्को सोमबारको बैठकले आयातमा लगाइएको प्रतिबन्धलाई परिमार्जनसहित निरन्तरता दिएको हो । जसअनुसार अब सबै प्रकारका तयारी मदिरा (औद्योगिक कच्चा पदार्थबाहेक), तीन सय अमेरिकी डलरभन्दा माथिका स्मार्ट फोनहरू, जिप, कार र भ्यानहरू (शववाहन र एम्बुलेन्सबाहेक) र १५० सिसीमाथिका मोटरसाइकलको आयात २८ असोजसम्मका लागि प्रतिबन्ध लगाइएको हो ।   

गएको आर्थिक वर्ष ०७८/७९ को अन्तिमसम्म समेत अर्थतन्त्रको बाह्य क्षेत्र चापमा परेको देखिन्छ । निर्यात र रेमिट्यान्स सामान्य बढे पनि उच्च आयातका कारण चालू खाता र शोधनान्तर घाटा बढेको छ । विदेशी विनिमय सञ्चितिमा सामान्य सुधार देखिएको छ । तर, सरकारले बाह्य क्षेत्र अझै चुनौतीपूर्ण देखिएको भन्दै आयात प्रतिबन्धलाई निरन्तरता दिएको हो । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले अध्ययन गरेर परिमार्जनसहित आयात प्रतिबन्धलाई करिब डेढ महिना निरन्तरता दिइएको बताए । यद्यपि, यो धेरै लामो समयसम्म भने नरहने उनले बताए । ‘अर्थतन्त्रको बाह्य क्षेत्र केही दबाबमा छ । सोही कारण गत वैशाखदेखि केही वस्तुको आयातमा प्रतिबन्ध लगाइएको थियो । साउनमा त्यसलाई निरन्तरता दिइयो । अहिले फेरि अध्ययन गरेर सरकारले केही परिमार्जनसहित आयात प्रतिबन्धलाई निरन्तरता दिएको हो,’ उनले भने, ‘यो सधैँका लागि होइन । केही समयका लागि । उचित समय आएपछि प्रतिबन्ध हट्नेछ ।’

सरकारले निकासी–पैठारी नियन्त्रण ऐन, २०१३ को दफा ३ को उपदफा १ अनुसार आयातमा बन्देज लगाएको छ । ‘तोकिएका उद्देश्य प्राप्तिका लागि कुनै वस्तुको निकासी वा पैठारीमा मनाही वा नियन्त्रण गर्न आवश्यक छ भन्ने लागेमा नेपाल सरकारले सूचित आदेशद्वारा त्यस्ता वस्तुको निकासी वा पैठारीमा सर्त वा निश्चित अवधि तोकी वा नतोकी मनाही गर्न वा पूर्ण वा परिमाणात्मक बन्देज लगाउन सक्नेछ,’ उक्त दफामा उल्लेख छ । 

व्यवसायीको माग, आधा सम्बोधन 
सरकारले गत १३ वैशाखमा राजपत्रमा सूचना प्रकाशन गर्दै १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । १ साउनमा राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले आयात प्रतिबन्धलाई निरन्तरता दिएको हो । सरकारले आयात निरुत्साहित र प्रतिबन्धको नीतिको निजी क्षेत्रका केही छाता संगठन र सम्बन्धित क्षेत्रका व्यवसायीले विरोध गर्दै आएका छन् । 

अटोमोबाइल, मोबाइल तथा मदिरा व्यवसायीहरूले आयात खुलाउन चर्को दबाब दिँदै आएका थिए । उनीहरूले आयात रोकिँदा चोरी–पैठारी बढेको र नक्कली सामग्रीको उत्पादन तथा बिक्री–वितरण भएको औँल्याउँदै आएका छन् । व्यवसायीहरूले छुट्टाछुट्टै रूपमा प्रधानमन्त्रीलाई समेत भेटेर आयात खुलाउन आग्रह गरेका थिए । तर, व्यवसायीको दबाबका बाबजुद सरकारले आयात प्रतिबन्धलाई परिमार्जनसहित निरन्तरता दिएको हो । 

यद्यपि, टेलिभिजन, खेलौना, कुरमुरे, चुरोट–सुर्तीलगायत व्यवसायीलाई भने राहत मिलेको छ । यस्ता वस्तुको आयातमा चोरी–पैठारी र नक्कली उत्पादन हुन थालेको पाइएपछि आयात प्रतिबन्ध खुलाइएको एक सरकारी अधिकारीले बताए । ‘कुरमुरे, कुरकुरे, खेलौना, चुरोटजस्ता वस्तुको अवैध आयात भएको पाइयो, नक्कली उत्पादन गरेर बिक्री गरेको पनि देखियो,’ ती अधिकरीले भने, ‘यसबाट एकातर्फ अवैध व्यापार मौलायो भने अर्कातर्फ राज्यले राजस्व गुमायो, सोही कारण ती वस्तुको आयात प्रतिबन्ध हटाइएको हो ।’

अध्ययन गरेरै परिमार्जनसहित आयात प्रतिबन्धलाई निरन्तरता : डा. गणेशप्रसाद पाण्डेय सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
मुलुकको अर्थतन्त्रको अवस्थाका बारेमा हामी सबै अवगत नै छौँ ।

अर्थतन्त्रको बाह्य क्षेत्र केही दबाबमा छ । सोही कारण गत वैशाखदेखि केही वस्तुको आयातमा प्रतिबन्ध लगाइएको थियो ।

साउनमा त्यसलाई निरन्तरता दिइयो । अहिले फेरि अध्ययन गरेर सरकारले केही परिमार्जनसहित आयात प्रतिबन्धलाई निरन्तरता दिएको हो ।

यो सधैँका लागि होइन । केही समयका लागि । उचित समय आएपछि प्रतिबन्ध हट्नेछ ।

आयात प्रतिबन्धलाई निरन्तरता दिन आवश्यक थिएन : ध्रुव थापा अध्यक्ष, नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल

सरकारले आयात प्रतिबन्धलाई परिमार्जनसहित निरन्तरता दिएको छ, जुन ठीक होइन । खासगरी अटोमोबाइलमा जुन प्रतिबन्ध गरिएको छ, त्यसले कुल आयातमा जम्मा १ प्रतिशत पनि हिस्सा ओगट्दैन, जबकि राजस्व भने ९ प्रतिशत योगदान गर्छ ।

यसरी सरकारले एकातर्फ राजस्व गुमाएको छ भने अर्कातर्फ अटोमोबाइलसँग आबद्ध व्यवसायी, कर्मचारी तथा श्रमिकलाई समस्यामा पारेको छ । प्रधानमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्रीलगायत उच्च राजनीतिक नेतृत्वले आयात खोल्ने नै भन्नुभएको थियो । तर, किन हो रोकिएछ । अब यसलाई धेरै लम्ब्याउनुहुँदैन । 

कस्तो छ अर्थतन्त्रको बाह्य क्षेत्र ? 
आर्थिक वर्ष ०७८/७९ मा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले वृद्धि भई १० खर्ब सात अर्ब ३१ करोड पुगेको थियो । उक्त वर्ष खुद सेवा आय एक खर्ब आठ अर्ब १२ करोडले घाटामा रहेको थियो । समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर ३४.५ प्रतिशतले कमी आई नौ अर्ब ९९ करोड पुगेको छ भने प्रत्यक्ष वैदेशिक लगानी ४.९ प्रतिशतले कमी आई १८ अर्ब ५६ करोड कायम भएको छ । आर्थिक वर्ष ०७८/७९ मा चालू खाता ६ खर्ब २३ अर्ब ३३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष चालू खाता तीन खर्ब ३३ अर्ब ६७ करोडले घाटामा रहेको थियो । समीक्षा वर्षमा शोधनान्तर स्थिति दुई खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति एक अर्ब २३ करोडले बचतमा रहेको थियो । 

०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.१ प्रतिशतले कमी आई ०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड कायम भएको छ । आर्थिक वर्ष ०७८/७९ को आयातलाई आधार मान्दा बंैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.८ महिनाको वस्तु आयात र ६.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको तथ्यांक छ ।

ad
ad