१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७५ चैत १० आइतबार १४:००:००
Read Time : > 1 मिनेट
प्रदेश

जिल्लाका युवा भारततिर निर्माणका लागि बाहिरबाट मजदुर  

Read Time : > 1 मिनेट
२०७५ चैत १० आइतबार १४:००:००

अछाममा सडक, पुल, घर र ठूला योजना निर्माणको काम बाहिरबाट आएका कामदारको भरमा चलेको छ । जिल्लाका सबै युवा, मजदुर काम गर्न भारत जान्छन् । 

उनीहरू आफ्नै ठाउँमा मजदुरी गरे ‘इज्जत जाने’ डरले भारत गएर होटल, घर र सडकमा काम गर्ने गर्छन् ।  जसका कारण घर बनाउने  र बाटो खन्नेदेखि अन्य ठूला करोडौँका योजना निर्माणका लागि सल्यान, दाङ, प्युठान, बाँके, बर्दिया, कैलाली र सुर्खेतबाट कामदार ल्याउने गरिएको छ ।

जिल्लामा निर्माण भइरहेका व्यक्तिका घर, सरकारी भवन, ग्रामीण सडक र मध्यपहाडी लोकमार्ग निर्माणमा जिल्ला बाहिरकै मजदुरले काम गरिरहेका छन् । ‘स्थानीय मजदुर आफ्नै ठाउँमा काम गर्न अप्ठेरो मान्छन्,’ मध्यपहाडी लोकमार्गका सब–इन्जिनियर सुरेन्द्र शाहीले भने, ‘हामीले यहाँ मजदुर नै नपाएर बाहिरबाट ल्याउनुपर्‍यो । यो योजनामा एक जना पनि स्थानीय मजदुरको सहभागी छैन ।’

चार खण्डमा गरी मध्यपहाडी सडक निर्माणमा करिब दुई हजारभन्दा बढीले काम गरेका छन् । तर, उनीहरू सबै अन्य जिल्लाबाट आएको उनले बताए । जिल्लाबाट कामको खोजीमा बाहिर जाने जनशक्तिको दैनिक लस्कर लाग्ने गरेको छ । ‘आफ्नो ठाउँमा मजदुरी गर्न लाज लाग्छ,’ भारत जाने क्रममा बसपार्कमा भेटिएका बाटुलासैनका दिलबहादुर विष्टले भने, ‘अरूको देशमा जे गरे पनि कसैले देख्दैन ।’ 

भारत गएर चौकिदारी गर्ने, होटलमा भाँडा माझ्ने, घरआँगन सफा गर्ने, गाडी धुने र सडक खन्ने काममा मजदुरी गर्ने गरेको उनले बताए । विष्टसँगै भारत हिँडेका उनकै गाउँका अन्य ६ जनाको धारणा पनि उस्तै थियो । ‘अरूले नदेख्ने गरी त शौचालय सफा गर्ने काम पनि गरियो,’ हिच्माका दीर्घ नेपालीले भने, ‘यहाँ त्यो काम गर्न सकिँदैन ।’ 

निर्माण व्यसायी संघ अछामका कोषाध्यक्ष हेमराज ढुंगानाका अनुसार निर्माणका काममा मजदुर पाउनै मुस्किल हुने गरेको छ । ‘स्थानीय दक्ष जनशक्ति सबै भारत जान्छन्,’ उनले भने, ‘जति ज्याला दिए पनि यहाँ काम गर्न मान्दैनन् । निर्माणका काम गर्नुपरे अन्य जिल्लाबाट कामदार मगाउने गरेका छौँ ।’ 

ढुंगानाका अनुसार साना ठूला सबै काममा गरी जिल्लामा दैनिक चार हजार बढी कामदारको आवश्यकता पर्ने गरेको छ । जिल्लामा हुने सबै खाले निर्माणमा संलग्न मजदुरहरूले पाँच सय रुपैयाँदेखि १५ सय लिने गरेको उनले बताए ।