१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
आइतबार त्रिवि परिसरमा नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताबीच भिडन्त भएपछि खटिएका सुरक्षाकर्मी
भवानीश्वर गौतम काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o६:o९:oo
Read Time : > 5 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

त्रिविमा ताला राजनीति

७ माघदेखि नेविसंघले लगाएको तालामाथि २१ माघमा आंशिक प्राध्यापक संघले पनि थपेको थियो ताला

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:o९:oo

विद्यार्थी संगठनहरूबीच एउटाले लगाएको ताला अर्कोले फोड्ने र फेरि लगाउने प्रतिस्पर्धाले पाँच महिनादेखि त्रिविमा भद्रगोल, प्रशासनिक काम मात्र होइन, शैक्षिक कार्यक्रमसमेत प्रभावित, एक वर्षअघि भएको परीक्षाको नतिजा अझै  आएन

 नेविसंघले लगाएका ताला फुटाउने अभियानमा अनेरास्ववियु त्रिविको प्रशासन महाशाखा, रजिस्ट्रारको कार्यालय, म्यानेजमेन्टको डिन कार्यालय र कृषि अध्ययन संस्थानको डिन कार्यालयको ताला अनेरास्ववियुले फोडेपछि आइतबार दुई पक्षबीच झडप, नेविसंघले फेरि ताला लगायो

त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसर आजभोलि प्राज्ञिक बहसमा केन्द्रित छैन । राजनीतिक आस्थाका आधारमा विरोध प्रदर्शन वा कसैको समर्थनमा भिडभाड गर्ने थलो बनेको छ । तालाबन्दीले आक्रान्त विश्वविद्यालयमा अहिले कुन पदाधिकारी जोगाउने र कसलाई बर्खास्त गर्ने भनेर विद्यार्थी संगठन लागेका छन् । यस्तै एजेन्डामा आइतबार दिनभर विश्वविद्यालय परिसरमा प्रदर्शन भयो । 

निजी कलेजमा सोधिएका प्रश्न त्रिविको बोर्ड परीक्षामा हुबहु राखिएकोलगायतको विरोधमा आन्दोलित नेविसंघको एउटा समूहले त्रिविका केही कार्यालयमा तालाबन्दी गरेको छ । नेविसंघको तालाबन्दीको विरोधमा एमालेनिकट अनेरास्ववियुले विरोध प्रदर्शन गर्दै आएको छ । आइतबार नेविसंघ र अनेरास्ववियुबीच भिडन्त नै भयो । झडपमा केही विद्यार्थी र प्रहरीसमेत घाइते भए । नेविसंघले पछिल्लोपटक २७ असारमा लगाएको ताला आइतबार दिउँसो अनेरास्ववियुले फोड्यो भने नेविसंघले तत्कालै पुनः लगायो । 

त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटा नै त्रिवि आउँदा रणभूमिमा प्रवेश गरेजस्तो आभास हुने गरेको गुनासो गर्छन् । आइतबार त्रिवि परिसर कीर्तिपुरमा पत्रकार सम्मेलन गर्दै उनले राज्यका संयन्त्रबाट समेत समर्थन नपाएको गुनासो गरे । कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले ताला फोडेर काम गर्न भने पनि आफूले फोड्न नसकेको र फोड्नुपर्ने संयन्त्रबाट सहयोग नपाएको गुनासो गरे । ‘नेविसंघको एउटा समूहको देखाउने एक र नदेखाउने अर्को माग हुँदा समस्या भयो,’ उनले भने, ‘त्रिवि आउँदा रणभूमिमा प्रवेश गरेको आभास हुन्छ ।

पदाधिकारी, शिक्षक सबैले हाम्रो सुरक्षा हुँदैन भने कसरी काम गर्न सक्छौँ भनेका छन् । विश्वविद्यालयका विभिन्न निकायमा विभिन्न समूहबाट चन्दा, आर्थिक सहयोगको नाममा रकम मागेर हैरान बनाएको अवस्था पनि छ । यस्तो अवस्थामा विश्वविद्यालयमा बसेर काम गर्ने वातावरण छैन । शिक्षक, कर्मचारीमा त्रास छ ।’ त्रिविका रजिस्ट्रार प्रा.डा. पेसल दाहालले जस्तोसुकै निर्णय लिनुपर्ने बाध्यता आउन लागेको बताए । अब यस्तो गतिविधि गर्ने विद्यार्थीलाई रेस्टिकेटसम्मको कारबाही गर्नुपर्ने हुन सक्ने उनको चेतावनी छ । 

त्रिविका पदाधिकारीहरूका अनुसार गत ७ माघयता त्रिविमा पाँच महिनाभन्दा बढी तालाबन्दी भएको छ । २७ असारयता मात्रै त्रिविका विभिन्न पाँचवटा कार्यालयमा तालाबन्दी भएको छ । नेविसंघमा आबद्ध केही विद्यार्थी ८ भदौमा उपकुलपति कार्यालयको ढोका तोडेर भित्र पसेको र कुर्सीमा जुत्ताको मालासमेत लगाएको आरोप छ । त्यस्तै, १० भदौमा एल्लो प्यागोडा होटेलमा कार्यकारी परिषद्को बैठक बस्न लाग्दा नेविसंघका नेता–कार्यकर्ताको टोलीले माइन्युटलगायतका महत्वपूर्ण कागजात लगेको थियो । उनीहरूले ती कागजात शिक्षामन्त्रीलाई बुझाएको जनाएका छन् । 

अनेरास्ववियुले ताला फोड्यो, नेविसंघको लगायो
त्रिविमा नेविसंघले लगाएको ताला आइतबार दिउँसो अनेरास्ववियुले ‘सरसफाइ’ कार्यक्रमअन्तर्गत फोडेको छ । त्रिविको प्रशासन महाशाखा, रजिस्ट्रारको कार्यालय, म्यानेजमेन्टको डिन कार्यालय र कृषि अध्ययन संस्थानको डिन कार्यालयमा लगाएको ताला फोडेको अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले बताए । जायज मागमा नेविसंघसँगै अघि बढ्ने बताउँदै लामिछानेले कुनै सांगठनिक समूहको नाम भजाएर फाइदा लिनु गलत भएकाले ताला फोडेको बताए । यसअघि पनि अनेरास्ववियुले ताला फोडेको केही समयमै नेविसंघले तालाबन्दी गरेको थियो ।२७ असारदेखि नेविसंघले लगाएको ताला अनेरास्ववियुले आइतबार फोडेलगत्तै नेविसंघले पुनः लगाएको छ । नेविसंघले भण्डाफोर कार्यक्रम गरी पहिले फोडिएका सबै कार्यालयमा ताला लगाएको हो । 

दैनिक प्रशासनदेखि शैक्षिक कार्यक्रमसम्ममा असर
त्रिविमा भएका तालाबन्दी तथा प्रदर्शनले धेरै असर गरेको छ । मानसिक रूपमा त्रासको वातावरणदेखि दैनिक प्रशासन चलाउनसमेत समस्या भएको छ । त्रिविका प्राध्यापक तथा कर्मचारीले सरकारले बढाएको तलबसमेत पाएका छैनन् । विद्यार्थीलाई दिइने समकक्षतालगायतका सेवामा पनि अप्ठ्यारो पर्ने गरेको छ । पदाधिकारीनिकट र सोर्सफोर्स लगाउन सक्नेको काम नरोकिए पनि पहुँच नहुनेको सरुवा–बढुवा रोकिएर अलपत्र परेको गुनासो छ । शैक्षिक कार्यक्रम ल्याउन र निर्णय अनुमोदन गर्न समस्या भएको छ । वार्षिक प्रणाली मात्रै होइन, सेमेस्टरका कार्यक्रममा समेत समस्या देखिएको छ ।

 त्रिविले स्नातक तह प्रथम वर्षको ०७८ साउनमा लिएको परीक्षाको नतिजा अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन । ०७८ साउनमा सञ्चालन भएको परीक्षाका कतिपय उत्तरपुस्तिका भेटिएका छैनन् भने रेकर्ड व्यवस्थित नहुँदा उत्तरपुस्तिका परीक्षण गरी नतिजा प्रकाशनमा ढिलाइ भएको छ । शैक्षिक सत्र ०७६ मा भर्ना भएर ०७८ साउनमा पहिलो वर्षको परीक्षा दिएका विद्यार्थी हाल तेस्रो वर्षमा पढ्दै छन्, तर पहिलो वर्षकै नतिजा आएको छैन । त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशी विद्यार्थीले फरक ठाउँबाट परीक्षा दिएको र फरक कापीमा लेख्नुपर्नेमा एउटैमा लेखेकोलगायतका कारण ढिलाइ भएको दाबी गर्छन् । ‘कतिपयले रोल नम्बरको ठाउँमा मोबाइल नम्बर लेखेका छन्, मोबाइल नम्बर पनि लाग्दैन । त्यस्तो अवस्थामा त रिजल्ट गर्न भएन । त्यसैले समय लागेको हो,’ उनले भने । 

उपकुलपति धर्मकान्त बाँस्कोटा नै भन्छन् त्रिवि आउँदा रणभूमिमा प्रवेश गरेको आभास हुन्छ, समस्याको जड राजनीति
नेविसंघको एउटा समूहको देखाउने एक र नदेखाउने अर्को माग हुँदा समस्या भयो । प्रधानमन्त्री तथा कुलपतिबाट ताला फोडेर काम गर्न आदेश आएको छ । तर, फोड्नुपर्ने संयन्त्रबाट सहयोग नपाएपछि असम्भव भएको छ । त्रिवि आउँदा रणभूमिमा प्रवेश गरेको आभास हुन्छ । पदाधिकारी, शिक्षक, कर्मचारी सबैले हाम्रो सुरक्षा हुँदैन भने कसरी काम गर्न सक्छौँ भनेका छन् । विश्वविद्यालयका विभिन्न निकायमा विभिन्न समूहबाट चन्दा, आर्थिक सहयोगको नाममा रकम मागेर हैरान बनाएको गुनासो पनि आएका छन् । यस्तो अवस्थामा विश्वविद्यालयमा बसेर काम गर्ने वातावरण छैन । विश्वविद्यालयले सम्पादन गर्नुपर्ने कार्यहरू समयमा नसक्दा विद्यार्थीमा नकारात्मक प्रभाव परेको छ । १८ कात्तिक ०७६ मा उपकुलपति नियुक्त भएयता ३४ महिनाको मेरो कार्यकालमा तीन सय दिन त्रिविमा तालाबन्दी भयो । केही विद्यार्थीलाई रेस्टिकेट गर्दा समस्या हल हुन्थ्यो, अरूले यस्तो गतिविधि गर्दैनथे । तर, कारबाही गर्‍यो भने राजनीतिक दलले उसको संरक्षण गर्छ । त्यसैले यो समस्याको जड नै राजनीति हो ।

पदाधिकारी अभिभावक हो, सबैलाई सुन्नुपर्छ
रमेशकुमार जोशी
अध्यक्ष, नेपाल प्राध्यापक संघ

विश्वविद्यालय वार्ता र सहमतिले चल्छ, द्वन्द्व र हारजितबाट चन्दैन । जिम्मेवार पदाधिकारीले असन्तुष्ट पक्षलाई वार्तामा बोलाएर समस्याको समाधान गर्नुपर्छ । विकृति छन् भने पदाधिकारीबाटै हटाउँदै जानुपर्छ । सबै सरकोकार पक्षसँग पदाधिकारी पारदर्शी रूपमा आउनुपर्छ । अराजक भिडले केही नराम्रो अवस्था पनि सिर्जना गर्न सक्छ, त्यो स्थिति आउन नदिन पदाधिकारी अझ बढी जिम्मेवार हुनुपर्छ । पदाधिकारी अभिभावक हो, सबैलाई सुन्नुपर्छ । समस्या समाधानका लागि नेपाल प्राध्यापक संघ तयार छ । 

सबै परिस्थिति निम्तिनुमा त्रिवि पदाधिकारी दोषी छन्, नेविसंघका जायज माग सम्बोधन हुनुपर्छ
दुजाङ शेर्पा
अध्यक्ष, नेविसंघ

म अध्यक्ष भएपछि त्रिविमा भएका समस्या समाधानमा पहल गरेको छु । अहिले त्रिविमा धेरै समस्या छन्, त्रिविका पदाधिकारी तथा जिम्मेवारी लिएर बसेका व्यक्तिले सही रूपमा काम नगर्दा जटिलता बढेको हो । नेविसंघले उठाएका माग जायज छन्, पूरा गरी समाधान खोज्नुपर्छ । त्रिविमा प्रश्नपत्र हुबहु भएका छन् । कि त अब प्रश्नपत्र बेच्न पनि पाउनुपर्छ भन्नुप¥यो, होइन भने गल्ती स्विकार्नुपर्‍यो । अर्थशास्त्रमा, म्यानेजमेन्टमा प्रश्नपत्र दोहोरिने समस्या व्यवस्थित होस् भनेर नेविसंघले दबाब दिएको हो । अर्थशास्त्रको प्रश्नपत्र हुबहु आएको विषयमा छानबिन समितिको प्रतिवेदन आयो, तर सार्वजनिक भएन । व्यवस्थापनमा तीनपटक प्रश्नपत्र दोहोरियो, हामीले छानबिन गर्न माग गर्‍यौँ, अहिलेसम्म पूरा भएन । पदाधिकारी भागेर होटेलमा मिटिङ गर्छन्, अनियमित काम गर्छन् अनि चुप लागेर बस्न मिल्दैन । ताला फोड्न हिँड्ने अखिलले प्रश्नपत्रको विकृतिको विषयमा एक शब्द बोलेन । उपकुलपति, रजिस्ट्रारको संलग्नतामा आज नेविसंघका कार्यकर्ता कुटिएका छन् । यी सबै परिस्थिति निम्तिनुमा पदाधिकारी दोषी छन्, नेविसंघका मुद्दा सम्बोधन गर्नुपर्‍यो । 

त्रिविमा प्राध्यापकमाथिको आक्रमणबाट समस्या सुरु भएको हो, जसमा नेविसंघको नाम जोडियो
आरसी लामिछाने
वरिष्ठ उपाध्यक्ष, अनेरास्ववियु

त्रिविमा प्राध्यापकमाथिको आक्रमणबाट समस्या सुरु भएको हो, जसमा नेविसंघको नाम जोडियो । विषयवस्तु बुझ्दा गृहमन्त्रीको संरक्षण पाइयो । नेविसंघले अराजक गतिविधि गर्दा समग्र विद्यार्थी संगठन जोडिने भएकाले अनेरास्ववियुको टाउको दुखाइको विषय बनेको हो । संगठनमा जोडिएका व्यक्ति व्यक्तिगत स्वार्थमा लाग्नुहुँदैन । तालाबन्दीको संस्कृति अन्त्य हुनुपर्छ । जायम मागमा हाम्रो पनि समर्थन रहन्छ र एकीकृत रूपमा माग राख्न सक्छौँ । त्रिविको समस्या दीर्घकालीन समाधानका लागि शान्तिक्षेत्र घोषणा गर्नुपर्छ । कुनै व्यक्तिलाई हटाउने उद्देश्यले गरिएको आन्दोलनमा हाम्रो समर्थन रहँदैन । त्रिविका विकृति–विसंगति हटाउने आन्दोलनमा अखिलले नेतृत्व गर्छ । तर, अहिले नेविसंघका केही झुन्ड त्रिविलाई तहसनहस गर्न लागे । सबैको ध्यानाकर्षण गर्न त्रिवि सरसफाइ अभियानमा हामी लागेका छौँ ।

 उपकुलपति धर्मकान्त बाँस्कोटा नै भन्छन्– त्रिवि आउँदा रणभूमिमा प्रवेश गरेको  आभास हुन्छ, समस्याको जड राजनीति
नेविसंघको एउटा समूहको देखाउने एक र नदेखाउने अर्को माग हुँदा समस्या भयो । प्रधानमन्त्री तथा कुलपतिबाट ताला फोडेर काम गर्न आदेश आएको छ । तर, फोड्नुपर्ने संयन्त्रबाट सहयोग नपाएपछि असम्भव भएको छ । त्रिवि आउँदा रणभूमिमा प्रवेश गरेको आभास हुन्छ । पदाधिकारी, शिक्षक, कर्मचारी सबैले हाम्रो सुरक्षा हुँदैन भने कसरी काम गर्न सक्छौँ भनेका छन् । विश्वविद्यालयका विभिन्न निकायमा विभिन्न समूहबाट चन्दा, आर्थिक सहयोगको नाममा रकम मागेर हैरान बनाएको गुनासो पनि आएका छन् । यस्तो अवस्थामा विश्वविद्यालयमा बसेर काम गर्ने वातावरण छैन । विश्वविद्यालयले सम्पादन गर्नुपर्ने कार्यहरू समयमा नसक्दा विद्यार्थीमा नकारात्मक प्रभाव परेको छ । १८ कात्तिक ०७६ मा उपकुलपति नियुक्त भएयता ३४ महिनाको मेरो कार्यकालमा तीन सय दिन त्रिविमा तालाबन्दी भयो । केही विद्यार्थीलाई रेस्टिकेट गर्दा समस्या हल हुन्थ्यो, अरूले यस्तो गतिविधि गर्दैनथे । तर, कारबाही ग¥यो भने राजनीतिक दलले उसको संरक्षण गर्छ । त्यसैले यो समस्याको जड नै राजनीति हो ।

ad
ad