१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
रमेश सुवेदी काठमाडौं
२o८१ जेठ ४ शुक्रबार o८:५३:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

महिला साफ च्याम्पियनसिप : नेपालको सन्तुलित टिम

Read Time : > 2 मिनेट
रमेश सुवेदी काठमाडौं
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार o८:५३:oo

घरेलु मैदानमा लगातार दोस्रोपटक आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक कुमार थापाले अन्तिम खेलाडी घोषणा गरेका छन् । ५८ खेलाडीबाट दोस्रो चरणमा ३५ हुँदै अन्तिम २३ खेलाडी प्रतियोगिता खेल्न तयार भएका हुन् । थापाले खेलाडी घोषणा गरे पनि टिम कप्तानको भने टुंगो लगाएका छैनन् । घोषित टिममा तीन नयाँ खेलाडीले पहिलोपटक स्थान बनाएका छन् । यस्तै, रेखा पौडेलले लामो समयपछि पुनरागमन गरेकी छन् । अन्य खेलाडी भने नियमित छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिता २१ भदौबाट ३ असोजसम्म हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले २१ भदौमा भुटानविरुद्ध खेल्नेछ । यस्तै, नेपालले दोस्रो खेल २८ भदौमा श्रीलंकासँग खेल्ने तालिका छ । दुवै खेल सवा ५ बजे सुरु हुनेछ ।

 समीक्षा, दीपा र अमिषा पहिलोपटक टिममा 
नेपालको यू–१८ र यू–१९ टिममा उत्कृष्ट प्रदर्शन गरेका समीक्षा घिमिरे, अमिषा कार्की र दीपा शाहीले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । घरेलु प्रतियोगितामा समेत तीनै खेलाडीले प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । समीक्षा रौतहटबाट महिला फुटबलमा उदाएकी खेलाडी हुन् । डिफेन्डरसमेत रहेकी समीक्षा हाल भने विभागीय टोली नेपाल पुलिस क्लबमा आबद्ध छिन् ।

चोटपछि समीक्षा चितवनमा आयोजना भएको महिला राष्ट्रिय लिगमार्फत खेलमा फर्किएकी हुन् । यता, अमिषा कार्कीसमेत नेपालको उमेर समूहमा प्रभाव जमाउँदै राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भइन् । वालिङ नगरपालिकाबाट राष्ट्रिय लिगमा उदाएकी अमिषा हाल भने त्रिभुवन आर्मी फुटबल क्लबमा आबद्ध छिन् । चितवनमा भएको महिला लिगको पहिलो चरणमा अमिषाले चार गोल गरेकी थिइन् । यस्तै, हुम्ला जिल्लाकी दीपा शाहीसमेत पहिलोपटक टोलीमा स्थान बनाउन सफल भइन् । घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शनसँगै प्रशिक्षक थापाले दीपालाई राष्ट्रिय टोलीमा मौका दिएका हुन् । दीपाले आर्मीबाट चितवनमा भएको पहिलो चरणको राष्ट्रिय लिगमा दुई गोल गरेकी थिइन् । तीनै खेलाडी प्रतिभावान् रहेका कारण टोलीमा स्थान बनाएको नयाँ पत्रिकालाई बताए । 

 लागेन कप्तानको टुंगो
नियमित कप्तान रेणुका नगरकोटेले चोट बोकेसँगै हाल नेपाली टिम कप्तानविहीन छ । प्रशिक्षक थापाले २३ खेलाडीसँगै कप्तान घोषणा गर्ने अनुमान गरिएको थियो । तर, घोषणा भएन । प्रतियोगिता सुरु हुन नौ दिन मात्रै बाँकी छ । प्रशिक्षक थापा भने अहिले नै हत्तार नभएको बताउँछन् ।‘मैले खेलाडीको रेकर्ड हेर्दै छु । सम्भावित सेटमा खेल्ने र लिड गर्न सक्ने खेलाडीलाई प्राथमिकतामा राख्नेछु,’ थापा कप्तान चयनको सम्भावित खाका बताउँछन् । उनले केही दिनमै यसको निर्णय हुनेसमेत बताए, ‘केही दिनमै घोषणा गर्छु, त्यसैले आज नगरेको हो,’ दोस्रोपटक महिला टिम हेर्दै गरेका थापाले भने । हाल टोलीमा सिनियर र नियमित सदस्यका आधारमा गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बालाई सम्भावित कप्तानको रूपमा हेरिएको छ । 

नेपाली टिम
गोलकिपर : एन्जिला तुम्बाप्पो सुब्बा,अञ्जना रानामगर, उषा नाथ
डिफेन्डर : हिराकुमारी भुजेल, अमृता जैसी,गीता राना, पुनम जर्घामगर, निशा थोकर,समीक्षा घिमिरे, विमला विक
मिडफिल्डर : विमला चौधरी, मन्जलीकुमारी योन्जन, प्रीति राई, सरु लिम्बु, दीपा राई, दीपा शाही,इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी
फरवार्ड : सावित्रा भण्डारी, अमिषा कार्की,रेखा पौडेल, रश्मिकुमारी घिसिङ

च्याम्पियन हुने मौका : कुमार थापा, प्रशिक्षक
सन् २०१६ मा भारतमा आयोजना भएको साफमा कुमार थापाले पहिलोपटक महिला टिम हेर्ने अवसर पाए । त्यतिवेला भने नेपाल सेमिफाइनलबाट अगाडि बढ्न सकेन । नेपाल सेमिफाइनलमा भारतसँग ३–१ ले पराजित हुँदै पहिलोपटक फाइनल पुग्नबाट वञ्चित भयो । पुनः दोस्रोपटक एन्फाले थापालाई विश्वास गर्दै महिला टोलीको जिम्मेवारी सुम्पिएको छ । थापा हालको टोली ‘ब्यालेन्स’ रहेको र घरमै उपाधि राख्ने योजना रहेको बताउँछन् । ‘आजसम्म तयारी राम्रो भएको छ । राम्रो हुने आशा गरेको छु । घरमा लगातार हुँदै छ । ब्यालेन्स टिम छ । साफ जित्नेमा आशावादी छौँ,’ थापा भन्छन् । 

 रेखाको पुनरागमन
मुख्य प्रशिक्षक थापाले घोषणा गरेको टिममा रेखा पौडेलले पुनरागमन गरेकी छन् । यसअघि सन् २०१९ मा विराटनगरमा आयोजना भएको साफ च्याम्पियनसिपमा रेखालाई मुख्य प्रशिक्षक हरि खड्काले डेब्यु गराएका थिए । रेखा भुटानविरुद्ध ८८औँ मिनेटमा डिफेन्डर अमृता जैशीको स्थानमा मैदान प्रवेश गरेकी थिइन् । उक्त खेल नेपालले ३–० ले जितेको थियो । फाइनल स्थान बनाउने क्रममा श्रीलंकालाई ४–० ले पराजित गर्दा रेखाले खेलको ८६औँ मिनेटमा गोल गरेकी थिइन् । प्रतियोगितायता रेखा टिमबाहिर रहँदै आएकी थिइन् ।

नेपालमै आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग)मा रेखा प्रशिक्षक खड्काको २३ टिमभित्र स्थान बनाउन असफल भइन् । गत भदौमा बंगलादेशविरुद्ध दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल हुँदा रेखा कोभिड–१९ को कारण टिमबाहिर थिइन् । लामो समयपछि राष्ट्रिय टिममा स्थान बनाएकी रेखाले मिहिनेतका कारण टिममा पुनरागमन गरेको र नेपालमै हुने साफ खेल्ने चाहना पूरा भएको नयाँ पत्रिकालाई बताइन् । ‘फेरि स्थान बनाउन निकै दुःख गरेकी छु । मिहिनेतका कारण कमब्याक गर्न सफल भएँ । नेपालमै हुने साफ खेल्ने चाहना थियो । शतप्रतिशत दिँदै देशलाई च्याम्पियन बनाउने प्रयास गर्नेछु,’ नेपाल यू–१४, यू–१६, यू–१८ र यू–१९ टोलीबाट खेलिसकेकी रेखाले भनिन् । यस्तै, चोटका कारण टिमबाहिर रहेका सावित्रा भन्डारी र पुनम जर्घामगरले टोलीमा पुनरागमन गरेका छन् । 

ad
ad