Skip This
पूर्वराजा ज्ञानेन्द्रका भिनाजुसमेत मिलेर जनकपुरमा हत्याएका थिए सार्वजनिक र मन्दिरको साढे आठ बिघा जग्गा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १० शुक्रबार
  • Saturday, 27 July, 2024
सुवास भट्ट काठमाडाैं
२o७९ भदौ १० शुक्रबार o६:o४:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

पूर्वराजा ज्ञानेन्द्रका भिनाजुसमेत मिलेर जनकपुरमा हत्याएका थिए सार्वजनिक र मन्दिरको साढे आठ बिघा जग्गा 

Read Time : > 3 मिनेट
सुवास भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ १० शुक्रबार o६:o४:oo

जग्गा व्यक्तिका नाममा लगिएको ३६ वर्षपछि अख्तियारले गर्‍यो मुद्दा दायर, मृत्यु भइसकेका मुख्य प्रतिवादीसहित चारविरुद्ध जनही ३० करोड बिगो, ३१ जना प्रतिवादी 

पूर्वराजा ज्ञानेन्द्र शाहका भिनाजु कुमार खड्गविक्रम शाहसमेत मिलेर जनकपुरमा सार्वजनिक र मन्दिरको आठ बिघा १० कट्ठा जग्गा हत्याएको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाह र उनका छोरासहित ३१ विरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । जग्गा हिनामिना गर्ने शाहको यसअघि नै निधन भइसकेको छ ।

सार्वजनिक जग्गा आफ्नो नाममा लैजाने शाहसहित चारजनालाई अख्तियारले जनही २९ करोड ८८ लाख ८१ हजार बिगो कायम गरी मुद्दा दायर गरेको छ । अन्य २७ जनालाई भने जग्गा जफत प्रयोजनका लागि प्रतिवादी कायम गरिएको छ । धनुषाको साबिक पिडारी– ५ का पाँचवटा कित्ताका आठ बिघा १० कट्ठा १२ धुर सार्वजनिक जग्गा गुठी संस्थान र मालपोत कार्यालयका कर्मचारीलाई प्रभावमा पारेर शाहले २८ साउन ०४३ मा गैरकानुनी रूपमा आफ्नो नाममा दर्ता कायम गरेका थिए । उक्त घटना छानबिन गरी अख्तियारले ३६ वर्षपछि मुद्दा दायर गरेको हो । कर्मचारीसमेतको संलग्नतामा घटना भए पनि मुद्दाको प्रमुख प्रतिवादी भने शाह नै देखिन्छन् । तत्कालीन अवस्थामा श्री ५ को सरकारको नाममा कायम रहेका जग्गा शाहले आफ्नो व्यक्तिगत नाममा दर्ता गराएका थिए । 

‘शाहले आठ बिघा १० कट्ठा १२ धुर सरकारी, सार्वजनिक जग्गा गैरकानुनी रूपमा गुठी संस्थान तथा मालपोत कार्यालयका कर्मचारीसमेतलाई प्रभाव र प्रलोभनमा पारी आफ्नो नाममा दर्ता कायम गराई आफूलाई प्रत्यक्ष लाभ र नेपाल सरकारलाई प्रत्यक्ष हानि पुर्‍याउने कार्य गरी कसुर गरेको देखियो,’ अख्तियारले अदालतमा पेस गरेको आरोपपत्रमा भनेको छ । 

अख्तियारले सार्वजनिक र मन्दिरको नाममा रहेको जग्गा गैरकानुनी रूपमा व्यक्तिविशेषका नाममा दर्ता कायम, नापनक्सा, हालसाबिक गर्ने–गराउने गरी पत्राचार गर्ने, निर्णयका लागि गलत रायसहित टिप्पणी पेस तथा स्वीकृत गर्ने कर्मचारी, पदाधिकारीसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । 

प्रमुख प्रतिवादी शाहको दरबार हत्याकाण्डमा वीरेन्द्र परिवारसँगै निधन भएको थियो । फौजदारी न्यायको सर्वमान्य सिद्धान्त तथा मुलुकी फौजदारी कार्यविधि संहिताका कतिपय व्यवस्थाअनुसार कारबाही छुट भए पनि भ्रष्टाचार निवारण ऐनको व्यवस्थामा टेकेर अख्तियारले उनको नाममा बिगो कायम गरेको छ । 

साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ८ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ४ बमोजिम शाहका नाममा २९ करोड ८८ लाख ८१ हजार बिगो कायम गरिएको छ । यो बिगो उनको नाममा नै हाल रहेको कुनै सम्पत्तिबाट वा उनको नामबाट हकवालाको नाममा सम्पत्ति गएको भए त्यसैबाट असुलउपर गर्न अख्तियारले भनेको छ । अख्तियारले उनका छोरा दिवसविक्रम शाहलाई पनि प्रतिवादी कायम गरेको छ । बाबुको निधनपछि उनको नाममा जग्गा पास भएको देखिएको अख्तियारको दाबी छ । उनलाई जग्गा जफत गरी पुनः नेपाल सरकारका नाममा कायम गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएको छ । 

यस घटनामा अख्तियारले तत्कालीन जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन कार्यालय प्रमुख मधुप्रसाद बस्ताकोटी, मालपोत कार्यालयका तत्कालीन नासु यमुनाप्रसाद पञ्जियार र तत्कालीन खरिदार जगदेव कामतीविरुद्ध पनि मुद्दा दायर गरेको छ । गुठी प्रमुख बस्ताकोटीले तत्कालीन श्री ५ को सरकारको नाममा नापनक्सा भई कायम रहेका सरकारी सार्वजनिक जग्गा भिड्दै नभिड्ने गुठी लगत कायम गरी शाहको नाममा दर्ता कायम हुने गरी जग्गाधनी प्रमाण पुर्जा बनाइदिन मालपोत कार्यालयलाई पत्राचार गरेको, कानुनबमोजिम गुठीको जग्गाको लगत र अभिलेखसमेत नराखी सिफारिस तथा पदीय मर्यादाविपरीत कार्य गरेको आरोप अख्तियारको छ । त्यस्तै, मालपोतकी नासु पञ्जियार र खरिदार कामतीले बस्ताकोटीको सिफारिसका आधारमा पाँचै कित्ताका सार्वजनिक जग्गा गैरकानुनी रूपमा शाहका नाममा दर्ता कायम गरिदिएका थिए । तीनैजनाविरुद्ध जनही २९ करोड ८८ लाख ८१ हजार बिगो कायम गरी अख्तियारले मुद्दा दायर गरेको छ । 

सुरुमा शाहले हत्याएको जग्गा पछि विभिन्न समयमा विभिन्न तहमा धेरै व्यक्तिमा जग्गा किनबेच भएको देखिएको अख्तियारको छानबिनले देखाएको छ । त्यसमा संलग्न सबैविरुद्ध अख्तियारले जफत प्रयोजनका लागि मुद्दा दायर गरेको छ । त्यसमा छोरा दिवसविक्रम शाहसहित २७ जना छन् । जफत प्रयोजनका प्रतिवादीमा विभाकुमारी यादव, राजकिशोर महासेठ, विमला देवी, विजयकुमार मण्डल, चन्द्रकलाकुमारी देवी, त्रिफुलाकुमारी देवी, लीलादेवी यादव, नृपेन्द्र सिंह, रामविपिन साह, सज्ञान देवी, पुष्पा सिंह, लक्ष्मीनारायण मिश्रा, नितुकुमारी झा, शर्मिला कुमारी, रेणुकुमारी राय, नवलकिशोर यादव, जयकुमार गोइत, रिता देवी, सिकलीदेवी यादव, नवीनकुमार झा, मनीषाकुमारी झा, मीना कर्ण, विपेन्द्रकुमार मिश्र, राधिकादेवी यादव, मोमिना वेगम र गजेन्द्र ठाकुर छन् । 

खड्गविक्रम शाहको नाममा कायम गरिएको २९ करोड ८८ लाख ८१ हजार बिगो कसरी असुल्ने ?
धनुषाको साबिक पिडारी– ५ का पाँचवटा कित्ताका आठ बिघा १० कट्ठा १२ धुर सार्वजनिक जग्गा २८ साउन ०४३ मा आफ्नो नाममा ल्याएका कुमार खड्गविक्रम शाहको दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको परिवारसँगै निधन भइसकेको छ । फौजदारी न्यायको सर्वमान्य सिद्धान्त तथा मुलुकी फौजदारी कार्यविधि संहिताका कतिपय व्यवस्थाअनुसार कारबाही छुट भए पनि भ्रष्टाचार निवारण ऐनको व्यवस्थामा टेकेर अख्तियारले उनको नाममा बिगो कायम गरेको छ । साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ८ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ४ बमोजिम शाहका नाममा २९ करोड ८८ लाख ८१ हजार बिगो कायम गरिएको छ । यो बिगो उनको नाममा नै हाल रहेको कुनै सम्पत्तिबाट वा उनको नामबाट हकवालाको नाममा सम्पत्ति गएको भए त्यसैबाट असुलउपर गर्न अख्तियारले भनेको छ । अख्तियारले उनका छोरा दिवसविक्रम शाहलाई पनि प्रतिवादी कायम गरेको छ । बाबुको निधनपछि उनको नाममा जग्गा पास भएको देखिएको अख्तियारको दाबी छ । उनलाई जग्गा जफत गरी पुनः नेपाल सरकारका नाममा कायम गर्ने प्रयोजनका लागि मात्र अख्तियारले प्रतिवादी बनाएको हो ।