मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर २० मंगलबार
  • Tuesday, 06 December, 2022
मार्कस फिडर
२०७९ भदौ ६ सोमबार ०९:३१:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

युक्रेन पुनर्निर्माणको खर्च कसरी जुटाउने ?

पुनर्निर्माणका लागि १० खर्ब १० अर्ब अमेरिकी डलर चाहिन सक्ने भएकाले यो खर्च युक्रेन आफैँले जुटाउन सक्नेछैन

Read Time : > 2 मिनेट
मार्कस फिडर
२०७९ भदौ ६ सोमबार ०९:३१:००

युद्ध सकिएपछि युक्रेनको पुनर्निर्माणको लागत कति हुनेछ भन्ने अनुमान व्यापक रूपले फरक–फरक छन् । युक्रेनी प्रधानमन्त्री डेनेस एसमायलले हालै युक्रेन पुनर्निर्माणका लागि सात खर्ब ५० अर्ब लाग्न सक्ने अनुमान गरेका छन् । जब कि युरोपियन इन्भेस्टमेन्ट बैंकका अध्यक्ष वार्नर होयर उसलाई १० खर्ब १० अर्ब अमेरिकी डलर चाहिन सक्ने आकलन गर्छन् । हरेक दिन युद्ध जारी रहेसँगै यो आँकडा बढ्ने निश्चित छ ।

युक्रेनले पावर प्लान्ट, पावर ग्रिड एवं अत्यावश्यक सेवा खानेपानी, सरसफाइ तथा यातायातका पूर्वाधार पुनर्निर्माण गर्नुपर्नेछ । उद्योगलाई पनि लगानी चाहिनेछ भने जाडोअघि नै आवास पनि पुनर्निर्माण वा ममर्त–सम्भार गर्नुपर्नेछ । थुप्रै सहर, बजार र गाउँ ध्वस्त भएका छन् ।युक्रेनले युद्धपछिको आफ्नो विशाल पुनर्निर्माणको खर्च आफैँले जुटाउन सक्नेछैन, तर उसले रुसबाट क्षतिपूर्तिको पनि भर पर्नुपर्दैन । उसलाई चाहिने कोषको व्यवस्था विश्व बैंक, युरोपेली लगानी बैंक तथा युरोपेली पुनर्निर्माण तथा विकास बैंकजस्ता बहुपक्षीय विकास संस्थाहरूले गर्नैपर्ने हुन्छ । युरोपेली संघका साथै उसलाई पश्चिमा सरकारहरूले पनि सहयोग गर्नुपर्ने हुन्छ ।

सबैभन्दा ठूलो समस्या के हुन्छ भने युक्रेनलाई युद्ध समाप्त हुनेबित्तिकै पैसा नै पैसा चाहिनेछ । उसले ऋण लिनैपर्ने हुन्छ, युद्ध सकिँदा ऊसँग कोष ऋणात्मक भइसकेको हुनेछ । साथै, ऋण तिर्न सक्ने क्षमतासमेत अत्यन्तै कमजोर भइसकेको हुनेछ ।यसैगरी, पश्चिमा सरकारले पनि युक्रेनलाई चाहिने सुरुवाती एक खर्ब डलर पनि रातारात हस्तान्तरण गर्न सक्नेछैनन् । उनीहरूको वित्तीय अवस्था पनि जारी कोभिड– १९ महामारी र त्यसका असरसँग जुध्ने वित्तीय उपायमा लगाउनुपरेका कारण धर्मराउँदो अवस्थामा छ । साथै, नयाँ चुनौतीका कारण सुरक्षा खर्च बढाउनुपर्ने स्थिति छ । सुरक्षा चुनौतीका कारण जर्मनीले पनि आफ्नो सेनाका लागि थप एक खर्ब युरो खर्चिने योजना गरेको छ ।

तर, नवप्रवर्तनात्मक वित्तीय संयन्त्रले कम्तीमा युक्रेनको वित्तीय खाडल पुर्न सेतुको काम गर्न सक्छन् । यसमा नीति–निर्माताहरूले अघिल्ला दुई नजिरलाई ध्यान दिनुपर्ने हुन्छ । युक्रेनको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय वित्तीय सुविधा (आइएफएफआरयू) स्थापना एउटा विकल्प हुन सक्छ । यसलाई सन् २००६ मा बेलायत सरकारको नेतृत्वमा विभिन्न दाता सरकारहरूले स्थापना गरेको इन्टरनेसनल फिनान्स फ्यासिलिटी फर इम्युनाइजेसन (आइएफएफआइएम)को मोडेलमा स्थापना गर्न सकिन्छ । जुन विश्वका गरिब देशका बालबालिकालाई खोप दिन पहिल्यै पैसाको सुनिश्चितता गराउन स्थापना गरिएको थियो । 

पुनर्निर्माणका लागि १० खर्ब १० अर्ब अमेरिकी डलर चाहिन सक्ने भएकाले यो खर्च युक्रेन आफैँले जुटाउन सक्नेछैन
 

आइएफएफआइएमले उच्च रेटिङका सरकारबाट ६ अर्ब डलरभन्दा बढीको कानुनी रूपले बाध्यकारी बहुवर्षीय प्रतिबद्धता प्राप्त गरेको थियो । जसबाट उसले ‘एएए’ रेटिङ प्राप्त गर्न सक्यो, र अन्तर्राष्ट्रिय ऋणपत्र बजारमा प्रवेश गरेर ऋण लिन सक्यो । यसरी लिएको ऋण उसले ठूलो स्तरको तात्कालिक खोप अभियान ‘गाभी’लाई पठाएको थियो ।करमुक्त आइएफएफआरयूलाई युक्रेनबाहिर स्थापित गरेर उत्कृष्ट सञ्चालन अभ्यास र सुशासन मापदण्डअनुरूप सञ्चालन गर्न सकिनेछ । यसो हुँदा अधिकांश पश्चिमा सरकारहरूले आफ्नो चालू बजेट कटाएर ठूलो राशि पठाउनुको सट्टा २० वर्षे कानुनी रूपले बाध्यकारी प्रतिबद्धतामार्फत रकमको व्यवस्था गरिदिन सक्नेछन् । यदि सही तरिकाले समायोजित गर्ने हो भने सरकारहरूले प्रतिबद्धताअनुसार उपलब्ध गराउनुपर्ने रकमलाई ऋणपत्र बेच्दाको वर्षमा मात्रै बजेटमा समावेश गर्दा भइहाल्नेछ ।

आफ्नो वित्तीय नीति एवं दातृराष्ट्रहरूको क्रेडिट रेटिङमा आधारित रहेर आइएफएफआरयूले ‘एए’ वा त्यसभन्दा माथिल्लो रेटिङ पाउन सक्छ । यसले उसलाई अन्तर्राष्ट्रिय बोन्ड मार्केट (ऋणपत्र बजार)मा प्रवेश गरेर युक्रेनका लागि रकम उठाउन र आवश्यकताअनुसार उपलब्ध गराउन सुविधा हुनेछ । यसरी, पैसा जुटाएर अत्यावश्यक पूर्वाधार तथा विस्थापित मानिसका लागि घर निर्माण कार्यलाई तीव्र बनाउन सकिन्छ ।

दोस्रो सम्भावना भनेको युक्रेनले केही उदीयमान बजारको उदाहरण पछ्याउँदै ब्राडी बन्ड (पूर्वअमेरिकी अर्थमन्त्री निकोलस ब्राडीका नाममा नामाकरण गरिएको) जारी गर्ने । यस्तो बन्ड तीन दशकअघि वाणिज्य बैंकहरूको ऋण तिर्न नसक्दा बुल्गेरिया, मोरक्को, नाइजेरिया, पोल्यान्डका साथै अन्य थुप्रै ल्याटिन अमेरिकी देश र फिलिपिन्सले जारी गरेका थिए । त्यस संकटलाई समाधान गर्न बैंकहरूले ऋणमा केही क्षति सहेका थिए भने बाँकी ऋणलाई बजारयोग्य सार्वभौम बन्डमा रूपान्तरण गरिएको थियो । सरकारहरूले मूलधनको भुक्तानीका लागि धितो प्रबन्धन गरिदिएका थिए । अमेरिकाले धितो सुरक्षणका लागि विशेष ३० वर्षे शून्य ब्याजदर–कुपन जारी गरिदिएको थियो । जसले यो ऋणपत्रमाथि लगानीकर्ताको आकर्षण बढाएको थियो ।

युक्रेनको ‘सिसी’ रेटिङले उसलाई अन्तर्राष्ट्रिय बन्ड मार्केट (ऋणपत्र बजार) प्रवेश गर्न दिनेछैन । त्यसैले, उसका लागि यस्तैखालको ऋणपत्र निष्कासन गर्न सकिन्छ । ब्राडी बन्डको ब्याज युक्रेन सरकारले तिर्नेछ । बढ्दो ब्याजदर र कसिलो सरकारी बजेटको अर्थ युक्रेन पुनर्निर्माणका लागि चाहिने ठूलो रकम एकैपटक उठाउन सकिनेछैन । तर, यस्ता रचनात्मक वित्तीय संयन्त्रले पैसाको तनाव कम गर्न र मुलुकको पुनर्निर्माणलाई तीव्रता दिन सहयोग गर्नेछन् । 
(फिडर युरोपियन बैंक फर रिकन्स्ट्रक्सन एन्ड डेभलपमेन्टका पूर्वकोषाध्यक्ष हुन्)प्रोजेक्ट सिन्डिकेटबाट