१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
मञ्जु टेलर काठमाडाैं
२o८१ जेठ ५ शनिबार o६:o८:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

पित्तथैलीको अप्रेसन गर्दा तीनवटा दाँत गायब

बिरामीका आफन्त गणेश पौडेल भन्छन्– पित्तथैलीको अप्रेसन गर्दा दाँत कसरी गायब भयो भन्दा डाक्टरहरूले ‘रेस्पोन्स’ नै गर्नुहुन्न

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:o८:oo

वीर अस्पतालमा पित्तथैलीको अप्रेसन गरिएकी एक बिरामीको तीनवटा दाँत नै गायब भएका छन् । नुवाकोटकी ५० वर्षीया राधिका ओझाको पित्तथैलीको अप्रेसनपछि चिकित्सकले अगाडि माथिल्लोपट्टिका तीनवटा दाँत पनि नभएको अवस्थामा थिएटरबाट बाहिर निकालेका हुन् । मंगलबारको उक्त घटनाबारे पीडित ओझाले भनिन्, ‘अप्रेसन सकिएपछि बाहिर निकाले । केहीबेरपछि होसमा आउँदा मुख र गिजा दुखेको महसुस हुन थाल्यो । हातले छाम्दा त अगाडिका दाँत नै थिएनन् ।’ 

ओझालाई वार्डमा सारेपछि परिवारका सदस्यले अगाडि माथिल्लोपट्टिका तीनवटा दाँत भाँचिएको देखेका थिए । यसबारे उनीहरूले तत्काल चिकित्सकलाई प्रश्न गरेका थिए । अस्पताल र चिकित्सकले ‘अप्रेसनका क्रममा इन्टुबेसनका लागि भेन्टिलेटरमा राखेर उपचार गर्दा जटिलता निम्तिएर यस्तो दुर्घटना भएको’ जवाफ दिएका छन् । ‘अस्पताल र चिकित्सकले कुनै लापरबाही गरेको छैन । पित्तथैलीको अप्रेसन गर्नुपर्नेमा लापरबाही गरेर डाक्टरले दाँत निकालिदिएको आफन्तले आरोप लगाएका छन् । तर, यो सत्य होइन । बिरामीको पित्तथैलीको अप्रेसन सफलतापूर्वक भइसकेको छ,’ वीरका निर्देशक डा. भूपेन्द्र बस्नेतको दाबी छ, ‘अप्रेसन गर्दा आइपर्ने जोखिमलाई कम गर्न खोज्दा दाँत भाँचिएको हो । इन्टुबेसन (घाँटीबाट श्वासनलीमा पाइप राखेर भेन्टिलेटरबाट कृत्रिम श्वास फेराउने प्रक्रिया) गर्ने क्रममा दुर्घटना भएको हो । बिरामीको घाँटीको बनावट असहज भएकाले ल्यारिङगोस्कोपी उपकरणले लागेर दाँत भाँचिएको हो । अप्रेसनका क्रममा यस्ता घटना भइरहन्छन् ।’ 

तर, उपचारको क्रममा हुन सक्ने सम्भावित दुर्घटनाबारे चिकित्सकले कुनै पूर्वजानकारी नै नगराएको पीडितको गुनासो छ । ‘पित्तथैलीको अप्रेसन गर्न लगेको बिरामी थिएटरबाट फर्किँदा तीनवटा सद्दे दाँत नै छैन । घटना कसरी भयो भनेर सोध्दा चिकित्सकले हामीलाई काउन्सिलिङसमेत गर्नुभएको छैन,’ बिरामी ओझाका आफन्त गणेश पौडेलले भने, ‘उपचारका क्रममा गल्ती गर्ने र गल्ती गरेपछि पनि घटनाप्रति चासो नदिनु हदैसम्मको लापरबाही हो । उपचार केको गर्ने भन्ने मेसो नपाएर डाक्टरले दाँत निकालेको पनि हुन सक्छ ।’ 

अघिल्लो सोमबार भर्ना गरिएकी ओझाको मंगलबार अप्रेसन भएको थियो । शल्यक्रियापछि संक्रमण फैलिएको बताएपछि उनलाई अस्पतालमै राखिएपछि दाँत भाँचिएको विषयमा चिकित्सकले चित्तबुझ्दो जवाफ नदिएको आफन्तहरूको गुनासो छ । 

बर्सेनि मेडिकल काउन्सिलमा चिकित्सकको लापरबाहीसम्बन्धी दर्जनौँ उजुरी
गत सोमबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकहरूको लापरबाहीले गर्भमै एक शिशुको ज्यान गएको भन्दै आफन्तले विरोध गरे । अस्पतालमै सुत्केरी बेथाले च्यापेर सहन नसकेपछि पटकपटक चिकित्सकलाई सम्पर्क गर्दा हेर्नसमेत नआएको र गर्भमै शिशुको मृत्यु भएको आफन्तको आरोप छ । सोही दिन राति साढे ८ बजे मृत शिशुको जन्म भएको थियो । 

तर, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश साहले गर्भवती महिलाको उपचारमा लापरबाही नभएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘बच्चाको सालनाल घाँटीमा बेरिएर दिसा खाएपछि मृत्यु भएको हो, चिकित्सकको लापरबाहीले होइन ।’

चिकित्सक र अस्पताल प्रशासनको लापरबाहीका कारण दुर्घटना हुने गरेको भन्दै आन्दोलन र तोडफोडका घटना पटक–पटक हुँदै आएका छन् । तर, अधिकांश घटनामा चिकित्सक भने उपचारका क्रममा आएको जटिलता भनेर पन्छिने गरेका छन् । चिकित्सकीय लापरबाही र कमजोरीका यस्ता घटनाबारे छानबिन गर्र्दे आएको नेपाल मेडिकल काउन्सिलमा बर्सेनि ५० वटासम्म उजुरी पुग्ने गरेका छन् । काउन्सिलअन्तर्गतको ‘व्यावसायिक आचरण तथा स्वास्थ्य समिति’को तथ्यांकअनुसार पछिल्लो एक महिनामा मात्र चिकित्सकको लापरबाहीविरुद्ध आठवटा घटना दर्ता भएका छन् । गत आर्थिक वर्षमा ४६ र ०७७/७८ मा ५० घटना काउन्सिलमा दर्ता भएको तथ्यांक छ । कैयौँ घटना त काउन्सिलसम्म नै पुग्दैनन् । समस्याबाट पन्छिन अस्पतालले बिरामी तथा मृतकका आफन्तलाई क्षतिपूर्ति दिने तथा उपचार शुल्क मिनाहा गरिदिएर घटना मिलाउने गरेका छन् । 

काउन्सिलसम्म एकदमै कम मात्र उजुरी आउँछन्
डा. कृष्णप्रसाद अधिकारी
रजिस्ट्रार, नेपाल मेडिकल काउन्सिल

चिकित्सकको लापरबाही वा कमजोरीका कारण बिरामीको स्वास्थ्यमा थप समस्या आएको वा मृत्यु भएको घटना पटक–पटक सार्वजनिक हुने गरेका छन् । तर, काउन्सिलसम्म न्यून उजुरी मात्रै आइपुग्छन् । अहिलेसम्म यस्ता घटनालाई देवानी वा फौजदारी के मान्ने भन्नेमै अन्योल छ । तर, बाहिर आउने सबै घटना चिकित्सकको लापरबाहीको कारणले मात्रै पनि भएका हुँदैनन् । कतिपय उपचारमा जटिलता कम गर्ने क्रममा पनि यस्ता घटना हुन्छन् । तर, बिरामी पक्षले चिकित्सकलाई मात्रै दोष लगाउने गरेको पाइन्छ । 

अप्रेसनपछि होसमा आउँदा मुख र गिजा दुखेको महसुस भयो, छाम्दा त अगाडिका दाँत नै थिएनन्
राधिका ओझा, बिरामी

गत मंगलबार अप्रेसन सकिएपछि थिएटरबाट बाहिर निकाले । केहीबेरपछि होसमा आउँदा मुख र गिजा दुखेको महसुस हुन थाल्यो । हातले छाम्दा त अगाडिका दाँत नै रहेनछन् । गिजा र ओठ सुन्निएर दुई दिनसम्म खाना खान पनि अप्ठ्यारो भयो । डाक्टरलाई सोध्दा ‘अप्रेसन गर्दा भएको’ भन्नुभएको छ । लापरबाही गर्नुभयो भन्दा ‘दाँत त बाहिर हाल्न मिलिहाल्छ नि’ भन्नुहुन्छ । म त बुढी भइसकेकी मान्छे, दाँत गए पनि फरक नपर्ला । उमेर भएका कसैलाई यस्तो भयो भने जीवनभर तनाव हुँदैन ? डाक्टरहरूले मेरो पेटमा पनि संक्रमण भएको बताउनुभएको छ । रगत धेरै जान थालेपछि मैले थप चेकजाँचका लागि सोधेकी थिएँ । तर, डाक्टरले अप्रेसनपछि स्वास्थ्य संवेदनशील हुने भएकाले सफा वार्डमा बस्नुपर्नेमा धेरैको सम्पर्कमा आउँदा संक्रमण भएको बताउनुभएको छ । 

 तर, वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेत भन्छन्
चिकित्सकको गल्ती छैन, अप्रेसन गर्दा यस्ता दुर्घटना भइरहन्छन्

अस्पताल र चिकित्सकले कुनै लापरबाही गरेको छैन । पित्तथैलीको अप्रेसन गर्नुपर्नेमा लापरबाही गरेर डाक्टरले दाँत निकालिदिएको आफन्तले आरोप लगाएका छन् । तर, यो सत्य होइन । बिरामीको पित्तथैलीको अप्रेसन सफलतापूर्वक भइसकेको छ । अप्रेसन गर्दा आइपर्ने जोखिमलाई कम गर्न खोज्दा दाँत भाँचिएको हो । इन्टुबेसन (घाँटीबाट श्वासनलीमा पाइप राखेर भेन्टिलेटरबाट कृत्रिम श्वास फेराउने प्रक्रिया) गर्ने क्रममा दुर्घटना भएको हो । बिरामीको घाँटीको बनावट असहज भएकाले ल्यारिङगोस्कोपी उपकरणले लागेर दाँत भाँचिएको हो । अप्रेसनका क्रममा यस्ता घटना भइरहन्छन् । 


 

ad
ad