१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ५ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ ५ आइतबार o६:२८:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कम्बोडियामा मानव तस्करी : चिनियाँ कल सेन्टरमा चार सय नेपाली युवा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ ५ आइतबार o६:२८:oo

कम्बोडियामा भिजिट भिसामा रोजगारीका लागि पछिल्लो आठ महिनामा चार सयभन्दा बढी नेपाली पुर्‍याइएका छन् । मानव तस्करी समूहले त्यसरी पुर्‍याइएकामध्ये अधिकांश त्यहाँ समस्यामा परेका छन् । केहीको हालै उद्धार गरिएको छ भने धेरैले उद्धारका लागि आग्रह गरेका छन् । 

अध्यागमन विभागको तथ्यांकअनुसार गत १ जनवरीदेखि १७ अगस्टसम्म ६ सय ३१ जना नेपाली कम्बोडिया पुगेका छन् । त्यसमध्ये चार सय एकजना भिजिट भिसामा गएका हुन् । कतिपय सुरुमा मलेसिया तथा थाइल्यान्ड हुँदै त्यहाँबाट भिसा लिएर कम्बोडिया जाने गरेका छन् । यसरी पुगेकामध्ये थोरै मात्र फर्किएको अध्यागमन विभाग स्रोत बताउँछ । अध्यागमनको तथ्यांक तथा गैरआवासीय नेपाली संघ, कम्बोडियाका अधिकारीको विवरणअनुसार भिजिट भिसामा अहिले पनि करिब चार सयजना अझै त्यहाँ बसेका छन् । 


लालसिंह खड्का, अध्यक्ष, गैरआवासीय नेपाली संघ, कम्बोडिया
धेरैजसो नेपाली चिनियाँले सञ्चालन गरेका कल सेन्टरमा आउने गरेका छन्, त्यहाँ श्रमशोषण हुने गरेको सुनिन्छ, केहीलाई हामीले उद्धारसमेत गरेर नेपाल फर्काएका छौँ, केहीको उद्धारका लागि यहाँको प्रहरीसँग कुरा गरिरहेका छौँ ।

गैरआवासीय नेपाली संघ, कम्बोडियाका अध्यक्ष लालसिंह खड्का पछिल्लो समय भिजिट भिसामा काम गर्न आउने नेपालीको संख्या बढेको र धेरैजना समस्यामा परेको बताउँछन् । ‘धेरैजसो चिनियाँले सञ्चालन गरेका कल सेन्टरमा आउने गरेका छन्,’ उनी भन्छन्, ‘त्यहाँ श्रमशोषण हुने गरेको सुनिन्छ, केहीलाई हामीले उद्धारसमेत गरेर नेपाल फर्काएका छौँ, केहीको उद्धारका लागि यहाँको प्रहरीसँग कुरा गरिरहेका छौँ ।’

भिजिट भिसामा अध्यागमकै कर्मचारीसँग सेटिङ रहेको पीडितहरूको भनाइ छ । अहिले पनि भिजिट भिसामा कम्बोडिया पठाउने गिरोह सक्रिय छ । वैदेशिक रोजगार नामक फेसबुक पेजमा कम्बोडियामा कम्प्युटरसम्बन्धी ज्ञान भएको व्यक्ति चाहिएको र आठ सय डलर तलब हुने भन्दै विज्ञापन गरिएको छ । तिनै चिनियाँ कल सेन्टरमा लैजान यसरी सामाजिक सञ्जालमार्फत समेत प्रचार–प्रसार गरी मानव तस्करीको काम भइरहँदा पनि सम्बन्धित निकायले यसमा चासो दिएका छैनन् । केही मेनपावर कम्पनी तथा ट्राभल एजेन्सीहरू यस्तो मानव तस्करीमा प्रत्यक्ष रूपमा जोडिएका छन् । 

समस्यामा परेकाहरूको थाइल्यान्डस्थित नेपाली दूतावास तथा गैरआवासीय नेपाली संघले पनि पहल गरिरहेको छ । कतिपय चिनियाँ अखडामा प्रहरी र चिनियाँको साँठगाँठसमेत हुने गरेकाले उद्धारमा समस्या हुने गरेका एनआरएन अधिकारी बताउँछन् । 

रोजगारीको प्रलोभनमा एजेन्टलाई लाखौँ बुझाएर कम्बोडिया पुगेकाहरूलाई त्यहाँ पुगेपछि कम्बोडियन एजेन्टले मानवदासका रूपमा बिक्री गर्ने पीडितहरूले बताएका छन् । रोजगारीको आकांक्षामा पुगेका सबैजसोलाई चिनियाँले गोप्यरूपमा सञ्चालन गरेका कल सेन्टरमा पुर्‍याइएको छ । त्यहाँ अनलाइन ठगीसम्बन्धी काममा लगाउने, थोरै मात्र तलब दिने र शारीरिक तथा मानसिक यातनासमेत दिई बन्धक बनाउने गरिएको छ ।

हालै त्यहाँबाट फर्किएका दुई युवाले त्यहाँका एजेन्टलाई साढे दुई हजार अमेरिकी डलर बुझाएका थिए । गत २ वैशाखमा त्यसरी कम्बोडिया पुगेका हेटौँडाका विश्वास अर्जेल र झापाका शिरीष प्रधानको गत २८ साउनमा उद्धार भएको थियो । तर, उनीहरूलाई मानव तस्करी गर्नेलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । कम्बोडियासमेत हेर्ने थाइल्यान्डस्थित नेपाली राजदूत गणेश ढकाल समस्यामा परेका नेपाली युवकहरूको उद्धारका लागि त्यहाँको सरकारलाई पत्राचार भइसकेको र उद्धारको समन्वयसमेत भइसकेको बताउँछन् ।