Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
पाटनको ढुंगेधारा । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
शिवहरि घिमिरे नयाँ पत्रिका
२०७९ भदौ ४ शनिबार ०६:४५:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

हिटीकै पानीमा आत्मनिर्भर बन्न सक्लान् उपत्यकाका भित्री सहर ? 

Read Time : > 4 मिनेट
शिवहरि घिमिरे, नयाँ पत्रिका
२०७९ भदौ ४ शनिबार ०६:४५:००

५७४ हिटी छन् : अहिले दुई सयमा पानी आउँछ, दुई सय ८० सुक्खा, ९४ हराइसके, ४२ वटाको नामै छैन 

हिटी (ढुंगेधारा) कुनै ताका काठमाडौं उपत्यकाको खानेपानीको मुख्य स्रोत थियो । ०४६ सालसम्म पाटन, वसन्तपुर र भक्तपुरका स्थानीयले राम्ररी अपनाउँदै आएको यो खानेपानी प्रणाली भने अहिले एकाएक लोप हुन पुग्यो । ललितपुरका एक सय, भक्तपुरका ६० र काठमाडौंका ४० वटा ढुंगेधारामा मात्रै अहिले पानी खस्छ । यहाँबाहेक तीन सय ७३ वटा हिटीमा पानी आउँदैन । ती दुई सय वटामध्ये पनि कुनै–कुनैमा बर्खाको वेला मात्रै पानी आउने अध्ययनले देखाएको छ । 

ढुंगेधाराका अनुसन्धानकर्ता तथा सहरी विकासका योजनाकार पद्मसुन्दर जोशीका अनुसार हाल उपत्यकामा पानी आउने ढुंगेधाराले करिब एक लाख जनसंख्यालाई पानी पुगेको अनुमान गरिन्छ । तर, हिउँदका वेला भने धेरैजसो ढुंगेधारा सुक्ने हुँदा कमैले मात्रै त्यसको पानी प्रयोग गर्न पाउँछन् ।

२००७ सालसम्म उपत्यकाका पाँच सय ७४ वटै हिटीमा पानी आउने जोशीको भनाइ छ । तर, २००७ साल र त्यसयताका राजनीतिक परिवर्तनले उपत्यकामा खुलापन बढेपछि मौलिक खानेपानीका स्रोत हिटी सुक्न थाले । ‘कतिपय ढुंगेधारा भएका ठाउँमा सरकारी भवन बने, कतिपय ढुंगेधारा भएका ठाउँमै व्यक्तिले घर बनाएका पनि हुन सक्छन्,’ अनुसन्धानकर्ता जोशीले भने, ‘हाल सञ्चालनमा रहेका ढुंगेधाराको पानीले सीमित घरधुरीलाई मात्रै पुगेको मान्न सकिन्छ, सहरी भिडभाडका कारण हिटी लोप हुने अवस्थामा पुगेको मान्न सकिन्छ ।’

काठमाडौं उपत्यकाभित्र पानीको प्रयोगका लागि दशकौँ वर्षअघि यहाँका रैथाने समुदायले विकास गरेको हिटी (ढुंगेधारा)को जम्मा संख्या पाँच सय ७४ हो । यहाबाहेक केही ढुंगेधाराको उत्खनन पनि भइरहेको छ । तर, तीमध्ये दुई सयवटा हिटीमा मात्रै अहिले पानी आउँछ । अन्य दुई सय ८० वटा हिटी सुक्खा छन् भने ९४ वटा हराइसकेका छन् । ४२ वटा हिटीको त नामनिसाना नै मेटिएको अनुसन्धानकर्ता जोशीले बताए । ती हिटीहरू कहाँ–कहाँ थिए भन्ने ठाउँको नामसमेत पत्ता लगाउन सकिने अवस्था नरहेको उनको भनाइ छ ।

जोशीले उपत्यकाका ढुंगेधाराबारे हालै प्रकाशनमा ल्याएको पुस्तक ‘हिटी प्रणाली’मा यहाँको परम्परागत पानी प्रणालीका रूपमा व्याख्या गरिएको छ । करिब १५ वर्षसम्मको खोज र अनुसन्धानपछि लेखिएको उक्त पुस्तकमा हिटीको लिच्छवीकालीन नाम ‘यिति’ रहेको र त्यसलाई नेवारीमा उल्था गर्दा यचुति (यचु–सफा, ति–झोल) हुने उल्लेख गरिएको छ । शिलापत्रमा पनि ‘यिति’ नै लेखिएको छ । पछि प्रयोग गर्दै जाँदा त्यसलाई हिटी भन्न थालिएको लेखक जोशीले जानकारी दिए । उनका अनुसार हाल ढुंगेधारा भनेर पुराना हिटीलाई चिन्ने गरिएको छ । तर, ढुंगेधारा र हिटीमा फरक छ । हिटी भन्नाले पुराना मौलिक शैलीका खानेपानी प्रणालीलाई बुझिन्छ भने ढुंगेधारा भन्नले ढुंगाबाट बनेको मौलिकता नभएका धारा भन्ने हुन्छ । यहाँका परम्परागत धाराहरूलाई हिटी नै भन्दा उचित हुने अनुसन्धानकर्ता जोशीको भनाइ छ । 

२०२० सम्म ढुंगेधारा र इनारकै पानीले आत्मनिर्भर थियो उपत्यका

काठमाडौं उपत्यका ०२० सालअघिसम्म ढुंगेधारा र इनारकै पानीले आत्मनिर्भर थियो । कम जनसंख्या भएको अवस्थामा ढुंगेधारा र इनारको पानी राजधानीवासीले प्रयोग गर्थे । ०२० सालयता उपत्यकाको जनघनत्व बढ्दै गएपछि ढुंगेधारा र इनारमा पानी सुक्न थालेको अनुसन्धानकर्ता जोशीको भनाइ छ । उनका अनुसार ०४६ सालयता त झन् उपत्यकामा बसाइँ सरेर आउनेको संख्या बढ्यो । परम्परागत प्रणालीको पानीले नपुग्ने अवस्था भएपछि सरकारले राजधानीवासीका लागि खानेपानीका वैकल्पिक स्रोत पाइपमार्फत धारा जडान ग¥यो । तीन जिल्लामा नजिकका खानेपानी स्रोतबाट धारामा पानी खसालियो ।  

पाटनमा छ सबैभन्दा पुरानो मंगः हिटी
ललितपुरको पाटन मंगलबजारको उत्तरपट्टि गहिरो ठाउँमा मंगः हिटी (ढुंगेधारा) छ । यो हिटीमा २४सै घन्टा पानी आउँछ । पाटन सहरको मध्यभागमा अवस्थित यो हिटी उपत्यकाकै इतिहास हो । हाल जीवित रहेका हिटीमध्ये यो सबैभन्दा पुरानो मानिन्छ ।

जानकारहरूका अनुसार यो हिटीको इतिहास निकै लामो छ । करिब १७ सय वर्षअघि नै यो हिटी निर्माण गरिएको हुन सक्ने अध्ययनले देखाएको छ । हिटीमा अनुसन्धानकर्ता जोशीका अनुसार उपत्यकाको सबैभन्दा पुरानो हिटी मंगः हिटी नै हो । ‘हाल जीवित रहेकामध्ये पाटन मंगलबजारमा रहेको मंगःहिटी पुरानो हो, त्यसअघि हाँडीगाउँमा पनि बनेको रहेछ,’ उनले भने, ‘तर, त्यसको निसानासमेत छैन अहिले ।’ 

यो हिटीसँग उपत्यकाको पिउने पानीको समेत इतिहास जोडिएको छ । सन् ५७० मा राजा मानदेवका नाति भारवीले यो हिटी स्थापना गरेको शिलालेखमा भेटिएको छ । त्यसो त भारवीले मंगः हिटी बनाउनुपूर्व नै हाँडीगाउँस्थित सत्यनारायण मन्दिरनजिकै सन् ५५० मा निर्माण गरिएको हिटी रहेको अध्ययनबाट देखिएको छ । तर, उक्त हिटी अहिले जीवित छैन । ‘हाँडीगाउँमा सबैभन्दा पुरानो हिटी रहेको अध्ययनले देखाउँछ, तर त्यो हिटी कहाँ थियो भन्ने पहिचान भएको छैन,’ जोशीले भने, ‘अहिले जीवित रहेकामध्ये मंगः हिटी सबैभन्दा पुरानो हो ।’ 

ढुंगेधाराबाट दिनमा खस्छ ८० लाख लिटर पानी, चाहिन्छ ४५ करोड लिटर

ढुंगेधाराविद् श्रेष्ठले मापन गरेको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका सबैजसो ढुंगेधाराबाट २४ घन्टामा ८० लाख लिटर पानी खस्छ । काठमाडौं उपत्यकाका खानेपानी लिमिटेड (केयुकेएल)का अनुसार उपत्यकामा दैनिक ४५ करोड लिटर पानी खपत हुन्छ । केयुकेएलले बर्खाका बेला दैनिक ४० करोड लिटर र हिउँदका बेला आठ हजार लिटर पानी वितरण गर्छ । उपत्यकावासीको मागअनुसार दैनिक ४५ करोड लिटर पानी चाहिन्छ । उक्त मात्रामा पानी ढुंगेधारामा आउन असम्भव रहेको ढुंगेधाराविद् श्रेष्ठको भनाइ छ ।

के कारणले सुके हिटी ? 
हिटी सुक्नुको मुख्य कारण सहरी जनघनत्वसँग सम्बन्धित छ । ढुंगेधाराविद् शुशिल श्रेष्ठका अनुसार हिटी सुक्नुको पहिलो कारण अण्डरग्राउण्ड बेसमेन्ट राखेर घर बनाउनु हो । यसले पानी बग्ने नली नै थुनिदिने गरेकोले हिटीमा पानी आउन छाडेको श्रेष्ठको बुझाई छ । राजकुलो र पोखरी लोप हुनु पनि ढुंगेधारा सुक्नुको कारण हो । हाल जथाभाबी इनार र बोरिङको पानी तान्दा जमिनको पानी रित्तिदै गएकोले ढुंगेधारामा पनि पानी आउन छाडेको श्रेष्ठले बताए । ‘जमिन सुख्खा हुन थालेपछि ढुंगेधारामा पानी आउन छाडेको पाइन्छ, जहाँजहाँ ढुंगेधारा छन् त्यहाँ त्यहाँ भवन बनाउन अण्डरग्राउण्ड बेसमेन्ट बसाल्न दिनु हुन्न,’ उनले भने ।

ढुंगेधाराको पानीले भित्री सहरलाई पनि थेग्दैन : सुशील श्रेष्ठ, ढुंगेधाराविद् 
उपत्यकामा जति पनि ढुंगेधारा छन्, ती सबै प्रयोगमा ल्याउँदा पनि यहाँको जनघनत्वलाई पानी पु¥याउन सकिँदैन । किनभने, यहाँको जनघनत्व निकै बढेको छ । अन्डरग्राउन्ड बेसमेन्टसहित यहाँका घरहरू बनेका छन् । जनघनत्व र घरधुरी बढेकै कारण पुराना ढुंगेधारामा पानी आउन नसकेको हो । मेरो अध्ययनअनुसार हाल ललितपुरको पाटन क्षेत्रमा मात्रै ६० वटाभन्दा बढी ढुंगेधारा छन् । तीमध्ये ९० प्रतिशतमा पानी आउँछ । त्यसबाट २४ घन्टामा ४० लाख लिटर पानी आउने गरेको छ । यो पानीले करिब पाँच हजार घरधुरीलाई पानी पुग्न सक्ने अनुमान गरिन्छ । हाल काठमाडौंको मुख्य सहर क्षेत्रमा दुई सय ९० वटा र भक्तपुरमा ८२ वटा ढुंगेधारा छन् । काठमाडौंका १० प्रतिशत ढुंगेधारामा पानी आउँछ भने भक्तपुरका ८ प्रतिशतमा मात्रै पानी आउने गरेको छ । हामीले गरेको अध्ययनअनुसार ललितपुरका सबैजसो ढुंगेधारामा चाहिँ पानी ल्याउन सम्भव छ । किनकि, यहाँका मुख्य सहरभित्र नयाँ घर धेरै बनेका छैनन् ।

५० प्रतिशत हिटीमा पानी ल्याउन सम्भव छ : पद्मसुन्दर जोशी, इन्जिनियर तथा हिटीका अनुसन्धानकर्ता
उपत्यकाभित्र रहेका हिटीको पानीले यहाँको जनसंख्यालाई भ्याउँदैन, तर यहाँ रहेकामध्ये ५० प्रतिशत हिटीलाई पानी आउन सक्ने बनाउन सम्भव छ । त्यसका लागि स्थानीय तथा सरकारी मिहिनेत आवश्यक पर्छ । सर्वप्रथम त हिटीको मूल कहाँ छ ? त्यसको पहिचान गर्न जरुरी छ । बुढापाकालाई सोधेर वा खोजेर भए पनि त्यसको मुहान पत्ता लगाउन सकियो भने ढुंगेधारामा पानी झार्न सकिन्छ । पहिले–पहिले जनसंख्या कम थियो । सीमित पानीले पुग्थ्यो । तर, अहिले उपत्यकाको जनसंख्या बढेकाले ढुंगेधाराको पानीले यहाँको जनसंख्यालाई पुग्दैन ।