१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङमा महिलाको नाममा घरजग्गा कारोबार गर्नेको संख्यामा वृद्धि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:५५:oo

लमजुङमा पछिल्लो समय महिलाको नाममा घरजग्गा कारोबार गर्नेको संख्यामा वृद्धि भएको छ । मालपोत कार्यालय लमजुङकाे रेकर्डअनुसार महिलाको नाममा घरजग्गा किनबेच गर्नेको संख्यामा वृद्धि भएको देखिएकाे छ । महिलाको नाममा घरजग्गा किनबेचमा २५ प्रतिशत छुटको व्यवस्था भएसँगै यो संख्यामा वृद्धि भएको हो ।

आर्थिक वर्ष ०७८/७९ मा जिल्लामा दुई हजार नाै सय १९ जनाले घरजग्गाको कारोबार गरेकोमा एक हजार एक सय ३६ जना महिलाको नाममा कारोबार भएको छ । यस्तै आर्थिक वर्ष ०७७/७८ मा एक हजार आठ सय ८२ जना महिलाको नाममा घरजग्गाको कारोबार भएको मालपोत कार्यालय लमजुङका प्रमुख ईश्वरकमल श्रेष्ठले बताए । उनका अनुसार आव ७६/७७ मा एक सय ५० जनाले घरजग्गा कारोबार गरेकोमा १५ वटा घरजग्गाको कारोबार महिलाको नाममा भएको छ ।

सरकारले महिला, दलित, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा नाबालक, सहिद परिवार, उद्योगधन्दालगायतका शीर्षकमा जग्गाको स्वामित्व लिँदा रजिस्ट्रेसन दस्तुरमा छुट दिने व्यवस्था गरेको छ । त्यसैले महिलाको स्वामित्वमा जग्गा पास गर्नेको संख्यामा वृद्धि भएको प्रमुख श्रेष्ठको भनाइ छ । महिलाको नाममा स्वामित्व हुने गरी जग्गा पास गरे २५ प्रतिशत छुट दिने व्यवस्था छ । यस्तो व्यवस्था लागू भएसँगै कार्यालयमा दम्पतीहरू कारोबारका लागि आउन थालेका छन् । 

एक वर्षमा मालपोतको साढे १० करोड राजस्व संकलन
मालपोत कार्यालय लमजुङमा आर्थिक वर्ष ०७८/७९ मा मात्रै १० करोड ६१ लाख ५२ हजार तीन सय ९० रुपैयाँ राजस्व संकलन भएको मालपोत कार्यालय लमजुङले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा भने १० करोड ३४ लाख १८ हजार ४६ रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो । कार्यालयका अनुसार आर्थिक वर्षभरिमा सबैभन्दा धेरै घरजग्गा लिखत रजिस्ट्रेसन शुल्कबाट राजस्व संकलन भएको छ ।

घरजग्गा लिखत दर्ताबाट मात्र ६ करोड २९ लाख ६५ हजार दुई सय ७९ रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ । एक वर्षको अवधिमा विभिन्न स्थानीय तहबाट आएका घरजग्गासम्बन्धी कारोबारबाट उक्त राजस्व रकम संकलन भएको मालपोत कार्यालय लमजुङका प्रमुख  श्रेष्ठले बताए । गत आर्थिक वर्षमा मात्रै दुई हजार नौ सय १९ वटा दर्ता भएको कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ ।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा पुँजीगत लाभकरतर्फ दुई करोड ६२ लाख ५६ हजार तीन सय ३२ रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी धितो रजिस्ट्रेसनतर्फ एक करोड ३९ लाख ३० हजार ६ सय २५ रुपैयाँ राजस्व संकलन भएको छ । सोबाहेक गत आर्थिक वर्षमा नामसारीतर्फ २३ लाख ६ सय २५ रुपैयाँ राजस्व संकलन भएको छ भने पुर्जा बिक्रीबाट ८३ हजार तीन सय २५ रुपैयाँ, विलम्ब शुल्कबाट तीन लाख आठ हजार ६ सय १५ रुपैयाँ, रोक्का प्रतिलिपि दस्तुरबापत तीन लाख सात हजार पाँच सय ३० रुपैयाँ राजस्व संकलन भएको छ ।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा महिला, दलित र वृद्ध छुटअन्तर्गत ९५ लाख ४६ हजार सात सय ९३ रुपैयाँ राजस्व छुट भएको छ । कार्यालयका अनुसार ९३ लाख २१ हजार दुई सय ३४ रुपैयाँ महिला छुट राजस्व रहेको छ भने एक लाख ४९ हजार २४ रुपैयाँ दलित र ७६ हजार पाँच सय ३५ रुपैयाँ वृद्ध छुट राजस्व रहेको छ ।
 

ad
ad