१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
कैलालीको गेटामा मेडिकल कलेजका लागि बनाइएका भौतिक संरचना । तस्बिर : तेजराज भट्ट/नयाँ पत्रिका
कमलराज भट्ट काठमाडौं
२०७९ भदौ ३ शुक्रबार ०८:३४:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गेटा मेडिकल कलेज चिकित्सा विश्वविद्यालयका रूपमा सञ्चालन गर्नुपर्ने संसदीय समितिको निष्कर्ष 

Read Time : > 2 मिनेट
कमलराज भट्ट, काठमाडौं
२०७९ भदौ ३ शुक्रबार ०८:३४:००

संसदीय अनुगमन टोलीले कैलालीको गेटा मेडिकल कलेजलाई चिकित्सा विश्वविद्यालयका रूपमा सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको छ । टोलीले निर्माणाधीन भौतिक पूर्वाधारलाई तत्काल पूर्णता दिँदै आवश्यक उपकरण र जनशक्ति व्यवस्था गरी तत्काल अस्पताल सेवा सञ्चालन गर्न सुझाव दिएको छ । 

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले १३ असारमा गेटा मेडिकल कलेजको स्थलगत अनुगमन भ्रमण गर्न योगेश भट्टराईको संयोजकत्वमा मानबहादुर विश्वकर्मा, चित्रलेखा यादव, नविना लामा र अञ्जना बिसंखे सदस्य तथा नारदमुनि राना र दीपकप्रकाश भट्ट आमन्त्रित सदस्य रहेको सात सदस्यीय संसदीय टोली गठन गरेको थियो । 

२६–२७ असारमा स्थलगत अनुगमन तथा अध्ययन भ्रमण गरेको टोलीले गेटालाई स्वास्थ्य शिक्षाको विषयगत विशिष्टीकरण हुने गरी चिकित्सा विश्वविद्यालयका रूपमा स्थापना र सञ्चालन गर्न सकिने आधार देखिएको निष्कर्ष निकालेको हो । नेपालमा भौगोलिक तथा विषयगत विश्वविद्यालय स्थापना र सञ्चालनको क्रम चलिरहेको सन्दर्भमा विकासको क्षेत्रीय सन्तुलन तथा स्थानीय जनसमुदायको भावनालाई समेत कदर गरेर जानुपर्ने टोलीको निष्कर्ष छ । अनुगमन टोलीले यस सम्बन्धमा शिक्षा मन्त्रालयलाई आवश्यक कार्य अघि बढाउन निर्देशन दिन उपयुक्त हुने सुझाव शिक्षा समितिलाई दिएको छ । 

देशभर सरकारी र निजी गरी २५ मेडिकल कलेज रहेको र सुदूरपश्चिममा एउटै मेडिकल कलेज नभएकाले गेटा मेडिकल कलेज सकेसम्म चाँडो सञ्चालनमा आउनु एकदमै मनासिव हुने टोलीको ठहर छ । सुदूरपश्चिममा हेल्थ साइन्स युनिभर्सिटी बन्नुपर्ने, शिक्षा मन्त्रालयले पूर्वाधार बनाउने र स्वास्थ्य मन्त्रालयलाई सञ्चालनको जिम्मा दिँदा उचित नहुने राय स्थानीय र बुद्धिजीवीको रहेको समितिको प्रतिवेदनमा उल्लेख छ । 

दीपकप्रकाश भट्ट आमन्त्रित सदस्य, शिक्षा तथा स्वास्थ्य समिति
कैलालीमै रहेको सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, बयलपाटा अस्पताल र डडेल्धुरामा रहेको संघीय अस्पतालका अन्य जिल्ला अस्पतालहरूलाई समेत विश्वविद्यालयअन्तर्गत आंगिक मेडिकल संस्थानका रूपमा सञ्चालन गर्न सकेमा त्यसले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मार्ने देखिन्छ

टोलीका आमन्त्रित सदस्य भट्टका अनुसार प्रतिवेदन समिति सभापतिलाई बुझाइसकिएको छ । सभापति जयपुरी घर्तीले प्रतिवेदनमाथि छलफल गरेर आवश्यक कार्य अघि बढाउन मन्त्रालयलाई निर्देशन दिइसकेको बताइन् । उनका अनुसार ३० साउनमा बसेको समिति बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेलले कलेज तत्कालै सञ्चालन गरिने र विश्वविद्यालय सञ्चालनका लागि मन्त्रालयले अध्ययन गरिरहेको जानकारी गराएका थिए ।  गोदावरी नगरपालिका– ५ गेटामा अवस्थित मेडिकल कलेजको ०६५ मा सम्भाव्यता अध्ययन भई संरचना निर्माणका लागि ०६६ मा मेडिकल कलेज संरचना निर्माण विकास समिति गठन भएको थियो । कलेजको भौतिक पूर्वाधार निर्माण आर्थिक वर्ष ०७०/७१ बाट सुरु भएको थियो ।

पूर्वाधार निर्माणमा शिक्षा मन्त्रालयले पाँच अर्बको बजेट खर्च गरिसकेको छ । कलेजलाई सुदूरपश्चिम विश्वविद्यालयको सम्बन्धन दिएर सञ्चालन गर्ने सरकारको नीति तथा कार्यक्रमअनुसार थप दुई–अढाइ अर्ब बजेट छुट्याइएको छ । पूर्वाधार निर्माणको काम ९० प्रतिशत पूरा भइसकेको र थप पूर्वाधारका लागि आधार बनिसकेको अवस्थामा पनि गेटा मेडिकल कलेज सञ्चालनमा नआएपछि स्थानीयले संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए । 

कञ्चनपुर– ३ बाट निर्वाचित सांसद दीपकप्रकाश भट्टले ९ असारमा शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीलाई निवेदन लेखेर गेटालाई राष्ट्रिय चिकित्सा विश्वविद्यालयका रूपमा स्थापनाको छलफलका लागि बैठक बोलाउन माग गरेका थिए । समितिले यो विषयमा छलफल गरी स्थलगत अनुगमनका लागि टोली खटाएको थियो ।

निरीक्षणका क्रममा संसदीय टोलीसँग धनगढीका मेयर गोपाल हमालले गेटा मेडिकल कलेजलाई चुनावी फन्डा नबनाई सकेसम्म चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउनुपर्ने सुझाव दिएका थिए । गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले सुदूरपश्चिममा मेडिकल कलेज बने यस क्षेत्रका बासिन्दाले सामान्य बिरामी हुँदा पनि भारत जानुपर्ने समस्याबाट मुक्त हुने भएकाले सो कार्य सकेसम्म चाँडो अगाडि बढाउनुपर्ने माग गरे । 

सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिस्ट्रार डा. हेमराज पन्तले मेडिकल कलेजका लागि मुलुककै सबैभन्दा बढी र आधुनिक संरचना गेटामा बनेकाले यसलाई विश्वविद्यालयकै रूपमा स्थापना गरी शिक्षा मन्त्रालयले नै सञ्चालन गर्दा उपयुक्त हुने बताए । नागरिक समाजका अगुवा डा. केदारचन्द्र भट्टले गेटा मेडिकल कलेजको पूर्वाधारले मेडिकल कलेज बन्ने सम्पूर्ण योग्यता पार गरिसकेकाले मेडिकल कलेज सञ्चालनमा ढिला गर्न नहुने सुझाव दिएका छन् । निर्देशक डा. प्रमोद जोशीले मेडिकल विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान वा मेडिकल कलेज जुन मोडेलमा गए पनि पहिले अस्पताल सञ्चालनमा ल्याउनुपर्ने सुझाव दिएका थिए । साथै, मेडिकल कलेज खोल्नका लागि तीन सय शड्ढयाको अस्पताल तीन वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्ने अनिवार्य प्रावधान रहेका कारण पहिले अस्पताल सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यकारी निर्देशक हेमराज पुजाराले सरकारले उपकरण र जनशक्तिको व्यवस्थापन चाँडो गरिदिए मेडिकल कलेज पनि चाँडै सञ्चालनमा आउन सक्ने बताए । मेडिकल विश्वविद्यालयका लागि निर्माण गरिएको संघर्ष समितिका संयोजक लोकराज पाण्डे, प्रदेश सांसद, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतले गेटालाई चिकित्सा विश्वविद्यालयका रूपमा स्थापना गरी सञ्चालन गर्नुपर्ने माग गरेका थिए । 

निवेदक सांसद भट्टले गेटालाई चिकित्सा विश्वविद्यालय बनाउँदा यसले सुदूरपश्चिमको स्वास्थ्य सेवामा ठूलो योगदान हुने बताए । ‘कैलालीमै रहेको सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, बयलपाटा अस्पलात र डडेल्धुरामा रहेको संघीय अस्पतालका अन्य जिल्ला अस्पताललाई समेत विश्वविद्यालयअन्तर्गत आंगिक मेडिकल संस्थानका रूपमा सञ्चालन गर्न सकेमा त्यसले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मार्ने देखिन्छ,’ उनले भने । यसबाट जनशक्ति उत्पादनदेखि नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने उनको भनाइ छ ।