मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ भदौ २ बिहीबार २२:४५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सुदूरपश्चिममा काेराेना संक्रमणा बढ्दै

प्रदेशमा सक्रिय संक्रमितको संख्या चार सय ६६ पुग्यो, दार्चुलाबाहेक सबै जिल्लामा संक्रमण

Read Time : > 1 मिनेट
२०७९ भदौ २ बिहीबार २२:४५:००

सुदूरपश्चिम प्रदेशमा पछिल्ला केही दिनयता कोरोना संक्रमण दर बढेको छ । भारतबाट स्वदेश फर्कनेसँगै समुदायमा रहेका व्यक्तिमा पनि संक्रमण देखिन थालेको हो । प्रदेशमा हाल सक्रिय संक्रमितको संख्या चार सय ६६ छ ।

साउन पहिलो साताबाट संक्रमण देखिन थालेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार केही दिनसम्म कैलाली, कञ्चनपुरमा मात्रै कोरोना संक्रमण देखिएको थियो, तर अहिले दार्चुलाबाहेक बाँकी सबै जिल्लामा सक्रिय संक्रमित छन् । संक्रमितमध्ये ६ जना अस्पताल भर्ना भएका निर्देशनालयले जनाएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत पाँच संक्रमितमध्ये एकजनालाई भेन्टिलेटर र एकलाई आइसियूमा राखिएको छ ।

पछिल्लो २४ घन्टामा प्रदेशभरि ६१ जनामा संक्रमण देखिएको निर्देशनालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । संक्रमित देखिनेमध्ये भारतबाट फर्कनेको संख्या पनि धेरै छ । बुधबार संक्रमण देखिएका ६१ मध्ये ४१ जना भारतबाट फर्केका हुन् । गौरीफन्टा नाकामा परीक्षण गर्दा २१ जनामा, गड्डाचौकीमा १९ जना र झुलाघाट नाकामा एकजनामा संक्रमण देखिएको हो । मंगलबार ४५ र सोमबार सयजनामा संक्रमण पुष्टि भएको थियो ।

कैलालीमा सबैभन्दा बढी दुई सय ४० र कञ्चनपुरमा एक सय ८९ जना सक्रिय संक्रमित छन् । अहिले भारतबाट फर्कने व्यक्तिमा पनि संक्रमण पुष्टि बढ्दो छ । तर, तथ्यांक हेर्दा त्योभन्दा बढी संख्यामा यहाँ रहेकै व्यक्तिमा कोरोना पुष्टि भइरहेको देखिन्छ ।

कोरोना संक्रमण दर बढ्न थाले पनि स्वास्थ्यमा जटिलता देखिएर उपचारका लागि अस्पताल भर्ना हुनेको संख्या भने विगतको तुलनामा न्यून छ । अहिले मृत्यु हुने दर पनि कम देखिएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले परीक्षण गर्दा कोरोना संक्रमण देखिने दर बढे पनि अस्पताल भर्ना हुनेको संख्या भने न्यून रहेको बताए । संक्रमितलाई स्वास्थ्यमा जटिलता नदेखिएको उनले बताए । 

प्रदेश स्वास्थ्य निर्देशक डा. जगदीश जोशीले संक्रमण फैलन नदिनका लागि सचेतना बढाउनेसँगै परीक्षणलाई बढाइएको बताए । महामारी फैलिएको अवस्थामा त्यससँग जुध्न अस्पतालहरूमा अक्सिजन प्लान्ट, भेन्टिलेटर, शड्ढया, जनशक्ति थप्नेलगायत काम भएको उनले बताए । संक्रमण बढ्दै गए पनि स्वास्थ्य सावधानी भने अपनाएको पाइँदैन ।  सुदूरपश्चिममा हालसम्म पाँच लाख ७४ जनामा परीक्षण गर्दा ६१ हजारमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयको तथ्यांक छ । प्रदेशमा कोरोना संक्रमित ६ सय ३४ जनाले ज्यान गुमाएका छन् ।