Skip This
सात करोडको जग्गा ठगी प्रकरण : १२ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार o६:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सात करोडको जग्गा ठगी प्रकरण : १२ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o६:५५:oo

जग्गाधनीलाई थाहै नदिई कलंकीको ११ आना जग्गा बिक्री प्रकरणमा १२ जनाविरुद्ध काठमाडाै‌ं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । प्रहरी अनुसन्धानका आधारमा ठगी र सरकारी लिखत किर्ते तथा संगठित अपराध गरी दुईवटा मुद्दा आइतबार दर्ता भएको हो । भूमाफिया गिरोहले जापान बस्दै आएकी शान्तादेवी लोहनीको मृत्युदर्तासहितका सबै कागजपत्र नक्कली बनाएर उनको ११ आना जग्गा बिक्री गरेका थिए । जुन घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान सकेर गत साता रायसहितको प्रतिवेदन अदालतमा बुझाएको थियो । सोही आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा दर्ता गरेको हो । 

ठगीमा १० तथा सरकारी लिखत किर्ते तथा संगठित अपराधमा १२ जनालाई प्रतिवादी बनाई मुद्दा दर्ता भएको सिआइबीका प्रवक्ता एसपी कमल थापाले बताए । सातजनालाई पक्राउ गरेरै प्रहरीले उपस्थित गराएको छ ।

गिरोहका मुख्य योजनाकार सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ घर भई ललितपुर बस्ने गणेशबहादुर खनाल र सोलुखुम्बु थुलुङ दूधकोसी–१ घर भई बुढानीलकण्ठ बस्ने बाबुराम कार्की तथा उनीहरूका सहयोगी दार्चुला घर भई टोखा बस्ने महावीर चन्द, नुवाकोट घर भई वनस्थली बस्ने प्रेमप्रसाद खनाल र वनस्थलीकी ममता भन्ने डासीमाया श्रेष्ठलाई सिआइबीले असारको पहिलो साता पक्राउ गरेको थियो । 

नक्कली कागजपत्रका आधारमा जग्गा खरिद गर्ने सुनिता कर्माचार्य तथा नक्कली छाप बनाउने प्रेमकाजी श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । सोही गिरोहका राजन सापकोटालगायत अन्य बिचौलियालाई फरार प्रतिवादीका रूपमा अभियोग अघि बढाइएको छ । जग्गा किन्ने महर्जन आफैँ पनि सो घटनाबाट पीडित हुन् ।

आफूमाथि ठगी भएको भन्दै उनले पनि पक्राउ परेका गिरोहउपर कारबाहीको जाहेरी दिएकी छन् । घटनामा मालपोतका कर्मचारीको मिलेमतो नभएको सिआइबीको निष्कर्ष छ । मालपोत लेखापढी व्यवसायी पक्राउ नपरेकाले पनि कर्मचारीको प्रस्ट संलग्नता पुष्टि हुन नसकेको हो । सो गिरोहले जग्गाधनी शान्तादेवी विदेशमा रहेको थाहा पाएपछि नक्कली लालपुर्जा तथा नागरिकतालगायत कागजपत्र किर्ते गरी सोही आधारमा जग्गा बिक्री गरिदिएका हुन् । १५ पुस ०७७ मा जग्गा शान्तादेवीको नामबाट उनका श्रीमान् (नक्कली) तारानिधि लोहनीको नाममा लगिएको थियो । श्रीमतीको मृत्युपछि प्रमुख हकदार श्रीमान् हुने भएकाले उनीहरूले यस्तो योजना बनाएका थिए । तारानिधि पनि पत्नीसँगै जापानमा बस्दै आएका छन् । 

तारानिधिको नाममा नामसारी गरेको दुई महिनापछि कर्माचार्यलाई ११ आना जग्गा तीन करोड ७० लाख रुपैयाँमा बिक्री गरिएको थियो । जबकि, यो जग्गाको बजार मूल्य करिब सात करोड पर्छ । सुनिताले जग्गा एनसिसी बैंकमा राखेर कर्जा निकालेकी थिइन् । 

थप तीन जिल्लामा छानबिन 
सो गिरोहमाथि थप तीन जिल्लामा पनि अनुसन्धान हुने भएको छ । मकवानपुर, चितवन र पूर्वी नवलपरासीमा पनि काठमाडौंमा जस्तै उनीहरूले जग्गाधनीलाई थाहा नै नदिई जग्गा बिक्रीको प्रयास गरिरहेको अनुसन्धानमा खुलेको छ । प्रहरीले समयमै पक्राउ गर्दा ती जग्गा भने जोगिएका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मुद्दा दर्ता गरी गिरोहका सदस्यहरूको बयान लिइसकेको छ । सिआइबीले चितवन र नवलपरासीमा पनि उनीहरूले गरेको किर्तेको फाइल थप अनुसन्धानका लागि पठाएको छ । खाली जग्गाको बारेमा बुझ्ने र धनी टाढा बस्ने गरेको थाहा भएमा त्यस्ता जग्गालाई उनीहरूले आफ्नो निसानामा पार्दै आएको प्रहरीले जनाएको छ । 

ad
ad