१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एमी गुनिया
२०७९ श्रावण २९ आइतबार १०:१७:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिका–चीन तनाव  र जलवायु अभियान

देश/परदेश

Read Time : > 2 मिनेट
एमी गुनिया
२०७९ श्रावण २९ आइतबार १०:१७:००

जलवायु एजेन्डा अहिले राजनीतिको एक खतरनाक नयाँ मार्गमा पुगेको छ र विश्वकै दुई ठूला हरितगृह ग्यास उत्सर्जनकर्ताबीच संवाद बन्द हुनु चिन्ताजनक छ

हालै चीन र अमेरिकाबीचको तनाव बढ्दै गएपछि जलवायु परिवर्तनसम्बन्धी यी महाशक्तिका दीर्घकालीन सहयोगको स्थायित्वमाथि मैले विचार गरिरहेकी छु । रुसले युक्रेनमा आक्रमण गरेको केही सातापछि मैले अप्रिलमा प्रमुख जलवायु कूटनीतिज्ञ जोन केरीलाई एक अन्तर्वार्तामा यदि चीनले क्रेमलिनको आक्रमणलाई समर्थन गरेको खण्डमा के वासिंगटन र बेइजिङले जलवायु परिवर्तनविरुद्धको लडाइँमा सहकार्य जारी राख्न सक्लान् भनेर प्रश्न गरेकी थिएँ । 

उनको जवाफ खासै सकारात्मक थिएन । ‘हामीले केही जुम बैठक गरेका छौँ र मुद्दा कत्तिको अन्तरसम्बन्धित हुनेछन् भनेर निर्धारण गर्न सक्रिय रूपमा प्रयास गरिरहेका छौँ,’ केरीले भनेका थिए । र, यो सहकार्य ५ अगस्टमा तब समाप्त भयो, जब बेइजिङले अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान (चीनले ताइवानलाई आफ्नो विद्रोही प्रान्त मान्छ) भ्रमणपछि अमेरिकासँग जलवायु वार्ता रोक्ने घोषणा गर्‍यो ।

जलवायु एजेन्डा अहिले राजनीतिको एक खतरनाक नयाँ मार्गमा पुगेको छ र विश्वकै दुई ठूला हरितगृह ग्यास उत्सर्जनकर्ताबीच संवाद बन्द हुनु चिन्ताजनक छ । चीनको प्रविधि निर्यातको निर्भरतालाई ध्यानमा राख्दै गर्दा यी दुई मुलुकबीचको फाटोले अमेरिकी स्वच्छ ऊर्जा संक्रमणलाई थप कठिन बनाउन सक्छ । र, यसले जलवायु परिवर्तनलाई रोक्ने विश्वव्यापी प्रयासलाई पनि असर गर्न सक्छ ।

सँगै काम गर्दा मुलुकहरूले सन् २०१५ को पेरिस सम्झौताका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउनेजस्ता महत्वपूर्ण उपलब्धि हासिल गरेका छन् । त्यसबाहेक सरकारहरूले गत वर्ष कोप–ट्वान्टीसिक्स शिखर सम्मेलनमा मिथेन उत्सर्जन कम गर्न सँगै काम गर्ने घोषणा गरेका थिए । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेप्टेम्बर २०२१ मा देशले विदेशी कोइला परियोजनामा लगानी गर्न बन्द गर्ने घोषणा गरेका थिए र यो प्रतिबद्धता केही विशेषज्ञका अनुसार अन्तर्राष्ट्रिय सहयोगविना हासिल हुने देखिँदैन । बेइजिङ, ग्रिनपिस पूर्वी एसियाका ली सुओले भनेका थिए, ‘मलाई चीनले स्वेच्छिक रूपमा अर्थात् अन्तर्राष्ट्रिय संलग्नता विशेषतः अमेरिकी संलग्नताविना प्रतिबद्धता गरेको थियो भन्ने लाग्दैन ।’ ‘विगतका दशकमा अमेरिका–चीन जलवायु अन्तत्र्रिmयाबारे कुरा गर्दा सहयोग र संलग्नताको धेरै किस्सा छन्,’ ली बताउँछन् । ‘यदि हामी थप द्वन्द्व, प्रतिद्वन्द्विता वा विग्रह ल्याउन खोजिरहेका छौँ भने विश्वव्यापी जलवायु एजेन्डालाई अगाडि बढाउन सकिन्छ भन्ने मलाई लाग्दैन,’ ली थप्छन् । 

तर, यसको अर्थ यी दुवै राष्ट्रले आफ्नो घरेलु दायित्व पूरा गर्न छाड्नेछन् भन्ने होइन । सन् २०२१ मा चीनको कीर्तिमानी कोइला उत्पादनका बाबजुद बेइजिङले सन् २०३० बाट कार्बन उत्सर्जन घटाउने र सन् २०६० सम्ममा शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्ने वाचा गरेको छ । चीनले अन्य राष्ट्रका तुलनामा अत्यधिक मात्रामा नवीकरणीय ऊर्जा क्षमताको विकास गरिरहेको छ र ब्याट्री तथा इलेक्ट्रिक कारजस्ता महत्वपूर्ण हरित प्रविधिमा चीन अगाडि छ । बेइजिङले आर्थिक वृद्धि र ऊर्जा सुरक्षालाई पछ्याउँदै वातावरणीय रूपमा सचेत हुँदै गएको जनसंख्याका लागि काम गरिरहेकाले उसले वातावरणअनुकूल प्रविधिलाई अब नकार्ने सम्भावना छैन । ९ अगस्टमा अमेरिकाका लागि चिनियाँ राजदूत छिन ग्याङले ट्विटरमा चीन आफ्नो जलवायु लक्ष्यमा समर्पित रहिरहनेछ भन्ने बताएका थिए ।

अमेरिका मुद्रास्फीति न्यूनीकरण ऐन (इन्फ्लेसन रिडक्सन एक्ट) बाट नवीकरणीय ऊर्जा प्रविधिको घरेलु उत्पादन बढाउन तत्पर देखिन्छ । तर, यो लक्ष्य रातारात सम्भव हुनेछैन । अमेरिका यसबीच सौर्य ऊर्जाका लागि चाहिने उत्पादनका लागि अझै पनि चीनमा निर्भर छ । ‘चीनसँग विश्वकै सबैभन्दा बढी सौर्य ऊर्जा हार्डवेयर उत्पादन क्षमता छ र त्यहाँ सबैभन्दा ठूलो विद्युतीय वाहनको बजार छ । यसबाहेक चीनले विश्वको ब्याट्री उत्पादनको ठूलो हिस्सा ओगट्छ र चिनियाँ वायु टर्वाइन कम्पनीले देशभित्र र बाहिर प्रशस्त नाफा कमाउँदै आएका छन् । यस अवस्थामा आफैँलाई घाटा हुने गरे चीनले अमेरिकासँग सम्बन्धविच्छेद गर्नेछ भन्न गाह्रो छ,’ हङकङस्थित इन्स्टिच्युट फर इनर्जी इकोनोमिक्स एन्ड फाइनेन्सिअल एनलाइसिसका ऊर्जा लगानी विश्लेषक नर्मन वेट बताउँछन् ।

जर्ज टाउन विश्वविद्यालयका विज्ञान, प्रविधि र अन्तर्राष्ट्रिय मामिला विभागकी प्रमुख जोआना लुइसका अनुसार अन्तर्राष्ट्रिय सहयोग अहिले पहिलेभन्दा बढी महत्वपूर्ण छ । ‘अमेरिका र अन्य राष्ट्रले स्वच्छ ऊर्जा उद्योग निर्माण गर्ने मनसाय व्यक्त गरिरहेका छन् र यस अवस्थामा ऊर्जा क्षेत्रलाई कार्बनमुक्त बनाउने समय घर्किंदै गइरहेको छ,’ लुइस बताउँछिन् । चीन र अमेरिकाबीच तनाव बढ्यो भने ऊर्जा प्रतिस्थापनमा थप अप्ठ्यारा निम्तिन सक्छन् । पेलोसीले ताइवान भ्रमण गर्नुभन्दा पहिल्यै चीनप्रति अमेरिकाको बढ्दो द्वेषले आपूर्ति शृंखला अवरुद्ध पारेको थियो र केहीले यसले अमेरिकी व्यवसाय र उपभोक्ताका लागि राम्रो नहुने दाबी गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले घरेलु व्यवसायलाई समर्थन गर्ने प्रयासमा फेबु्रअरीमा केही चिनियाँ सौर्य ऊर्जा वस्तुमा ट्रम्पकालीन करलाई जारी राखेका छन् । वाल स्ट्रिट जर्नलका अनुसार हालैका सातामा अमेरिकी भन्सार अधिकारीले जबर्जस्ती श्रममा लगाइएको भन्दै सिन्जियाङ क्षेत्रबाट आयातमा प्रतिबन्ध लगाउने नियम लागू गर्ने प्रयास गरिरहेको छ र यस क्रममा केही चिनियाँ सौर्य प्यानल उत्पादकबाट ढुवानी रोकेका वा फिर्ता पठाइएका छन् । 

मानवअधिकारका मुद्दालाई बेवास्ता नगरी अमेरिका र चीन दुवैले जलवायु परिवर्तनमा सँगै काम गरेर विश्वलाई बाँच्नयोग्य बनाउनुपर्छ । युनिभर्सिटी अफ क्यालिफोर्निया स्यानडिएगोका इन्जिनियरिङ र नीतिका सहायक प्राध्यापक माइकल डेभिडसनले भनेझैँ ‘द्विपक्षीय तनावले कुनै पनि देश अथवा विश्वमै कार्बन उत्सर्जन कम गर्ने क्षमतालाई अपूरणीय क्षति नपुगोस् भन्ने सुनिश्चितताका लागि व्यापार, आपूर्ति शृंखला र प्राविधिका क्षेत्रमा जलवायुसम्बन्धी अमेरिका–चीन संलग्नताको टड्कारो आवश्यकता छ ।’

(गुनिया टाइमकी पत्रकार हुन्) 

टाइमबाट