१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ श्रावण २९ आइतबार ०६:५६:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

टिकटका लागि कांग्रेसमा रस्साकस्सी सुरु

Read Time : > 3 मिनेट
२०७९ श्रावण २९ आइतबार ०६:५६:००

संस्थापनमाथि दबाब बनाउने इतर समूहको रणनीति, न्यायोचित वा ४० प्रतिशत टिकट माग

पाँचदलीय कार्यदलले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट बाँडफाँटसम्बन्धी प्रस्ताव बनाउन काम गरिरहेका वेला कांग्रेसको संस्थापनइतर समूहले संस्थापन पक्षबाट दबाब बनाउन सुरु गरेको छ । इतर समूहले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा न्यायोचित वा ४० प्रतिशत टिकट आफ्नो पक्षले पाउनुपर्ने माग राखेको छ । 

डा. शेखर कोइराला र महामन्त्री गगन थापा नेतृत्वको संस्थापनइतर समूहका दोस्रो तहका नेताको भेलाले अस्तित्व रक्षाका लागि पार्टीभित्र अन्तरसंघर्ष आवश्यक रहेको निष्कर्ष निकालेको छ । शनिबार भएको भेलाले पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो विचार समूहलाई बेवास्ता गरेको निष्कर्ष निकाल्दै अन्तरसंघर्षको चेतावनी दिएको हो । नेता गुरुराज घिमिरेले पार्टी नेतृत्वबाट न्यायोचित निर्णय हुने अवस्था नरहेको भन्दै महाधिवेशनको नतिजाअनुसार ४० प्रतिशत न्यायोचित सहभागिताका लागि संघर्ष गर्ने बताए । उनले १४औँ महाधिवेशन सम्पन्न भएको आठ महिनासम्म पनि सभापति देउवाले प्रतिस्पर्धी समूहलाई निर्णय प्रक्रियामा नसमेट्नुले आशंका उब्जिएको बताए । 

इतर समूहले आगामी निर्वाचनमा टिकट वितरणमा मनोमानी हुन सक्ने भन्दै सभापति देउवाविरुद्ध दबाब दिएको हो । ‘पार्टीभित्र न्यायोचित भूमिकाको विषय उठाउँदै आएका छौँ । महाधिवेशनको आठ महिनासम्म पनि कुनै निर्णय प्रक्रियामा प्रतिस्पर्धी समूह समेटिएको छैन,’ घिमिरेले भने, ‘सभापतिले प्रतिस्पर्धी समूहलाई राष्ट्रिय सभा निर्वाचनदेखि आजसम्म कतै समेट्नुभएको छैन । भ्रातृ संस्थाको गठनमा पनि समेटिएको छैन । सभापतिले न्यायोचित निर्णय गर्नुहुन्न भने हामीलाई ४० प्रतिशत चाहिन्छ ।’ 

गुरुराज घिमिरे, नेता, कांग्रेस

पार्टीभित्र न्यायोचित भूमिकाको विषय उठाउँदै आएका छौँ । महाधिवेशनको आठ महिनासम्म पनि कुनै निर्णय प्रक्रियामा प्रतिस्पर्धी समूह समेटिएको छैन । सभापतिले प्रतिस्पर्धी समूहलाई राष्ट्रिय सभा निर्वाचनदेखि आजसम्म कतै समेट्नुभएको छैन । भ्रातृ संस्थाको गठनमा पनि समेटिएको छैन । सभापतिले न्यायोचित निर्णय गर्नुहुन्न भने हामीलाई ४० प्रतिशत चाहिन्छ ।

भेलाको संयोजन गरेका कांग्रेस नुवाकोटका पूर्वसभापति जगदीश्वरनरसिंह केसीले महाधिवेशनपछिका एक दर्जन निर्णयमा प्रतिस्पर्धी समूहलाई सभापतिले नसमेटेको दाबी गरे । उनले सभापतिले पार्टीभित्र अभिभावकीय भूमिका खेल्न नसकेको आरोप लगाए । ‘राष्ट्रिय सभाको निर्वाचन, स्थानीय तह निर्वाचन, केन्द्रीय समिति सदस्य मनोनयन, भ्रातृ संस्थाको अध्यक्ष मनोनयनमा प्रतिस्पर्धी समूहसँग सल्लाह नै गरिएन । समेट्दा पनि समेटिएन,’ उनले भने, ‘यसबाट के बुझियो भने आगामी संसदीय निर्वाचनमा पनि उहाँले न्यायोचित निर्णय गर्नुहुन्न । न्यायोचित निर्णय गर्नुहुन्न भने ४० प्रतिशत चाहिन्छ । सभापतिको अभिभावकीय ठाउँबाट सोच्नुभएन । अब अस्तित्वको लडाइँ लड्नुपर्ने भयो ।’ 

इतरले राष्ट्रिय भेलाको पूर्वतयारीस्वरूप भेला गरिएको जानकारी दिएको छ । भेलामा प्रतिमा गौतम, मधु आचार्य, गुरुराज घिमिरे, प्रकाश रसाइली स्नेही, मनोजमणि आचार्य, केशव सिंह, रञ्जित कर्ण, सुवास पोख्रेल, डिल्लीराम सुवेदी, गोमा केसी र कुसुम थापालगायतका नेता सहभागी थिए । 

यसअघि, गत १७ असारमा गौशालामा बसेको इतर समूहको भेलाले स्थानीय निर्वाचनको टिकट वितरणमा आफ्नो समूहलाई बेवास्ता गरिएको निष्कर्षसहित प्रधानमन्त्री एवं सभापति देउवाको भूमिकामाथि प्रश्न उठाएको थियो । केन्द्रीय समिति बैठकमा आफ्ना एजेन्डा सशक्त रूपमा राख्न असार २५ र २६ मा डा. शेखर कोइराला, महामन्त्री गगन थापा, उपसभापति धनराज गुरुङसहितका पदाधिकारी र नेताको बैठक बसेको थियो । भेलाले नेतृत्वविरुद्ध दबाबको राजनीति सुरु गर्ने निर्णय गरेको थियो । यस विषयमा २७ असारदेखि २ साउनसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकमा पनि इतर समूहले सशक्त आवाज उठाएको थियो । इतरको भेलाको विषयमा बैठकमा संस्थापन र इतरबीच आरोप–प्रत्यारोपसमेत हुन पुगेको थियो ।

१० देखि २४ भदौसम्म कांग्रेसको चुनावी अभियान 
कांग्रेसले १० देखि २४ भदौसम्म १४ दिने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलक्षित चुनावी अभियान थाल्ने भएको छ । शनिबार सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले यस्तो निर्णय गरेको होे । 

सहमहामन्त्री भीष्मराज आङदेम्बेका अनुसार यसअघि साउन २ मा केन्द्रीय कार्यसमिति बैठकले २ देखि २४ भदौसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, पार्टीको आन्तरिक कारणले परिमार्जन गरी १४ दिन मात्रको अभियान सञ्चालन गर्ने निर्णय भएको उनले जानकारी दिए ।

‘आगामी प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनकेन्द्रित राष्ट्रव्यापी अभियानको पूर्वनिर्धारित मितिलाई परिमार्जित गरेर भदौ १० देखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरिएको छ,’ उनले भने, ‘३० र ३१ साउनमा देशभरका स्थानीय तहका जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । यसबाहेक आन्तरिक कारणले पनि २ भदौको निर्धारित कार्यक्रमलाई परिमार्जन गरिएको हो ।’

कांग्रेसले राष्ट्रव्यापी अभियान भनेर अभियान घोषणा गरे पनि अभियानको नाम भने तय गरिसकेको छैन । कार्यसम्पादन समिति बैठकले प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत कांग्रेसका तर्फबाट तय हुने उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी सभापति देउवालाई दिएको छ । 

त्यस्तै, निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ताको जिम्मा मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिएको छ । साथै, निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारीका लागि उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीका निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालयमार्फत निर्देशन दिने निर्णयसमेत कार्यसम्पादन समिति बैठकले गरेको छ । 

सहमहामन्त्री आङदेम्बेले बैठकमा सत्तागठबन्धनमा सिट बाँडफाँटमा कांग्रेसले गर्ने दाबी र रणनीति विषयमा भने बैठकमा छलफल नभएको बताए । कार्यसम्पादन समिति सदस्य अर्जुननरसिंह केसीले पनि निर्वाचन प्रयोजनका लागि आवश्यक औपचारिक निर्णय मात्र भएको जानकारी दिए । ‘निर्वाचन प्रयोजनका लागि दल दर्तालगायतका औपचारिक निर्णयबाहेक बैठकमा ठूला निर्णय र छलफल भएन,’ उनले भने ।

कांग्रेस सूचना अधिकारी केशव रिजालका अनुसार अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने तयारी भइरहेको छ । त्यस्तै, केन्द्रीय प्रतिनिधिका लागि कार्यादेश तयार गरेर टोलदेखि जिल्ला तहसम्मको कायक्रमको रूपरेखा तयार गर्न जिम्मेवारी दिन लागिएको छ । ‘७७ वटै जिल्लामा कार्यादेशसहित केन्द्रीय प्रतिनिधि खटाउन लागिएको छ । कार्यादेश बन्ने क्रममा छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘अभियानको उद्देश्य विशेष गरी निर्वाचनमा मत माग्न जानुअघि त्यहाँको वस्तुस्थिति बुझ्नु र मतदातालाई जागरूक बनाउनु हुनेछ ।’ 

साेमबारबाट स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण 
कांग्रेसले साेमबारबाट देशभरका स्थानीय तहका जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिने भएको छ । उपसभापति पूर्णबहादुर खड्का संयोजक रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ३० र ३१ साउनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागेको हो ।

मुख्यसचिव पौडेलका अनुसार कांग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख तथा स्थानीय तहका प्रमुख र उपप्रमुखलाई पार्टी कार्यालय सानेपामा प्रशिक्षित गर्न लागेको हो । कार्यक्रममा कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवाले सम्बोधन गर्नेछन् । 

देशभरबाट जनप्रतिनिधिहरू काठमाडौंमा भेला भइसकेका छन् । स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट २९३ प्रमुख, १८८ अध्यक्ष, ११० उपप्रमुख र १९० उपाध्यक्षमा जित हासिल गरेको थियो । साथै, जिससतर्फ ३४ जिल्लाको अध्यक्ष र २३ उपाध्यक्ष निर्वाचित भएको कांग्रेसले जनाएको छ ।