
नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर काठमाडौं आइपुगेका छन् । उनी शनिबार साँझ काठमाडौं ओर्लिएका हुन् । मुख्य प्रशिक्षक प्रभाकरलाई क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा पुगेर स्वागत गरेका छन् ।
विमानस्थलबाट बाहिरिँदै गर्दा मुख्य प्रशिक्षक प्रभाकरले नेपाली क्रिकेट र खेलाडीबारे आफू जानकार रहेको बताउँदै केही समयमा परिवर्तन देखिने गरी काम गर्ने प्रतिक्रिया दिएका छन् । उनले आफ्नो क्रिकेटको अनुभवले नेपाली क्रिकेट खेलाडीलाई अरूभन्दा फरक तरिकाले प्रशिक्षण दिन सक्ने बताए । आफूले सजिलोको लागि जिम्मेवारी नलिएको भन्दै नेपाललाई अन्तर्राष्ट्रियस्तरको टिम बनाउन सक्दो मेहनत गर्ने बताए ।
पुबुदु दासानायकेले राजीनामा दिएपछि क्यानले प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । प्रभाकरसँग क्यानले एक वर्षको सम्झौता गरेको बताएको छ । भारतका पूर्वअलराउन्डर प्रभाकर रणजी ट्रफी विजेता प्रशिक्षक हुन् । मुख्य प्रशिक्षकका रूपमा प्रभाकरको पहिलो प्रतियोगिता केन्याविरुद्ध हुने भएको छ ।