निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १८ मंगलबार
  • Tuesday, 04 October, 2022
काबुलको भूमीगत विद्यालयमा कक्षा लिँदै अफगानी बालिका । तस्बिर : एपी
२०७९ श्रावण २७ शुक्रबार १७:११:००
Read Time : > 3 मिनेट
विश्व डिजिटल संस्करण

विद्यालय शिक्षाबाट वञ्चित दशौँ हजार अफगान बालिकाको भविष्य अनिश्चित

Read Time : > 3 मिनेट
२०७९ श्रावण २७ शुक्रबार १७:११:००

अफगानिस्तानको शासन व्यवस्था तालिबानले सम्हालेको एक वर्ष भयो । एक वर्षदेखि देशका अधिकांश किशोर–किशोरीले कक्षाकोठामा पाइला राख्न पाएका छैनन् । महिलाप्रतिको तालिबानको कठोर निर्णयले विशेष गरी किशोरीहरू विद्यालय शिक्षाबाट वञ्चित भएका छन् । सत्तारूढ तालिबानले उनीहरूलाई विद्यालयमा फर्कन अनुमति दिने कुनै संकेत नदेखाएकाले केही समाजसेवीले किशोरी पुस्ताको शिक्षालाई निरन्तरता दिने उपाय खोजिरहेका छन् ।

काबुलको एउटा घरमा सोदाबा नाजहन्दले भूमिगत रूपमा स्थापना गरेको अनौपचारिक विद्यालयमा पढ्न दर्जनौँ बालिका भेला भएका छन् । सोदाबा र उनकी बहिनी माध्यमिक विद्यालयका ती बालिकाहरूलाई अंग्रेजी, विज्ञान र गणित पढाउँछिन् । महिलाहरूको शिक्षा र काम गर्न पाउने अधिकार खोस्ने तालिबानलाई गतिलो जवाफ दिन  सोदाबाले बालिकाहरूलाई पढाएर त्यो कठोर निर्णयविरुद्ध आफू खडा भएको बताइन् । छ कक्षासम्मका किशोरीलाई विद्यालय जानबाट तालिबानले प्रतिबन्ध लगाएपछि भूमिगत रूपमा उनले अनौपचारिक विद्यालय सञ्चालन गरेकी हुन् । 

तालिबानले महिलाहरूलाई विश्वविद्यालय जान अनुमति दिए पनि उच्च माध्यमिक विद्यालयबाट उत्तीर्ण भएका किशोरी नहुँदा त्यो अनुमति अप्रासंगिक भएको उनको ठम्याइ छ । विश्वविद्यालय र माध्यमिक विद्यालयबीचको विशाल रिक्ततालाई सम्बोधन गर्ने कुनै उपाय नहुँदा उनी ज्यादै दुःखी र चिन्तित छन् । सहायता निकाय सेभ द चिल्ड्रेनले शिक्षामा लगाइएको प्रतिबन्धको प्रभाव मूल्यांकन गर्न देशका सात प्रान्तमा नौदेखि १७ वर्ष उमेर समूहका करिब एक हजार सात सय बालबालिकासँग अन्तर्वार्ता लिएको थियो । सेभ द चिल्ड्रेनले दुई महिना लगाएर गरेको उक्त सर्वेक्षणमा किशोरहरूको तुलनामा धेरै किशोरीहरू विद्यालय जान नपाएको देखिएको छ। गत बुधबार सार्वजनिक गरिएको सर्वेक्षणअनुसार २० प्रतिशत किशोरहरूको तुलनामा ४५ प्रतिशतभन्दा बढी किशोरीहरू विद्यालय नगएको पाइएको छ । सोह्र प्रतिशत किशोरहरूको तुलनामा २६ प्रतिशत किशोरीहरूमा ‘डिप्रेसन’का लक्षण देखिएको छ । 

पहिलेदेखि नै चरम गरिबीको दुष्चक्रमा फसेका अफगानिस्तानका जनता अतिवादी समूह तालिबानले सत्ता कब्जा गरेपछि विश्व समुदायबाट पाउने वित्तीय सहायताबाट पनि बञ्चित गराउनुका साथै कमजोर आर्थिक अवस्था भएका लाखौँलाई भोकभोकै बस्न बाध्य बनाएको छ । 

शिक्षक, अभिभावक र विज्ञहरू सबैले देशको बिग्रँदो अर्थतन्त्रप्रति गहिरो चिन्ता व्यक्त गर्दै आफ्ना छोरीहरूको पढाइ रोकिएकामा आक्रोश प्रकट गरेका छन् । तालिबानको अव्यावहारिक निर्णयले अन्ततोगत्वा छोरीहरूको भविष्य अन्धकारतर्फ धकेलेको उनीहरूको बुझाइ छ ।  काम तथा पोसाकमा लगाइएको प्रतिबन्धका कारण महिलाहरू प्रताडीत भएका छन् । आँखाबाहेक शरीर पूरै ढाक्नुपर्ने आदेश पालना गर्न उनीहरू विवश छन् । यद्यपि, त्यो आदेशको पनि यदाकदा उल्लंघन भने भएको छ । 

अन्तर्राष्ट्रिय समुदायले तालिबानसँग सबै उमेर समूहका नारीका लागि विद्यालय खोल्न माग गरिरहेको छ । संयुक्त राज्य अमेरिका र युरोपेली संघले तालिबानमार्फत वित्तीय सहायता उपलब्ध नगराई अफगानिस्तानका शिक्षकहरूलाई सोझै तलब दिने योजना बनाएका छन् । अफगानिस्तानमा कतिपयले किशोरीहरूलाई विद्यालय फर्काउन चाहेका छन् भने केहीले त्यसप्रति आपत्ति जनाएका छन् । धर्मका नाममा उनीहरूलाई आधारभूत अधिकारबाट वञ्चित गर्न नहुने मत तालिबानभित्रैबाट समेत व्यक्त भएको छ । विश्व समुदायसँगको सम्बन्ध सुधारका निम्ति पनि महिलामाथिको अमानवीय प्रतिबन्ध हटाउनुपर्ने पक्षमा आवाज उठिरहेको छ । 

सन् १९९० को दशकमा अफगानिस्तानमा पहिलोपटक शासन गर्दा तालिबानले महिलाहरूमाथि निकै कडा प्रतिबन्धहरू लगाएको थियो । त्यतिवेला किशोरीहरू विद्यालय जान पाएनन् भने घरबाट बाहिर निस्कँदा अनिवार्य रूपमा बुर्का लगाउनुपर्ने उर्दी पालना गर्न विवश भए । तालिबान सत्ताबाट हटेको २० वर्षपछिको अवधिमा सहरी क्षेत्रका महिलाहरूको एउटा पूरै पुस्ता विद्यालय र काममा फर्कियो । देशमा क्रमिक रूपमा भएका परिवर्तनलाई स्वीकार गर्दै तालिबानले पनि आफ्ना नागरिकमाथि विगतको जस्तो व्यवहार नगर्ने आश्वासन दियो । गत वर्ष फेरि सत्ता आफ्नो नियन्त्रणमा लिएपछि उसले त्यो आश्वासन दोहोर्यायो तर त्यसलाई कार्यान्वयन भने गरेन । 

केही सरकारी अधिकारीहरूले किशोरीहरूलाई विद्यालय फर्कन दिने सार्वजनिक अभिव्यक्ति पनि दिएका छन् । उनीहरूले त्यो इस्लामिक ढाँचा सुनिश्चित गर्ने गरी हुने पनि बताएका छन् । सरकारी अधिकारीहरूको उक्त भनाइ अझै कार्यान्वयन भएको छैन । 

सोह्र वर्षीया सेकिबा कादेरीले विद्यालय जान नपाएपछि घरमै पढाइलाई निरन्तरता दिइरहेकी छन् । उनी पाठ्यपुस्तक, उपन्यास र इतिहासका पुस्तक पढिरहेकी छन् भने चलचित्र र युट्युब भिडियोमार्फत अंग्रेजी सिकिरहेकी छन् । सेकिबा र उनकी कान्छी बहिनी विद्यालय जाँदैनन् तर उनका दुई भाइ सधैँ स्कुल पुग्छन् । उनकी दिदी एउटा निजी विश्वविद्यालयमा कानुन अध्ययनरत छन् । 

तालिबानले सत्ता कब्जा गरेको एक महिनापछि नाजहन्दले आफ्नो घरनजिकको ‘पार्क’मा अनौपचारिक कक्षा सञ्चालन गरिन् जहाँ उनले सडक बालबालिकालाई पढ्न सिकाइन् । लेखपढ गर्न नसक्ने महिलाहरू पनि विस्तारै उनको पार्क कक्षामा आए । उनलाई पार्कमा पढाइरहेको देखेपछि एकजना परोपकारीले कक्षा सञ्चालनका निम्ति एउटा घरभाडामा लिइदिए र आवश्यक फर्निचरको व्यवस्था पनि गरिदिए । नाजहन्दको भूमिगत विद्यालयमा अहिले छैटौँ कक्षाभन्दा माथिका ५० भन्दा धेरै विद्यालयका छात्रासहित दुई सय ५० विद्यार्थी पढिरहेका छन् । 

नाजहन्दको भूमिगत विद्यालय विद्यार्थीहरूको लागि जीवनको महत्वपूर्ण स्थल बनेको छ । उनले शिष्यहरूलाई विद्यालयका पुस्तकका अतिरिक्त आफ्नो अधिकारका निम्ति संघर्ष गर्न पनि सिकाइरहेकी छन् । उनका अनुसार सन् १९९० को दशकको उत्तरार्धमा सत्तामा आएको  तालिबान र अहिलेको तालिबानमा कुनै अन्तर छैन । नाजहन्द आफ्नो विद्यालयको भविष्यलाई लिएर पनि चिन्तित छन् । विद्यालय सञ्चालनमा सहयोग गरेका ती दाता अब यो दुनियाँमा छैनन् । उनले छ महिनाको घरभाडासहित अन्य आवश्यक सामग्रीको प्रबन्ध गरिदिएका थिए । नाजहन्दसँग घरभाडा तिर्ने र अन्य आवश्यक वस्तु खरिद गर्ने कुनै उपाय छैन । रासस