निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज ११ मंगलबार
  • Tuesday, 27 September, 2022
रमेशप्रसाद खरेल
२०७९ श्रावण २७ शुक्रबार ०७:४३:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

प्रहरीमा लम्पसारवादले बढाएको जोखिम

तल्लो तहका कर्मचारीलाई हेडक्वार्टरले ममाथि न्याय गर्छ भन्ने भरोसा नभएपछि उनीहरू नेताहरूको चाकरीमा जानु अन्यथा होइन

Read Time : > 4 मिनेट
रमेशप्रसाद खरेल
२०७९ श्रावण २७ शुक्रबार ०७:४३:००

केही दिनअघि एकजना साथीले बोलाएपछि भेट्न जाँदा त्यहाँ हालै बढुवा भएका एकजना एसपीसाब मिठाई बोकेर पुग्नुभएको थियो । उहाँ मैले पनि चिनेको अफिसर हुनुहुन्छ र राम्रो पनि मानिनुहुन्छ । त्यति हुँदाहुँदै पनि बढुवा हुँदा उहाँ मिठाई बोकेर बाहिरी मान्छेकहाँ किन जानुपर्‍यो ? म चकित भएँ । यस घटनाले नेपाल प्रहरी कुन अवस्थामा पुगेको छ भन्ने देखाउँछ । प्रहरीभित्र राजनीति छिरेको धेरै भइसक्यो । प्रहरीको सरुवा–बढुवामा ०४६ सालदेखि नै राजनीतिक नेतृत्वबाट बदमासी हुँदै आएको छ । ०४६ मा प्रजातन्त्र आएपछि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा त्यतिवेला गृहमन्त्री हुनुहुन्थ्यो । उहाँबाटै प्रहरी संगठनभित्र राजनीति सुरु भएको हो । त्यतिवेला रत्नशमशेर जबरा प्रहरी महानिरीक्षक हुनुहुन्थ्यो, उहाँलाई विनाकारण हटाएर देउवाले स्वार्थवश मोतिलाल बोहरालाई आइजिपी बनाउनुभयो । 

त्यसयताका दिनमा प्रहरीलाई सुधार्नेतर्फ कोही पनि लागेनन् । यदाकता प्रहरी बलियो हुनुपर्छ भन्ने नेतृत्व गृह मन्त्रालयमा नआएको होइन, तर धेरैजसो प्रहरी मेरो बिर्ता हो, उनीहरूले मेरो आदेश तामेल गर्नुपर्छ भन्ने सोचसाथ अघि बढे । जसले गर्दा प्रहरी अहिलेको अवस्थामा आइपुगेको हो । त्यसको सिकार म आफैँ पनि भए । पटक्कै सम्झौता नगर्ने मेरो कार्यशैली हो । प्रहरीको बर्दी लगाएपछि कानुनसम्मत काम गर्नुपर्छ । कानुनले गर् भनेको काम गर्ने, नगर् भनेको काम नगर्ने मेरो पहिलेदेखिकै मान्यता हो । म त सिपाहीबाट जागिर खाएको मान्छे, इन्सपेक्टर भएँ, त्यसपछि २७ वर्षसम्म आफ्नो ब्याचमा नम्बर एक थिएँ । यसबीच व्यापक चलखेल भए । लम्पसारवादीहरू हाबी हुँदै गए । चाकडी रुचाउने राजनीतिकर्मीहरू ‘यस म्यान र ‘यस वुमन’ खोज्न थाले । हाम्रा प्रहरी साथीहरू पनि तिनकै पछि लागे ।   

एसपीबाट एसएसपी हुँदासम्म म आइजिपीको दरिलो प्रतिस्पर्धी थिएँ । एसएसपी बढुवामा पनि मलाई तल पार्न खोजिएको हो । तर, त्यतिवेलाका आइजिपी रविन्द्रप्रताप शाहले मेरा लागि अडान लिनुभयो । त्यतिवेला विजयकुमार गच्छदार गृहमन्त्री हुनुहुन्थ्यो । उहाँ कुनै पनि हालतमा यसलाई प्रमोसन गर्नु हुँदैन, गरे पनि तल्लो नम्बरमा राख्नुपर्छ भनेर लाग्नुभएको थियो । तर, यति राम्रो अफिसर कोही पनि छैन भनेर आइजिपीसाबले मेरो पक्षमा अडान लिनुभयो, नत्र बढुवा नै गर्दिनँ भनेर गृहमन्त्रीलाई मनाउन सक्नुभएको थियो । 

एसएसपी भएपछि म संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिएको थिएँ । दुर्भाग्यवश त्यतिवेला कमजोर प्रकृतिका प्रकाश अर्याल आइजिपी भए । मलाई अन्यायपूर्ण रूपमा बढुवामा पछि पार्दा उनी एक शब्द बोल्न सकेनन् । अहिलेका चर्चित अर्थमन्त्री (जनार्दन शर्मा) त्यतिवेला गृहमन्त्री हुनुहुन्थ्यो । शान्ति मिसनमा जानुअघि मैले उहाँलाई भेटेको थिएँ । यदि मलाई बढुवामा अन्याय हुन्छ भने म जान्नँ, अडान लिनुहुन्छ भने जान्छु भनेको थिएँ, उहाँले तपाईंजस्तो मान्छेलाई अन्याय हुन दिन्नँ भन्नुभयो । तर, उहाँले न्याय दिनुभएन । 

मिसनमै भएको वेला बिहान पाँचै बजे तत्कालीन आइजिपीले भाइबरमा फोन गरेर भन्नुभयो– ल है, मैले नसक्ने भएँ, तपाईं आफैँले के–के गर्नुपर्छ, गर्नुस् भन्नुभयो । तपाईं आइजिपी हुनुहुन्छ । तपाईंबाहेक म कहीँ पनि जान्नँ । तपाईंले नै बोल्नुपर्छ मैले भनेँ । त्यतिवेला मलाई दोस्रो नम्बरमा डिआइजीमा बढुवा गर्दा एआइजी डा. दिनेश पोखरेल हुनुहुन्थ्यो । उहाँले रमेश खरेललाई १ बाट २ नम्बरमा पुर्‍याउनु हुँदैन भनेर अडान लिनुभयो, तर आइजिपी एक शब्द बोल्न सकेनन् । किनकि अडान लिनसक्ने उहाँमा क्षमता थिएन । 

साँच्चै ‘पुलिसिङ’ गर्ने र ‘एन्टिकरेन्ट’ प्रहरी अधिकृतको देशलाई खाँचो छ । युनिफर्म लगाएर डकैती गर्ने सोच भएकाहरूले संगठन छाडे हुन्छ । पैसा कमाउने सोच भएकाहरूले व्यापार गर्दा हुन्छ ।

जब म डिआइजीबाटै बाहिरिएँ, अब त व्यावसायिक र इमानदार भएर काम रहेनछ, शक्तिकेन्द्र रिझाउनैपर्दाे रहेछ भन्ने सन्देश गयो । जसका कारण राम्रा–राम्रा प्रहरी अधिकृत पनि रमेश खरेलको हालत हुन्छ, देशको अवस्थाअनुसार चल्नुपर्छ भनेर चाकडीवादतर्फ लागे । ०४६ पछि निरन्तर प्रहरी महानिरीक्षक कमजोर भइरहेका छन् । अर्काको भारी बोकेपछि नेतृत्व कमजोर त हुने नै भयो । जसले उसलाई आइजिपी बनायो, उसको आदेश मान्नैप¥यो । उसको पछि लाग्नैप¥यो । पहिला–पहिला माथिल्लो तहमा मात्र हस्तक्षेप हुन्थ्यो, अहिले त तल्लो तहका कर्मचारीलाई पनि हेडक्वार्टरमा विश्वास छैन । हेडक्वार्टरले मलाई प्रमोसन गर्छ, न्याय गर्छ भन्ने भरोसा छैन, अनि उनीहरू नेताहरूको चाकरीमा जानु अन्यथा होइन । 

अहिले गृह मन्त्रालयभन्दा बालुवाटार हाबी छ भन्ने सुनिन्छ । बालुवाटारमा पनि म्याडमहरू हाबी हुुनुहुन्छ । कसरी हुन्छ, पुष्पकमल दाहाल, ओली र देउवालाई रिझाएर बढुवा हुने प्रवृत्ति बढेको छ ।  अहिले त देउवालाई रिझाएर मात्र पनि नहुने रहेछ, म्याडमहरूको हातमा रहेछ । प्रहरीमा सरुवा–बढुवा गर्न यतिवेला म्याडमहरूबीच नै प्रतिस्पर्धा छ रे भन्ने सुनिन्छ । प्रहरीमा यो अति भइसक्यो । संगठन बिग्रियो । सबैजना लम्पसारवादमा लागे । राजनीतिक पेसाकर्मीलाई त देशको के माया छ र ? राज्यका कुनै पनि संयन्त्रलाई बलियो बनाउने उहाँहरूको कुनै सोच नै छैन । अब आउने चुनावमा कसरी जित्ने र सत्ता प्राप्त गर्नेबाहेक उहाँहरूलाई कुनै चिन्ता छैन । 

खड्गप्रसाद ओली प्रधानमन्त्री हुँदा ‘रातो टिक’ लगाउनुहुन्थ्यो रे, कसलाई बढुवा गर्ने कसलाई सरुवा गर्ने भनेर । यस्तो भएपछि कुन प्रहरीले राम्रोसँग काम गर्छन् ? अहिले अवस्था कस्तो छ भने सरुवा र बढुवाका लागि प्राइभेट गाडी लिएर बेलुका भएपछि प्रहरी अधिकारीहरू शक्तिकेन्द्रमा दौडधुपमा लाग्ने गर्छन् । बढुवामा कार्यसम्पादन मूल्यांकनको मतलब नै हुँदैन । बालुवाटारमा लिस्ट तयार गरेर आइजिपीलाई दिइन्छ । त्यहीअनुसार नम्बर दिएर बढुवा गरिन्छ । यो सिस्टमले पैसा कमाउने र बुझाउने प्रहरीको हातमा संगठन पुगेको छ । इमानदारहरू पाखा लाग्दै गएका छन् । रामकाजी बान्तवा, राजेन्द्रबहादुर सिंह, राजेन्द्रसिंह भण्डारी, कुमार कोइरालाजस्ता इमानदार र क्षमतावान् अधिकारी यसका उदाहरण हुन् ।  

प्रहरीमा लामो समय बिताएको हुनाले यस संगठनको असाध्यै माया लाग्छ । प्रहरीमा यस्तो लम्पसारवादले समाज हतोत्साहित हुन्छ भने अपराधीहरूको शिर ठाडो हुन्छ । ‘ल एन्ड अर्डर’ कायम गर्न सकिँदैन । अराजकताले प्रश्रय पाउँछ । कानुनीराजको अन्त्य हुन्छ, बिचौलियाहरूको राज चल्छ । दण्डहीनताले प्रश्रय पाउँछ, अनि राम्रा मान्छे देशमा टिक्न नसकेर पलायन हुन्छन् । त्यो अवस्थामा भिडतन्त्रमा देश जान्छ । प्रहरी मात्र होइन, सबै संयन्त्रमा यस्तै राजनीतीकरण हुँदै गयो भने देश भिडतन्त्रमा पुग्न धेरै समय लाग्दैन । त्यसपछि जनता श्रीलंकामा जस्तै सिंहदरबार र बालुवाटार घेर्न पुग्नेछन् । 

प्रहरीमा यो अवस्था आउनुको सबैभन्दा ठूलो दोष अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवालाई जान्छ । त्यसकारण यसको सुधार पनि उहाँबाटै हुनुपर्छ । हिजोको दिनमा गल्ती भयो, अब गल्ती हुँदैन भनेर उहाँले भन्नुपर्छ । राज्यका कुनै निकायमा पनि हस्तक्षेप गर्दिनँ भन्न सक्नुपर्छ । ‘ज्वाइँसाब’लाई कानुन मिचेर बढुवा गर्दिनँ भनेर उहाँले प्रतिबद्धता व्यक्त गर्न सक्नुपर्छ । हामीले त पहिल्यैदेखि प्रहरी सेवा आयोगको कुरा गर्दै आएका छौँ । आयोग गठन गरेर पनि प्रहरीलाई सिस्टममा लैजानुपर्छ । यो देशमा राम्रा मान्छे पनि धेरै छन् । अवकाश प्राप्त प्रहरी, पूर्वगृहसचिव हुनुहुन्छ । उहाँहरूलाई त्यस्तो आयोगमा राखेर प्रहरीको सरुवा–बढुवालाई सिस्टमले बाँध्न सकिन्छ । अहिलेकै अवस्थाले त नेपाल प्रहरी महानगरीय प्रहरी पो हुन्छ कि भन्ने डर पनि लाग्छ । 

प्रहरी कमजोर हुनुमा राजनीतिक पेसाकर्मी मात्र होइन, प्रहरी स्वयंको पनि दोष छ । प्रहरीको सुधारमा आइजिपीको ठूलो भूमिका हुन्छ । आइजिपी बलियो भए धेरै ठिक हुन्छ । एउटा जिल्लामा एसपी बलियो हुँदा उसले धेरै काम गर्न सक्छ भने आइजिपीले चाहने हो भने सिंगो संगठन बलियो हुन्छ । त्यसकारण आइजिपीले जसरी आइजिपी भए पनि संगठनलाई बलियो बनाउँछु भनेर प्रतिबद्ध हुनुपर्छ । तपाईंलाई हटाउन सक्लान्, तर एउटा उदाहरण सेट हुन्छ । तपाईं रोलमोडल बन्न सक्नुहुन्छ । काम गरेर देखाउनुपर्छ । 

कुनै पनि आइजिपीले अडान लिएर काम गर्न नसक्नुमा उनीहरूको कमजोरी पनि जिम्मेवार छ । प्रहरीमा एउटा यस्तो घटना छ, एक आइजिपीलाई १३ पन्ने फारम भराएर तर्साएर आफूअनुकूल काममा लगाएका उदाहरणसमेत छन् यहाँ । किनकि ती आइजिपीले पनि बदमासी त गरेकै थिए । बदमासी गरेपछि उनको केही गर्ने नैतिक बल भएन । बदमासी र चाकडी गरेर पदमा पुग्ने मान्छेसँग नैतिक बल हुँदैन । नेक्ससले समातिहाल्छ । कतिपयलाई त ठेकेदारले आइजिपी बनाइदिन्छन्, अनि उनीहरू सिपाहीको लुगामा बदमासी गरेर कमाउँछन् । 

साँच्चै ‘पुलिसिङ’ गर्ने र ‘एन्टिकरेन्ट’ प्रहरी अधिकृतको देशलाई खाँचो छ । युनिफर्म लगाएर डकैती गर्ने सोच भएकाहरूले संगठन छाडे हुन्छ । पैसा कमाउने सोच भएकाहरूले व्यापार गर्दा हुन्छ । प्रहरीको बर्दीमा तपाईंहरूले गरेको पापको फल तपाईंका छोरानातिसमेतले भोग्नुपर्ने हुन्छ । अहिलेका आइजिपीसाबलाई मेरो अनुरोध छ, कसैको भारी बोक्नुभएको छ भने बिसाइदिनुस्, ८० हजार फौजले तपाईंमाथि विश्वास गर्ने वातावरण बनाउनोस् । राम्रो मान्छेलाई संरक्षण गर्नुस्, बजेटको सदुपयोग गर्नाेस् । हतियार खरिदबाट त तपाईं जोगिनुभयो । झन्डै अर्काे सुडानकाण्ड हुन लागेको थियो । सुडानकाण्डमा केके भयो थाहै छ । त्यसमा संलग्न कांग्रेस नेताहरू कसरी जोगिए ? कसैलाई रिझाएर ३० वर्षे हटाउने खेलमा नलाग्नुस्, हो ३० वर्षे सेवाहद ठिक छैन, तर चाकडी गरेर होइन । सबैलाई न्याय हुने गरी काम गर्नाेस्, ८० हजार प्रहरी मात्र होइन, झन्डै तीन करोड नेपालीले तपाईंलाई स्यालुट गर्नेछन् । 
(खरेल अवकाश प्राप्त डिआइजी हुन्)