मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १७:३o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विश्वविद्यालयमा तालबन्दी नगर्न शिक्षामन्त्रीको आग्रह 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १७:३o:oo

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न सरोकारवालाहरूलाई आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा नेपाल प्राध्यापक संघले आयोजना गरेको ‘६०औँ वार्षिक दिवस-हीरक महोत्सव’ तथा ‘नेपालमा उच्च शिक्षा अवस्था र चुनौती विषयक गोष्ठी’मा बोल्दै शिक्षामन्त्री पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गरेका हुन् ।  
‘कृपया कसैले पनि विश्वविद्यालयमा तालाबन्दी नगरिदिनुहोला । विश्वविद्यालयको तालाबन्दीले दाेहोरो कुरा हुने भयो । विश्वविद्यालयका पदाधिकारीहरूलाई पनि तालाबन्दी छ,’ उनले भने, ‘काम गर्ने कुराको निम्ति तालाबन्दी छ । काम गर्न डिस्टर्ब छ भन्नुहुन्छ उहाँहरूले । विषयवस्तु केही भयो भने, कहीँ केही एउटा पद नियुक्ति गर्नुपर्यो भने प्रतिस्पर्धा गरेर, योग्य मान्छे लिएर वार्ताद्वारा जाने कुरा अगाडि बढाइयो भने राम्रो हुन्छ ।’

मन्त्री पौडेलले विश्वविद्यालयका पदाधिकारी, विद्यार्थी, कर्मचारी र प्राध्यापकहरूको मागको सम्बन्धमा वार्ता तथा सहमतिबाट हल खोज्नुपर्ने बताए । उनले आंशिक, करारलगायतका प्राध्यापकहरूको समस्या समाधान गर्नसमेत प्रधानमन्त्रीसँग आग्रह गरे । एकपटकका लागि प्राध्यापकहरूको समस्या समाधान गरेर आगामी दिनमा भने प्रतिस्पर्धाबाट मात्रै प्राध्यापक नियुक्ति गर्ने गरी अघि बढ्नुपर्ने उनको भनाइ थियो । 

मन्त्री पौडेलले विश्वविद्यालयहरूलाई क्यालेन्डर प्रणाली कडाइपूर्वक लागू गर्नसमेत निर्देशन दिए । शैक्षिक क्यालेन्डरअनुरूप समयमै परीक्षा हुनुपर्ने र समयमै नतिजा निस्किनुपर्ने उनले बताए । ‘क्यालेन्डर प्रणाली लागू नहुँदाखेरी बेथिति भएको छ । जाँच भएको लामो समयसम्म परीक्षाको रिजेल्ट ननिस्किने, परीक्षा हुन ढिलो हुने, उच्च शिक्षामा नेपालको पठनपाठन नियमित छैन भन्ने बाहिर म्यासेज गएको छ,’ उनले  भने, ‘विशेष अनुरोध छ, क्यालेन्डर प्रणाली कडाइपूर्वक लागू गरौँ । क्यालेन्डर प्रणाली लागू भयो भने विद्यार्थीलाई, युवाहरूलाई हामी भन्न सक्छौँ– समयमा पढाइ हुन्छ, समयमा रिजेल्ट निस्किन्छ । त्यसकारणले हाम्रा विश्वविद्यालय राम्रा छन् भन्ने कुरा उहाँहरूलाई भन्न सक्छौँ ।’

विश्वविद्यालय सुधार्ने जिम्मेवारी सरोकारवाला सबैको काँधमा रहेको भन्दै मन्त्री पौडेलले सरकारको तर्फबाट गर्नुपर्ने काम गर्न आफू तयार रहेको बताए ।