१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २५ बुधबार
  • Saturday, 05 July, 2025
नवराज मैनाली काठमाडाैं
२o७९ श्रावण २५ बुधबार o५:५९:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

माली शान्ति मिसनमा खटिँदै सशस्त्र प्रहरी 

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण २५ बुधबार o५:५९:oo

सशस्त्रको फर्म्ड पुलिस युनिट माली खटाउन तयारी गर्न संयुक्त राष्ट्रसंघको पत्राचार

सशस्त्र प्रहरीको टोली द्वन्द्वग्रस्त अफ्रिकी देश मालीमा शान्ति स्थापनार्थ खटिने भएको छ । संयुक्त राष्ट्रसंघले सशस्त्रको एक फर्म्ड पुलिस युनिट (एफपियू) मालीमा खटाउने निर्णय गरी तयारी गर्न पत्राचार गरेको छ । 

राष्ट्रसंघले मालीको किदाल क्षेत्रमा सशस्त्रको एफपियू खटाउने निर्णय गरेको सशस्त्र प्रहरीले जनाएको छ । सन् २०२३ को जनवरीदेखि कार्यक्षेत्रमा खटिने गरी तयारी गर्न राष्ट्रसंघले पत्राचार गरेसँगै सशस्त्रले आफ्नोतर्फबाट गर्नुपर्ने प्रक्रिया अघि बढाएको छ । 

सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी विदुर खड्काले माली मिसनमा एक सय ४० जनाको एफपियू खटाउने तयारी सुरु भएको बताए । ‘राष्ट्रसंघबाट पत्र आएसँगै हामीले आफ्नो तयारी थालेका छौँ,’ उनले भने, ‘तोकेकै अवधिमा टोली पठाउने हाम्रो योजना छ ।’ 

राष्ट्रसंघले दिएको समयतालिकाअनुसार सेप्टेम्बर पहिलो साता सशस्त्रको टोली एफपियू रहने क्षेत्रको तयारी भ्रमणमा जानेछ । अक्टोबरमा राष्ट्रसंघको टोली निरीक्षणका लागि नेपाल आउनेछ । निरीक्षणमा बन्दोबस्तीका सामान तथा मिसनमा खटिनेको पूर्ण तयारी गरेको पाइए सशस्त्रको टोली माली खटिनेछ । मिसनमा खटिने टोलीको छनोट र तालिम तथा बन्दोबस्तीका सामान खरिदका लागि सशस्त्रले तयारी थालिसकेको छ । 

सुरक्षा निकायका एफपियू मिसनका लागि आवश्यक एपिसी, एमपिभीलगायत बन्दोबस्तीका सामान खरिदमा सधैँ बिचौलियाको चलखेल हुँदै आएको छ । सशस्त्रमा पनि यसअघिको खरिद विवादमा परेपछि उसले सीधै सेनासँग खरिद गरेको थियो । यसपटक पनि सशस्त्रले खरिद विवादमा नपर्न सकेसम्म जिटुजी प्रक्रियाबाट किन्ने नत्र सेनाबाट खरिद गर्नेबारे तयारी गरेको स्रोत बताउँछ । सेनाले सशस्त्रलाई हतियार तथा एफपियूका लागि आवश्यक सामानमा सहयोग गर्दै आएको छ । सशस्त्रलाई खटाउन लागिएको मालीको उत्तरी क्षेत्र किदाल सुरक्षाका दृष्टिकोणले जोखिमपूर्ण ठाउँ मानिन्छ, जहाँ पटक–पटक विद्रोहीबाट शान्ति सैनिकमाथि समेत आक्रमण भएको छ । त्यस्तो ठाउँमा खटिन अन्यत्रभन्दा धेरै बन्दोबस्तीका सामान आवश्यक हुने सशस्त्र प्रहरी अधिकारी बताउँछन् । 

नयाँ शान्ति मिसनका लागि भनेर सशस्त्र प्रहरी बलले पाँच वर्षअघि नै करिब ३० करोडमा आवश्यक बन्दोबस्तीका सामान खरिद गरेको थियो । चारवटा बख्तरबन्द गाडी (एपिसी), जेनेरेटरलगायत सामान लामो समयसम्म प्रयोगविहीन अवस्थामा छन् । सशस्त्र प्रहरी कल्याणकारी कोषमार्फत ०७४ मा ती सामान खरिद गरिएका थिए । त्यतिवेला राष्ट्रसंघले नयाँ फर्म्ड पुलिस युनिट (एफपियू) मिसन थप्ने निश्चित नै भएको थिएन । यसरी किनिएका कतिपय सामान बिग्रिसकेका छन् । 

त्यतिवेलाको खरिद पनि विवादमा परेको थियो । सुरुमा ठेक्का प्रक्रियामार्फत एपिसी खरिद अघि बढाइएको थियो । कमिसनको चलखेलले विवाद भएपछि त्यसलाई रद्द गरेर सेनासँग सीधै खरिद गरिएको थियो । ती सामान अब माली मिसनमा प्रयोग हुने भएका छन् । तर, ती सामानले मात्रै नपुग्ने भएकाले एमपिभीलगायतका सामान खरिद गर्नुपर्ने अवस्था छ । 

केही वर्षअघि अफ्रिकी देश दक्षिण सुडानमा सशस्त्र प्रहरीका तीन एफपियू मिसन रहेकोमा अहिले एउटा मात्र छ । सशस्त्रको पहिलो एफपियू सन् २००२ मा लाइबेरियामा खटिएको थियो, जुन आठ वर्षअघि नै बन्द भइसकेको छ । नयाँ मिसन थपिएसँगै शान्ति मिसनमा जाने अवसर बढ्ने र त्यसले कर्मचारीमा प्रोत्साहन बढ्ने सशस्त्र प्रहरीका अधिकारीहरू बताउँछन् । शान्ति मिसनमा नेपाली सुरक्षा अधिकारीले अन्य देशको भन्दा कुशलताका साथ जिम्मेवारी निर्वाह गर्दै आएकाले छवि उच्च छ । राष्ट्रसंघीय शान्ति मिसनमा जनशक्ति परिचालनमा नेपाल बंगलादेशपछि दोस्रो स्थानमा छ । नेपाली सेनाबाट मात्र हाल विभिन्न १२ मिसनमा करिब साढे पाँच हजार कर्मचारी कार्यरत छन् । त्यस्तै, सशस्त्र प्रहरीबाट एक सय ९० र नेपाल प्रहरीबाट ४३ जना कार्यरत छन् । 

साइप्रस मिसनमा पहिलोपटक नेपाल प्रहरी 
युरोपियन देश साइप्रसमा पहिलोपटक नेपाल प्रहरीबाट राष्ट्रसंघीय शान्ति मिसनमा सहभागिता भएको छ । प्रहरीका नायब उपरीक्षक (डिएसपी) मोहनमणि अधिकारी साइप्रस मिसनमा जाने पहिलो प्रहरी अधिकृत हुन् । उनी मिसनमा प्लानिङ अफिसरका रूपमा कार्यरत छन् । नेपाली सेनाबाट भने यसअघि फोर्स कमान्डरकै रूपमा नेपालबाट खटिएका थिए । जर्नेल भिक्ट्री राणाले साइप्रसमा फोर्स कमान्डरका रूपमा काम गरेका थिए ।

प्रहरीको मिसनमा ९१ प्रतिशत महिला 
नेपाल प्रहरीको शान्ति मिसनमा महिलाको सहभागिता ९१ प्रतिशत पुगेको छ । हाल विभिन्न देशमा ४३ जना कार्यरत रहेकोमा ३९ जना महिला अधिकृत छन् । दक्षिण सुडानमा नेपाल प्रहरीबाट ३१ जना सहभागी रहेकोमा सबै महिला छन् । कंगोमा पनि ६ जना महिला खटिएका छन् । लिबियामा हालै एसपी गंगा पन्त खटिएकी छिन् । सुडान र दक्षिण सुडानको बीचमा पर्ने विवादास्पद भूमि आबेईमा एक महिला र एक पुरुष प्रहरी अधिकृत खटिएका छन् । 

शान्ति मिसनमा राष्ट्रसंघले महिला प्रहरीलाई प्राथमिकता दिन आग्रह गर्दै आएको छ । त्यहीअनुसार प्रहरीले पनि अवसर दिँदै आइएको प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले बताए । महिला अधिकृतले शान्ति मिसनमा अब्बल काम गर्दै आएको उनको भनाइ छ । विश्वभरिबाट प्रतिस्पर्धा हुने प्रोफेसनल तहको पदमा नेपालबाट हाल एक एसपी र एक डिएसपी कार्यरत छन् । एसपी अमरेन्द्र सिंह राष्ट्रसंघीय मुख्यालय न्युयोर्कमा तथा डिएसपी किरणजंग कुँवर सुडानमा कार्यरत छन् । नेपाल प्रहरीको सबै एफपियू मिसन बन्द भइसकेका छन् । हाल इन्डिभिजुअल पोलिस अफिसर (आइपिओ)का रूपमा नेपाल प्रहरीका अधिकारीहरू सुडान, दक्षिण सुडान, कंगो, लिबिया र साइप्रसलगायत देशमा खटिएका छन् ।