१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ श्रावण २५ बुधबार ०६:०८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

परराष्ट्रमन्त्री खड्का चीन प्रस्थान, आज औपचारिक वार्ता

Read Time : > 1 मिनेट
२०७९ श्रावण २५ बुधबार ०६:०८:००

परराष्ट्रमन्त्री डा. नारायण खड्का औपचारिक भ्रमणका क्रममा मंगलबार राति चीन प्रस्थान गरेका छन् । समकक्षी एवं चिनियाँ स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै हिमालय एयरलाइन्सको चार्टर उडानबाट साङदोङ प्रान्तको छङ्दाओ सहर गएका हुन् । 

खड्काको टोलीमा परराष्ट्रसचिव भरतराज पौड्यालसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव सहभागी छन् । टोलीमा गृह र अर्थ मन्त्रालयका सहसचिवलगायत परराष्ट्र मन्त्रालयका अधिकारी सहभागी छन् । बेइजिङबाट नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुन नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ छङ्दाओ पुगिसकेका छन् । 

शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको एक वर्षपछि नेपाल सरकारबाट पहिलोपटक चीनको औपचारिक भ्रमण भएको हो । वाङले गत २ कात्तिकको टेलिफोन वार्तामा परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निमन्त्रणा दिएका थिए । परराष्ट्र मन्त्रालयले शुक्रबार खड्काको चीन भ्रमणबारे औपचारिक जानकारी दिएको थियो । 

तीनदिने औपचारिक भ्रमण भनिए पनि परराष्ट्रमन्त्री खड्काको औपचारिक कार्यक्रम बुधबार मात्रै हुनेछ । परराष्ट्रका अनुसार बुधबार औपचारिक भेटवार्ता सकेर बिहीबार उनी स्वदेश फर्किनेछन् । 

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले दुई देशबीच सम्बन्धका सबै आयाममा छलफल हुने तथा यसअघि भएका छलफलमा निष्कर्ष निस्कन बाँकी विषय टुंगोमा पुग्ने बताइन् । ‘पछिल्लोपटक दुई देशको बैठकमा भएका विषयमा थप छलफल हुनेछ । अहिलेका समसामयिक द्विपक्षीयलगायतका विषयमा छलफल हुन्छ । दुई देशका शीर्ष नेताहरूबीच भएका सहमति कार्यान्वयनका विषयमा पनि छलफल हुनेछ,’ प्रवक्ता लम्सालले नयाँ पत्रिकासँग भनिन् ।

चीनले खड्कालाई बेइजिङ निम्ता नगरेर छङ्दाओ बोलाउनुको कारण कोभिड भएको परराष्ट्र प्रवक्ता लम्सालले बताइन् । ‘बेइजिङमा कोरोनाको स्थितिलाई ध्यानमा राखेर परराष्ट्रमन्त्रीज्यूलाई बाहिर स्वागत गर्न चाहेको बुझिएको छ,’ लम्सालले भनिन् । 

विशेषत: २६ असोज ०७६ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा भएका सम्झौता र समझदारी कार्यान्वयनमा जोड दिइने परराष्ट्र अधिकारीहरूको भनाइ छ । त्यसवेला सीमा व्यवस्थापन, आपसी कानुनी सहायता सन्धि, सगरमाथा संरक्षणसम्बन्धी सहकार्य, प्रकोप व्यवस्थापन र आपत्कालीन उद्धारमा सहकार्यलगायतका विषयमा सहमति भएको थियो । 

बैठकमा व्यापारसम्बन्धी संयुक्त कार्य समूह, सीमा सुरक्षामा उपकरणसम्बन्धी सहकार्यका विषयमा छलफल हुनेछ । परराष्ट्रमन्त्री खड्कालाई निमन्त्रणा गरेका चिनियाँ विदेशमन्त्री वाङ गत ११ चैतमा नेपालको औपचारिक भ्रमणमा आएका थिए । त्यसवेला बिआरआई कार्यान्वयनसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने तयारी भए पनि निष्कर्षमा पुग्न बाँकी थियो । 

प्रधानमन्त्री देउवा नेतृत्वमा सरकार गठनपछि वाङ पहिलो चिनियाँ पाहुनाका रूपमा आएका थिए । वाङपछि चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख लिउ जियान्चाओ २६ देखि २९ असारसम्म नेपालको औपचारिक भ्रमणमा आएका थिए । देउवा सरकार गठन भएपछि दुई देशबीच उच्च तहमा परराष्ट्रमन्त्रीभन्दा माथिल्लो स्तरमा भ्रमण आदान–प्रदान भएको छैन । 

गत चैतमा चिनियाँ विदेशमन्त्रीको भ्रमणलगत्तै प्रधानमन्त्री देउवाको भारत भ्रमण भएको थियो । यसपटक अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको भ्रमणलगत्तै परराष्ट्रमन्त्रीको चीन भ्रमण भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र मामिला सल्लाहकार अरुणकुमार सुवेदीले विश्व राजनीतिक वातावरण चुनौतीपूर्ण बन्दै गएको अवस्थामा छिमेकीसँग सम्बन्ध थप विश्वसनीय बनाउने गरी परराष्ट्रमन्त्री खड्काको चीन भ्रमण भएको बताए । ‘नेपाल भूराजनीतिक घटनाक्रमप्रति गम्भीर छ र छिमेकीहरूको चासोप्रति संवेदनशील छ भन्ने कुरा सरकारले स्पष्ट गर्दै आएको छ,’ सुवेदीले नयाँ पत्रिकासँग भने, ‘राष्ट्रिय चाखका आधारमा छिमेकी चीनसँग रहँदै आएको विश्वासको सम्बन्ध थप विश्वसनीय बनाउन नेपाल प्रतिबद्ध छ ।’ उनले सामाजिक सञ्जाल ट्विटरमा नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको भन्दै भ्रमण सफलताको कामना गरेका छन् ।