
परराष्ट्रमन्त्री डा.नारायण खड्का मंगलबार राति जनवादी गणतन्त्र चीनको भ्रमणमा जाँदै छन्। चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा यही साउन २४ देखि २६ गतेसम्म (अगस्ट ९ देखि ११ सम्म) उनले चीन भ्रमण गर्न लागेका हुन्।
मन्त्री खड्का ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार राति चीन प्रस्थान गर्नेछन्। दुवै मन्त्रीहरूले यही साउन २५ गते चीनको चिङ्दाओमा आ-आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ।
विदेशमन्त्री वाङ यीले मन्त्री खड्का र प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा रात्रिभोजको आयोजनासमेत गर्नेछन्। मन्त्री खड्का तीनदिने भ्रमण सम्पन्न गरी साउन २६ गते काठमाडौं फर्कने मन्त्रालयले जनाएको छ।