मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २४ मंगलबार १४:२७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बन्चरेडाँडामा कसले गर्‍याे तोडफोड ? 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २४ मंगलबार १४:२७:००

राजधानीका सडकमा फोहोरका पहाड ठडिन थालेका छन् । देशकै राजधानी  दुर्गन्धित सहरका रूपमा आलोचना खेपिरहेको छ । तर, पनि फोहोर व्यवस्था हुन सकिरहेको छैन । आखिर किन ?

उपत्यकामा जम्मा हुने फोहोरमा अधिकांश हिस्सा काठमाडौं महानगरपालिकाअन्तर्गतका क्षेत्रको पर्छ । राजधानीको मूल सहरी क्षेत्र पनि महानगरमै पर्छ । त्यसैले फोहोर व्यवस्थापनको सबैभन्दा ठूलो चुनौती काठमाडौं महानगरपालिकाले सामना गरिरहनुपरेको छ । 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट स्वतन्त्र उम्मेदवार बालेन्द्र साह महानगरको कमान्ड हाँक्न आइपुगेका छन् । उनले निर्वाचनको प्रचारप्रसारकै क्रममा पनि फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा रहने प्रतिबद्धता जनाउँदै आएका थिए । उनको प्रतिबद्धतापत्रमा पनि फोहोर व्यवस्थापनमा वैज्ञानिक विधिको प्रयोग गर्ने उल्लेख छ । तर, उनले आफ्नो सो प्रतिबद्धता पूरा गर्न सकिरहेका छैनन् । आखिर किन ?

महानगरमा निर्वाचित भएपछि शपथग्रहणअघि नै साह फोहोर जम्मा गरिँदै आएको सिसडोल, बन्चरेडाँडा पुगेका थिए । उनी महानगरको नेतृत्वमा पुग्नुभन्दा केही दिनअघिदेखि नै फोहोर उठ्न छाडेको थियो । सिसडोलवासीको विरोधका कारण राजधानीका सडकमै फोहोर थुप्रिएको थियो । 

यस्तोमा उनको दौड ती असन्तुष्ट स्थानीयसँग संवादमार्फत समाधान खोज्नेमा देखियो । उनको प्रयासले केही दिनपछि सार्थकता पनि पायो । तर, सहमतिको मसी सुक्न नपाउँदै असन्तोषका अनेक स्वर सुनिन थाले । त्यसयता, लगातार अन्तरालमा फोहोर व्यवस्थापनमा बाधा परिरहेको छ । कहिले स्थानीयको अवरोधले त कहिले अधिक वर्षा र जीर्ण सडकको कारणले चुनौती थपिएकै छ । 
यस्तोमा, गत राति अर्को नयाँ चुनौती थपियो । फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारीका साधनमाथि तोडफोड नै भयो । 

बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापनमा परिचालन हुने काठमाडौं महानगरपालिकाका दुईवटा डोजर र एउटा एक्स्काभेटर तथा काठमाडौंबाट फोहोर बोकेर गएका, रात परेर खन्याउन नपाएका आलेटारनजिक पार्किङ गरेर राखिएका गाडीहरूमा एक्कासि तोडफोड भयो । 
तोडफोड कसले गर्‍याे ? अझैसम्म खुलेको छैन । घटनास्थलबाट प्रहरीले मुचुल्का उठाउने काम गरेको छ । अनुसन्धानपछि आक्रमणकारी पत्ता लाग्ने प्रहरीको भनाइ छ । 

काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले दिएको जानकारीअनुसार राति ९ बजेतिर एक्कासि आक्रमण भएको हो । महानगरको पत्राचारपछि जिल्ला प्रहरी कार्यालय नुवाकोट र धादिङका प्रहरी अनुसन्धानमा जुटेका छन् । प्रहरी भन्छ, ‘अहिलेसम्म कुनै सुराक फेला परेको छैन । आक्रमणकारीको पहिचान भएको छैन ।’