१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मोतीलाल दुगड
२०७९ श्रावण २३ सोमबार ०७:३७:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

महँगी शक्तिराष्ट्रहरूको ‘उपहार’

महँगीका कारण ठूला र शक्तिशाली देशहरू हुन् । विश्वमा मुख्य वस्तुहरूमाथि पाँच–सात मुलुकको नियन्त्रण छ ।

Read Time : > 5 मिनेट
मोतीलाल दुगड
२०७९ श्रावण २३ सोमबार ०७:३७:००

नेपाल राष्ट्र बैंकको पछिल्लो अध्ययनले महँगी करिब १४ प्रतिशत पुगेको देखाएको छ । यो तथ्य आफैँमा संवेदनशील छ । अर्थात् यसको सीधा अर्थ के हो भने महँगी यही स्तरमा कायम रहिरह्यो भने धेरै जनता गरिबीको रेखामुनि जाने सम्भावना रहन्छ । हामीले गत तीन दशककै तथ्यहरूलाई हेर्ने हो भने पनि महँगी औसतमा सात प्रतिशतभन्दा माथि पुगेको देखिँदैन । महँगीका हिसाबले अहिलेको समय कति संवेदनशील छ, यसैले प्रस्ट्याउँछ । 

जब बजारमा महँगी आकासिन्छ, एकथरी मानिस नेपाली व्यवसायीलाई गाली गर्न थाल्छन् । राजनीतिक गर्नेहरू सरकारको आलोचनामा उत्रिन्छन् । हामीले के बुझ्दैनाैँ भने महँगीका कारण न नेपाली व्यवसायी हुन् न सरकार मात्रै हो । अहिलेको महँगीका कारण मुख्यतः ठूला र शक्तिशाली देशहरू हुन् । विश्वमा मुख्य वस्तुहरूमाथि पाँच–सात मुलुककै नियन्त्रण छ । चलेका ठूला ब्रान्डहरूले विश्व बजार नै होल्ड गर्ने क्षमता राख्छन् । ठूला देश र ठूला कम्पनीले साना देशमा प्रत्यक्ष वैदेशिक लगानीका नाममा लोभलाग्दा सर्त प्रस्तुत गरेर ती देशका आफ्ना प्रतिद्वन्द्वी कम्पनी मर्जर वा एक्विजिसनको नाममा आफैँले अधिग्रहण गर्छन् । यस्ता कम्पनीले स्थानीय नेता र सरकारी कर्मचारीहरूलाई अप्रत्यक्ष तरिकाले हातमा लिन्छन् । अनि प्रचारमा अन्धाधुन्ध खर्च गरी पूरै बजार कब्जा गर्छन् । हामीले के भुल्नुहुँदैन भने बहुराष्ट्रिय कम्पनीले प्रचारमा गरेको खर्चको अन्तिम दायित्व उपभोक्ताकै हो । 

पेट्रोलियम, बिजुली ब्याट्री, कोइलाजस्ता खनिज पदार्थ, प्राकृतिक स्रोतमाथि सीमित देशहरूको आधिपत्य छ । एक अध्ययनअनुसार, विश्वभरको खनिज, कृषि उद्योग, व्यापारलगायतमा विश्वका ठूला डेढ सय कम्पनीले ७५ प्रतिशत हिस्सामाथि कब्जा जमाएका छन् । समाजवादी हुन् वा पुँजीवादी सबै देशले कुनै न कुनै आकर्षण आवरणमा साना देशहरूको धन सोहोरिरहेका छन् । राजनीति, आर्थिक विकास, लोकतन्त्र वा मानवअधिकारका नाममा होस् पहिलो विश्वले दोस्रो र तेस्रो विश्वका देशहरूको वित्तीय अधिकारलाई आफ्नो मुट्ठीमा लिएका छन् । 

आजको विश्वमा पेय पदार्थको करिब दुईतिहाइ बजार बहुराष्ट्रिय ब्रान्ड कोक र पेप्सीले मात्रै ओगटेका छन् । यसमा विश्वभरका अरू सारा खुद्रा ब्रान्डको बजार हिस्सा पुगनपुग एकतिहाइ होला । दशकौँदेखि हीराको बजारमा ‘डी बियर्स’ कम्पनीको एकाधिकार छ । दक्षिण अफ्रिका, बोस्त्वाना, रसियालगायतका देशको करिब ९० प्रतिशतभन्दा बढी हीराको स्रोतमाथि उसकै नियन्त्रण छ । 

अहिले विश्वव्यापी विद्युतीय सवारीसाधनको लहर छ । विद्युतीय गाडीको ब्याट्रीमा दुई शक्ति मुलुक चीन र अमेरिकाको मात्रै एकाधिकार छ । विद्युतीय ब्याट्रीका लागि चाहिने कच्चा पदार्थको लगभग सबैजसो अफ्रिकी खानीमा चीनले कब्जा जमाइसकेको छ । बाँकीमा अमेरिकाको कब्जा छ । ९० प्रतिशतभन्दा बढी कच्चा पदार्थमा यिनै दुई देशको आधिपत्य छ । जसको उनीहरू आफूखुसी मूल्य राख्छन्, पैसा कमाउँछन् । अब ब्याट्री त सबै देशका गाडी उत्पादकलाई चाहिन्छ । तर, उनीहरूले पहिल्यै दूरदर्शी भएर सारा कच्चा पदार्थमाथि आफ्नो स्वामित्व कायम गरिसके । 

पेट्रोलियम पदार्थमा पनि यस्तै छ । साउदी अरेबियाको सरकारी कम्पनी अराम्कोलगायत केहीको ओपेकका नाममा एकाधिकार छ । अरू देश आयातमा निर्भर छन् । कोइलाको ठूलो स्रोत भारत, चीन, साउथ अफ्रिका, इन्डोनेसिया, मंगोलियालगायतका देशमा छ । अरू देशमा नाम मात्रैको कोइला उत्पादन हुन्छ । सबैले भर पर्ने यिनै देशमा नै हो । फुड ग्रेनमा अस्ट्रेलिया, युक्रेन, रसिया, क्यानडा, इन्डिया, साउथ अमेरिका अगाडि छन् । खानेतेलमा अर्जेन्टिनालगायत दक्षिण अमेरिकी मुलुकको वर्चस्व कायम छ । तोरीको तेलमा क्यानडा र युरोप अगाडि छन् । यी वस्तुहरू पनि पाँच–सात देशमै धेरै उत्पादन हुने हो । अरू देशले आयात नगरी खान पुग्दैन । चिली तामाका लागि प्रख्यात छ । अहिले युक्रेन र रसियाको युद्धले आपूर्ति शृंखला टुट्दा विश्वभरि महँगी बढेको छ । त्यो युद्धको बाछिटा हाम्रो भान्छासम्म आइपुगेको छ । दुई देश अशान्त हुँदा खाद्यान्न, सुन, फलाम, खानेतेल, गेडागुडीलगायतको अभाव र चर्काे मूल्य हामीले व्यहोर्नुपर्छ । 

चीन र अमेरिकाजस्ता शक्तिशाली मुलुकले आफ्नो देशमा नभएका वस्तुहरू अर्को देशमा एफडिआई वा कम्पनीको माध्यमबाट पैसा खन्याएर कब्जा गरिसकेका छन् । त्यो वस्तुको आधिपत्य आफैँ लिइसकेका छन् । मुद्रामा अमेरिकाकै कब्जा छ । माइक्रोसफ्ट भनेर सारा मुलुकको कम्प्युटरमाथि अमेरिकी कम्पनीको कब्जा छ । विद्युतीय गाडीमा विश्वकै अग्रणी मानिने टेस्ला १०औँ खर्ब डलरको कम्पनी भइसक्यो । कोभिड– १९को महामारीबाट विश्वका सबैजसो देश प्रभावित भए । ढुवानी ठप्प हुँदा विश्वका ठूला कन्टेनर÷सिपिङ कम्पनी धराशायी भएको मौका छोपेर चीनले ती कम्पनी कौडीको भाउमा आफैँ खरिद गर्‍यो । कोभिडले चीनलाई अरूलाई जतिको प्रभाव पारेको छैन । अब विश्वमै ठूला सिपिङ कन्टेनरमाथि चीनको कब्जा भयो । ठूला कन्टेनर कम्पनी भएका देशहरूले आफूखुसी ढुवानी भाडा बढाएर मनग्ये कमाइरहेका छन् । विश्वका ठूला कन्टेनर कम्पनीको आधिपत्य चीन र अमेरिकासँग छ ।

आजको विश्वमा पेय पदार्थको करिब दुईतिहाइ बजार बहुराष्ट्रिय ब्रान्ड कोक र पेप्सीले मात्रै ओगटेका छन् । यसमा विश्वभरका अरू सारा खुद्रा ब्रान्डको बजार हिस्सा पुगनपुग एकतिहाइ होला । दशकौँदेखि हीराको बजारमा ‘डी बियर्स’ कम्पनीको एकाधिकार छ ।
 

आजको दुनियाँमा अत्यावश्यक धेरैजसो वस्तुमाथि मुख्य चार–पाँचवटा देशको आधिपत्य छ । अरू देशले आयात गरेर उपभोग गर्ने हुन् । उद्योग चलाउन पनि तिनै मुलुकबाट महँगोमा कच्चा पदार्थ किन्नुपर्ने हुन्छ । हाम्रो देशका डन्डी उद्योग होस् वा तेल वा चामल मिल चलाउन होस्, विदेशबाटै कच्चा पदार्थ आयात गर्नुपर्छ । देशमा महँगाइ कसरी आउँछ ? यसको मुख्य स्रोत भनेकै चीन, अरबी देश, रसिया, अमेरिकाजस्ता शक्तिशाली देश हुन् । उनीहरूले कार्टेलिङ, मोनोपोली, अधिग्रहण र मर्जरलगायतका हथकन्डा अपनाई अरू मुलुकमा प्रवेश गरेर भित्रभित्रै संगठित रूपले कुनै विपत्ति, माग र उत्पादनबारे आधुनिक प्रणालीबाट विश्लेषण गर्दै, डब्ल्युटिओको आड लिएर मूल्य बढाइरहेका छन् । 

हालसालै कोरोनाकालको नाउँमा अमेरिका, युरोपलगायतका धनी मुलुकहरूले राहत तथा उद्धारका नाममा पैसा बिच्छ्याउँदा उपभोक्ताको हातमा धेरै पैसा गएर माग ह्वात्तै बढ्यो । उनीहरूले नाफा कमाए र कोरानापछि सेयर बजार, ब्रान्डेड सामान, हीरा जवाहरात, घरजग्गा, हवाई भाडा, ढुवानी भाडा आदिले ऐतिहासिक रूपमा कीर्तिमानी कायम गर्‍यो । कृषिप्रधान देश नेपालमा बर्सेनि ५० अर्बभन्दा बढीको चामल मात्र आयात हुन्छ । तरकारी, फलफूल, मकै, गहुँ, तोरी, कोदो सोयाबिन, खानेतेल सबै बाहिरबाटै आउँछ । अर्बभन्दा बढी रकमको गुन्द्रुकसमेत बाहिरबाट आयात हुनु पक्कै चिन्ताजनक अवस्था हो । हरेक वस्तुमा विदेशकै भर पर्दा हामी विश्वव्यापी महँगीको चपेटामा बढी परेका हौँ । हामी नेपाली धेरै सौखिन उपभोक्ता भयौँ । बचत गर्ने बानी नै छैन हामीमा । आयात गरेरै भए पनि उपभोग गर्नुपर्ने बानी बसिसकेको छ । यो उपभोग संस्कृति देशकै लागि घातक साबित हुँदै छ । यो तथ्यलाई राष्ट्र बैंक र सरकारद्वारा सार्वजनिक तथ्यांकले पुष्टि गर्छन् । 

अब स्थिति नियन्त्रणमा नआउँदासम्म हामीले उपभोगलाई सीमित गर्नुपर्छ । कुनै पनि चिज खेर नफालौँ । विलासी वस्तुको उपभोग कम गरौँ । भोजभतेर कम गरौँ । अवस्था सहज भएपछि पनि अहिलेको जस्तो देखासिकी उपभोग संस्कृति हामीले हटाउनैपर्छ । हामीलाई देशभित्र बनेका गोल्डस्टार जुत्ताले हुँदैन । नाइकी, एडिडास नै चाहिने किन ? विश्वविख्यात ब्रान्ड नहेरौँ । मालको गुणस्तर हेरौँ । सुरुवात मूल्य नै दुई लाख र अधिकतम २५/३० लाख मूल्यका ब्याग हामीलाई किन चाहियो ? ह्यान्ड ब्याग नै ५०/६० लाखका बोक्नुपर्ने ? 

नेपाली निकै सौखिन बनेका छन् । विश्वमा निस्किएका एकसेएक ब्रान्ड नेपाली बजारमा उपलब्ध भइसकेका छन् । यदि नेबिको बिस्कुटको क्वालिटी ठीक छ भने किन ब्रिटानिया नै चाहियो ? हामीले कोक, फ्यान्टको सट्टा स्वदेशकै फलफूलको जुस, दूध, मोही पिए हुँदैन र ? हामी सुध्रौँ, आफ्नो आनीबानी सुधार गरौँ । राष्ट्रियता प्रदर्शन गर्ने यहीँनेर हो, विकास निर्माणका प्रोजेक्टमा होइन । देशप्रतिको माया बढाऔँ । स्वाद उस्तै छ भने चिया विदेशी नै किन पिउनुपर्‍यो ? 

हाम्रा धेरै उत्पादन विश्वबजारका ब्रान्डेड मालजत्तिकै गुणस्तरीय छन्, मात्र हामीले हाम्रा उत्पादनलाई ब्रान्डका रूपमा विकास गर्न सकेका छैनौँ । कपडा, ब्याग, बेल्ट, जुत्ता हाम्रोमा पनि बन्छन् । तर, विश्वविख्यात ब्रान्डसँग हाम्रा वस्तुले प्रतिस्पर्धा गर्न सकेनन् । टिभीमा करोडौँ खर्च गरेर ब्रान्ड बनेकासँग हाम्रो उत्पादन रुचाइएन । साँच्चै भन्नुपर्दा, विश्वका प्रख्यात भनिएका ब्रान्डले धेरै देशलाई महँगीको चपेटामा धकेलेका छन् । व्यापार घाटाको मुख्य कारक बनेका छन् । यो गलत भइरहेको छ । 

पुँजीवादीले पैसाको भरमा मार्केट कब्जा गरेका छन् । तर, हामी उपभोक्ता विदेशीको सिको गरिरहेका छौँ । अहिले पनि जापानिजहरू १० गुणा महँगो परे पनि आफ्नै देशमा उत्पादित चामल खान्छन् । पर्यटक पाहुनाका लागि होटेल वा घरमा बासमती चामल चाहियो भने पनि उच्च कर तिर्नुपर्छ । विदेशी चामलको भर पर्दा विविध कारणले महँगो भयो वा आपूर्ति नै रोकिन पुग्यो भने भोकभोकै परिन्छ भनेर उनीहरू चामल आयात गर्दैनन् । यो संस्कृति सबैभन्दा बढी हामीलाई चाहिएको छ । आफ्नो देशकै कृषि उपज उपभोग गर्ने बानी बसाल्नुपर्छ । 

विदेशी मुलुकसँग भर पर्दा उनीहरूकोमा मूल्य घट्यो भने खुसी हुनुपर्ने, उनीहरूकोमा बढ्यो भने हाम्रोमा पनि बढिहाल्ने हुन्छ । अहिले भएको यही हो । शक्तिमुलुकले अत्यावश्यक चिजमा जहिल्यै खेल्छन् नै । हामीले देशको भूगोलअनुसारको उत्पादनमा जोड दिनुपर्छ । मूल्य र माग हेरेर जुन ठाउँमा जे धेरै फल्छ त्यही लगाउनेतर्फ लाग्नुपर्छ । हिमाली भेगमा फलेका स्याउलाई सहजै काठमाडौंमा ल्याउने व्यवस्था मिलाउँदा स्वदेशी उत्पादन प्रोत्साहित हुन्छन् । पछिल्लो समय सिमेन्ट र डन्डी निर्यात सुरु भएको छ । बिजुली निर्यात सुरु भएको छ । यो एकाध सकारात्मक सुरुवातलाई बढाउनेतर्फ राष्ट्रको ध्यान गम्भीर रूपमा जान सक्नुपर्छ । पेट्रोल, डिजेल र ग्यास होइन, स्वदेशी बिजुली उपयोग गर्दा नै देश र जनताको भलो हुन्छ । अन्यथा, देश आर्थिक संकटमा फस्दै जाने निश्चित छ ।