१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १o:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अफ सिजनमा पनि सुनसान छैन अन्नपूर्ण पदमार्ग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:३२:oo

पदयात्राका लागि उपयुक्त मौसम नभए पनि अन्नपूर्ण पदमार्गमा यतिवेला पर्यटकको चहलपहल घटेको छैन । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका अनुसार पदयात्राको समय नमानिने जुन, जुलाई र अगस्टको ४ तारिखसम्म पदमार्गमा चार सय ३९ विदेशी पर्यटक आएका छन् । यस वर्षको जुनमा एक सय ९५ जना, मेमा एक हजार ९६ जना, अगस्ट ४ सम्म ४८ जना पर्यटक पदमार्गमा आएका छन् । 

एक्याप धारापानी चेकजाँच केन्द्रका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार हाल दैनिक १०–१२ जना पर्यटक पदमार्गमा भित्रिएका छन् । असारदेखि भदौ १५ सम्मको समय अफ सिजन मानिने भए पनि यो समयमा समेत पदमार्गमा पर्यटक आएका छन् । सन् २०२२ को हालसम्म चार हजार नौ सय १९ जना पर्यटक पदमार्गमा भित्रिएका छन् ।

गत वर्ष २०२१ को जुलाई महिनामा एकजना मात्र पर्यटक आएका थिए । गत वर्ष बाढीपहिरोका कारण बाटो अवरुद्ध भएकाले पर्यटक आउन सकेका थिएनन् । एक्यापका अनुसार पदमार्गमा सन् २०१८, २०१९ र २०२० मा एकजना पनि पर्यटक आएका थिएनन् । 

२०२२ को जनवरीमा ४१ जना, फेब्रुअरीमा एक सय ६९, मार्चमा एक हजार दुई सय ३१ जना र अप्रिलमा दुई हजार तीन सय ८२ जना पर्यटक आएका थिए । एक्याप मनाङका प्रमुख लेखनाथ गौतमले बर्खामा पनि पदमार्गमा पर्यटक आइरहेको बताए । उनले भने, ‘गत वर्ष कोरोना र बाढीका कारण पदमार्गमा पर्यटक आउन सकेका थिएनन् । अन्नपूर्ण पदमार्गमा सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेबु्रअरीदेखि अप्रिलसम्म पदयात्राको राम्रो समयका रूपमा लिइन्छ ।’ 

अन्नपूर्ण पदमार्गमा विशेष गरी इजरायल, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेलायत, अमेरिकी पर्यटक आउने गर्छन् । लमजुङ सदरमुकाम बेँसीसहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारका रूपमा चिनिन्छ । बेँसीसहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत तथा मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ ।

पदयात्राका सौखिनका लागि जीवनको प्रतिष्ठासमेत बन्ने गरेको पाँच हजार चार सय १६ मिटरको थोराङ भञ्ज्याङलाई पार गर्दा आन्तरिक तथा बाह्य पर्यटक आफूलाई भाग्यमानी ठान्छन् । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ ।

ad
ad