गरिबीका कारण देशमा बेरोजगारी, अभाव, अशिक्षा आदिसँगै अनेकौँ विकृति र विसंगति फैलिन तथा नागरिक विद्रोह जन्मिन समय लाग्दैन
देशमा बल्झिरहेका समस्या सुल्झाउन तथा आमूल परिवर्तनका लागि जति कोसिस गरे पनि किसान, मजदुर, भरिया, गोठाला, हलिया आदि श्रमजीवी नागरिकका सपना अधुरै छन् । आँखाभरि आँसु लिएर राजनीति र राजनेताको घृणालाई खेपेर कतिन्जेलसम्म मौन रहनुपर्ने हो नागरिकले ? नागरिकलाई आफ्नो हक र अधिकार दिलाउन तथा देशमा आमूल परिवर्तनका लागि हजारौँ नागरिकले दिएको बलिदान बेकार जाने भयो त ? आफ्नो देशरक्षाका लागि जसरी हाम्रा पुर्खाले हाँसीहाँसी प्राणोत्सर्ग गरे त्यसरी नै आमनागरिक आज देशको होइन, आफ्नो जीवनरक्षाका लागि सतर्क हुनुपरेको छ । अनि कसरी बन्छ नयाँ नेपाल, कसरी हुन्छ देशको विकास ? आमनागरिकलाई न्यूनतम सुविधा तथा अधिकार प्रदान गरेर जीवन सहज बनाउन हरेक नागरिकले सहयोग गर्नुपर्छ ।
दुई मुठी पिठोका भरमा आमनागरिक आज पनि सुख पाउने र देश बनाउने ठूलो सपना बोकेर चर्को श्रम गर्न बाध्य छन् । दिनभरि हलो जोत्न, भारी बोक्न विवश छन् । कति अनाथ नागरिकले सडकपेटीमा नयाँ नेपालको पर्खाइमा जीवन बिताइरहेका छन् । कति नागरिक प्राण धान्नकै लागि अनेकौँ दुःख, कष्ट काट्न बाध्य भएका छन् । तर, किन आमनागरिकको सपना साकार पार्न कोही अगाडि बढ्दैनन् ? राजनीतिक पार्टीहरू नागरिकका अधिकार खोसेर अगाडि बढिरहेका छन् । तर, त्यसको कुनै अर्थ छैन ।
राजनीतिक खिचातानी, बढ्दो भ्रष्टाचार र चुलिँदो महँगीका कारण यता देश रोइरहेका वेला यो पार्टी तेरो, यो पार्टी मेरो नभनी अघि बढ्ने समय आएको छ
नागरिकहरू आफ्नो भतभती पोलिरहेको घाउमा शीतलता दिन अर्थात् आफ्नो चहर्याइरहेको घाउमा मलामपट्टीको आशामा क्षितिज पारि–पारिसम्म चियाइरहेका छन् । तिनीहरूको इच्छा र आकांक्षालाई पूरा गर्न सकियो भने मात्र देशको मुहार फेर्न सकिन्छ । तर, नागरिकहरू आज पनि मुटुभरि पीडा बोकेर राजनीतिक पार्टीकै शरण पर्न बाध्य भइरहेका छन् । जस्तोसुकै संघर्ष गरेर भए पनि आफ्ना आकांक्षा साकार पार्न अहोरात्र खटिइरहेका छन् । साँढेको जुधाइमा बाच्छाको मिचाइ’ भनेझैँ कति नागरिक आज पनि राजनीतिक दलहरूको जुधाइमा परेर मिचिइरहेका छन् । तसर्थ, अब आमनागरिकका सम्पूर्ण सपना साकार पार्न सम्पूर्ण राजनीतिक दल र नागरिक समाज, वुद्धिजीवी, पत्रकारलगायत सबै एक ढिक्का भएर लाग्न सक्नुपर्छ, नत्र देशमा लोकतान्त्रिक गणतन्त्र आएको कुनै अर्थ हुनेछैन । अहिले पनि हाम्रो देशमा धेरै नागरिकको घरमा बिहान खाए बेलुका के खाने र बेलुका खाए बिहान के खाने ? भन्ने समस्या ज्युँकात्युँ छन्, यस्तो वेला उनीहरूले नागरिक सर्वोच्चता कसरी पाउने ? जब नागरिक गरिबीको जन्जालभित्र पर्छ, त्यहाँ बेरोजगारी, अभाव, अशिक्षा आदिले गर्दा अनेकौँ विसंगति फैलिन र नागरिक विद्रोह जन्मिन समय लाग्दैन ।
देशका ठूला नेता र बुद्धिजीवी भनाउँदा राजनीतिक विज्ञहरूलाई सत्ता र भत्ता पाए पुग्छ । चाहे त्यसका लागि हजारौँ नागरिकका लास कुल्चेर नै किन जानु नपरोस् । जब सहिदको सपना साकार पार्न सकिँदैनथ्यो भने किन गर्यौ ०६२/६३ को आन्दोलन ? यस्ता प्रश्न लाखौँ नागरिकका मनमा उब्जिइरहेका छन् । त्यसैले, हजारौँ सहिदका सपना खेर जान दिनु हुँदैन । अब आलोचकका शब्दवाण र पीडाभावका स्वर सुनेर आफूलाई पछि नपारी एक हातमा वीर सहिदको अठोट र अर्को हातमा गणतन्त्र नेपालमा जागरण ल्याउन अदम्य साहस र आँट बोकेर हिँड्ने वेला भएको छ हामीले । मायाको छहारी र ममताको आँचलले घरपरिवारलाई चौबीसै घन्टा बेरिरहने वेला छैन । सहिदका सपनालाई साकार पार्न अब हामी नागरिक समाज अघि बढ्नैपर्छ । राजनीतिक खिचातानी, बढ्दो भ्रष्टाचार र चुलिँदो महँगीका कारण यता देश रोहिरहेका वेला यो पार्टी तेरो, यो पार्टी मेरो नभनी अघि बढ्ने समय आएको छ ।
हामी सबै नेपाली नागरिक हौँ, नेपाल हाम्रो देश हो भन्ने मूल मन्त्रलाई छातीमा राखेर अगाडि बढ्यौँ भने हामी गन्तव्यमा पुग्न सक्छौँ । यात्रामा अवरोधका रूपमा ठडिएका अन्यायका खम्बालाई ढाल्दै हामीले राम्रो काम गर्नेसँग हातेमालो गर्दै अगाडि बढ्नैपर्छ । विगतमा हाम्रा नेताहरूको कमी–कमजोरी र निरंकुश सामन्ती प्रवृत्तिविरुद्ध लड्दा कैयौँ आमाका काख रित्तिएका छन्, हजारौँ चेलिको सिन्दुर पुछिएको छ । कैयौँ छोराछोरी टुहुरा भएका छन् । तर, हामीले हिम्मत हार्नु हुँदैन । नयाँ नेपालको बिगुल फुक्नका लागि हामीले अझै पनि एक स्वर भएर चुनौतीको सामना गर्नुपर्ने वेला आइरहेको छ । अब जुनसुकै कुनामा छरिएर बसेको भए पनि सम्पूर्ण नागरिक समाजले आ–आफ्नो ठाउँबाट सरकारलाई निरन्तर सकारात्मक दबाबद्वारा घचघच्याउनुका साथै सल्लाह र सुझाब पनि दिइराख्नुपर्छ । जसरी थोपा–थोपा मिलेर सागर बन्छ, त्यसरी नै हामी सबै नागरिक समाज, नेता, कार्यकर्ता, बुद्धिजीवी तथा पत्रकार मिली सुन्दर, शान्त, गणतन्त्र नेपाल बनाउनुपर्छ ।