निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज ९ आइतबार
  • Sunday, 25 September, 2022
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २१ शनिबार १७:३१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आदिवासी जनजाति महिलाद्वारा लोकल रक्सीको ‘प्याटेन्ट राइट्स’ माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २१ शनिबार १७:३१:००

नेपालका आदिवासी जनजाति महिलाहरूले लोकल रक्सीलाई ब्रान्डिङ गर्ने बहसमा विमति जनाएका छन् । लोकल रक्सीलाई ब्रान्डिङ गर्दा निश्चित व्यापारीलाई फाइदा हुने तर आदिवासी महिलाको परम्परागत ज्ञान र आर्थिक व्यवस्थामा खलल पुग्ने भन्दै उनीहरूले विमति जनाएका हुन् । आदिवासी जनजाति महिलालाई स्वतन्त्र र निर्वाध रूपमा लोकल रक्सी उत्पादन गर्न दिनुपर्ने उनीहरूको माग रहेको छ । लोकल रक्सीलाई ब्रान्डिङ गर्दा आदिवासी जनजाति महिलाको परम्परागत ज्ञान र परम्परागत आर्थिक व्यवस्थामा असर पर्ने उनीहरूको भनाइ छ । 

२८औँ विश्व आदिवासी दिवसको अवसरमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताहरूले लोकल रक्सीलाई ब्रान्डिङ गर्ने काम आदिवासी महिलाको विरुद्ध हुने धारणा राखेका छन् । कार्यक्रममा बोल्दै राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी अध्यक्ष सुनी लामाले लोकल रक्सी उत्पादन गर्ने परम्परागत ज्ञानको मुख्य हकदार आदिवासी जनजाति महिला रहेको बताउँदै ब्रान्डिङ गर्ने प्रयासले अधिकार खोस्ने बताइन् । ब्रान्डिङ नै गर्ने हो भने त्यसको प्याटेन्ट राइट्स (प्रतिलिपि अधिकार) आदिवासी महिलामा हुनुपर्ने उनले बताइन् । 

‘ब्रान्डिङ गर्दा निश्चित व्यापारीलाई फाइदा होला तर तमाम आदिवासी महिलाहरूबाट परम्परागत ज्ञान र परम्परागत अर्थव्यवस्था खोसिन्छ । लोकल रक्सी उत्पादन गर्ने ज्ञान आदिवासी महिलाको परम्परागत ज्ञान हो, सीप हो,’ उनले भनिन्, ‘यसको प्याटेन्ट राइट्स आदिवासी महिलासँग मात्र हुन्छ । यो अरूको हुन सक्दैन ।’ राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका संस्थापक अध्यक्ष स्टेला लामाले वौद्धिक सम्पत्ति संरक्षणको नाममा आदिवासी जनजाति महिलाको परम्परागत ज्ञानमाथि हस्तक्षेप गर्ने नीति अघि सारिएको आरोप लगाइन् । आदिवासी जनजाति महिला ज्ञानको खानी रहेको भन्दै उनीहरूको ज्ञानलाई परम्परागत रूपमै संरक्षण गर्नुपर्नेमा उनको जोड थियो । परम्परागत ज्ञानबाट उत्पादित रक्सीलाई राज्यले प्रतिबन्ध लगाउने भन्दा पनि संरक्षण गर्नुपर्ने उनको भनाइ छ ।

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका महासचिव शान्ति देवानले लोकल रक्सी उत्पादन आदिवासी जनजाति महिलाको परम्परागत ज्ञान र अर्थव्यवस्था रहेको बताउँदै उक्त ज्ञानको राज्यपक्षबाटै संरक्षण र प्रवर्धन हुनुपर्नेमा जोड दिइन् ।‘आदिवासी जनजाति समुदायमा रक्सी उत्पादन परम्परागत ज्ञान र अर्थव्यवस्था हो । त्यसबाट नै आदिवासी जनजातिको परिवार चलेको छ । त्यसैले यो ज्ञानको संरक्षण राज्यले नै गर्नुपर्छ,’ उनले भनिन् । 

विश्वका आदिवासीहरूले हरेक वर्ष ९ अगस्टलाई ‘विश्व आदिवासी दिवस’को रूपमा मनाउने गरेका छन् । आदिवासी जनजातिका अधिकार संरक्षण गर्ने र चेतना जगाउने उद्देश्यले मनाइने यो दिवस नेपालमा पनि हरेक वर्ष विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ । नेपालमा क्रियाशील आदिवासी जनजातिसँग सम्बन्धित संघ संस्थाहरूले हरेक वर्ष संयुक्त रूपमा सप्ताहव्यापी कार्यक्रम गरेर मनाउँदै आएका छन् । विश्व आदिवासी दिवसका यस वर्षको मूल नारा ‘आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका’ रहेको छ ।