मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २० शुक्रबार २१:०५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

‘दिगो फोहोर व्यवस्थापनका लागि भान्साबाटै कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्छ’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २० शुक्रबार २१:०५:००

सहरी फोहोर व्यवस्थापनको दिगो समाधानका लागि भान्सामै वर्गीकरण गर्नुपर्ने वातावरण सुधार र जनस्वास्थ्य क्षेत्रबाट सुझाव आएको छ । आज राजधानीमा काठमाडौं महानगरपालिकाको वातावरण तथा कृषि विभाग, फ्रान्सको मेड्सा डु मोन्ड, ग्रिन पाथ नेपाल र संयुक्त सफाइ जागरणले आयोजना गरेको कार्यक्रममा यस्तो सुझाव आएको हो । स्रोतमा फोहोर वर्गीकरण र दिगो फोहोर व्यवस्थापनमा अनौपचारिक क्षेत्रको योगदान विषयमा केन्द्रित थियो  । 

कार्यक्रमको समूहगत छलफलमा बोल्दै काठमाडौं महानगरको वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोलले काठमाडौँ महानगरपालिकाले जिम्मेवारीपूर्वक फोहोर व्यवस्थापनमा काम गरिरहेको बताए । ‘हामी उत्तरदायी होऔँ, फोहोर व्यवस्थापनको काम हामी नै गर्छौँ । फोहोर संकलन, ढुवानी तथा अन्तिम व्यवस्थापनमा समस्या आउने गरेका छन् । तिनको समाधान हामी आफैँ गर्छौँ,’ उनले भने । 

नगरपालिका वा ल्यान्डफिल साइटका मानिसहरूलाई गाली गर्नुभन्दा हरेक व्यक्तिले भान्साबाट फोहोर छुट्याउनमा योगदान गर्नुपर्ने छलफलमा सहभागी वक्ता र टिप्पणीकर्ताहरूको भनाइ थियो । छलफलको निष्कर्षका बारेमा जानकारी दिँदै कार्यक्रमका सहजकर्ता वातावरणविद् भूषण तुलाधरले भने, ‘नीतिगत व्यवस्थाको कार्यान्वयन, योजना र सहकार्यबाट सहरको फोहोरलाई दिगो व्यवस्थापन गर्न सकिन्छ । यसको सुरुवात घरबाट होइन भान्साबाट फोहोर वर्गीकरण गर्न थाल्नुपर्छ ।’

मेड्सा डु मोन्डले काठमाडौँ महानगरसँग सम्झौता गरेर वडा १९ को साबिक सहरी स्वास्थ्य क्लिनिकलाई स्तरोन्नति गरेर ओपिडीसहितको सेवा सञ्चालन गरेको छ । अनौपचारिक क्षेत्रबाट फोहोरमैला व्यवस्थापन गर्ने व्यक्तिहरूलाई लक्षित समूह बनाएर यो कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा मेड्सा मेड्सा डु मोन्ड फ्रान्स नेपाल मिसनका कार्यक्रम प्रबन्धक अस्मिता थापाले बागमती र विष्णुमती नदी किनारमा रहेका अनौपचारिक क्षेत्रका सफाइकर्मीहरूको स्वास्थ्य तथा सामाजिक विकासका लागि काम भइरहेको बताइन् । 

कार्यक्रममा काठमाडौं महानगरको वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापति, ६ का अध्यक्ष भुवन लामा, २९ का अध्यक्ष कुश ढकाल, मिस नेपाल अर्थ २०२२ डा. सरिसा श्रेष्ठसहित क्षेत्रगत पदाधिकारीहरूको सहभागिता रहेको थियो ।