१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २० शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७९ श्रावण २० शुक्रबार १८:o२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

स्नातकोत्तरमा ‘मिडिया स्टडिज’ पढाउने तयारी गर्दै केयू

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ श्रावण २० शुक्रबार १८:o२:oo

काठमाडौं विश्वविद्यालय (केयू) ले स्नातकोत्तर तहमा ‘मिडिया स्टडिज’ विषयको पढाइ सुरुवात गर्ने तयारी गरेको छ। ‘मास्टर्स इन मिडिया स्टडिज’ कोर्सअन्तर्गत उक्त नयाँ विषयको पढाइ यसै वर्षदेखि सुरु गर्न लागिएको हो।

केयूले १६ वर्षदेखि स्नातक तहमा भने सो विषयको पढाइ सञ्चालन गर्दै आएको छ। अब ‘मिडिया स्टडिज’ कार्यक्रमलाई स्नातकोत्तर तहमा पनि विस्तार गरिएको केयूका भाषा तथा आमसञ्चार विभाग प्रमुख डा. सुधांशु दाहालले बताए। 

आमसञ्चार र पत्रकारिता विषय नेपालका अन्य विश्वविद्यालयमा पढाइ हुँदै आए पनि त्योभन्दा अझ प्रभावकारी कोर्स केयूले सुरु गर्न लागेको उनको दाबी छ। ‘यस्तो प्रकारको कोर्स नेपालमा नयाँ हो,’ उनले भने, ‘यसभित्र पत्रकारिता मात्रै छैन, कम्युनिकेशन र नयाँ प्रविधि तथा मिडियासँग सम्बन्धित पाठ्यक्रम पनि छ।’ उनले यो विषय धेरै नै प्रयोगात्मक हुने भएकोले पढाइपछि दक्ष जनशक्ति उत्पादन हुने बताए। यो विषयमा स्नाकोत्तर गरेपछि एमफिल नपढी पिएचडीमा भर्ना हुन सकिन्छ।

त्यस्तै, यसमा स्नातकोत्तर गर्न चाहने विद्यार्थीले स्नातक तहमा कम अंक ल्याएको भएपनि उसको कार्य अनुभवलाई मूल्यांकन गरिने छ। स्नातक तहमा कम अंक ल्याएपनि १० वर्ष मिडिया क्षेत्रमा काम गरेको छ भने सो अनुभवका आधारमा स्नाकोत्तरमा भर्ना लिइने छ।  यो विषय पढ्ने केहिलाई विश्वविद्यालयले २० प्रतिशतसम्म छात्रवृत्ति पनि प्रदान गर्नेछ।

केयुका सहप्राध्यापक डा. निर्मलमणी अधिकारीले यो विषयभित्र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम समावेश भएकोले त्यसबाट नेपालका विद्यार्थीहरु लाभांन्वित हुने बताए। यो कोर्समा स्नातकोत्तर तहमा पढाइ हुने विषयमध्ये एक चौथाइ विषयहरु अनुसन्धानसम्बन्धी रहेको उनको दाबी छ। ‘मिडिया उत्पादन, मिडिया व्यवस्थापन जस्ता विषयहरु व्यवसायिक मिडिया कर्ममा लाग्न चाहनेहरुका लागि ज्ञानको बलियो आधार हुन सक्छ,’ उनले भने, ‘यो कार्यक्रम तयार गर्दा नेपाल र एसियाकै मौलिक परम्परा, ज्ञान र दर्शनलाई ध्यानमा राखिएको छ।’

यो पनि अन्य स्नाकोत्तर कोर्स जस्तै दुई वर्षे कोर्स हो। यो विषय पढ्ने विद्यार्थीले तीमध्ये मोबाइल पत्रकारिता, फिल्म अध्ययन, विज्ञापन व्यवस्थापन, प्रसारण पत्रकारिता, रेडियो स्टेसन व्यवस्थापनलगायत २८ वटा विषयहरुबाट तीन वटा ऐच्छिक विषय छान्न सक्नेछन्। स्नातकोत्तर तहमा मिडिया स्टडीजमा भर्ना हुनका लागि आवेदकले जुनसुकै विषयमा कम्तिमा ३ बर्षे स्नातक तहको पढाइ पूरा गरेको हुनुपर्नेछ। त्यस्तै हरेक वर्ष २० जनालाई मात्रै भर्ना लिइने छ भने दुई वर्षे कोर्स पूरा गर्नको लागि चार लाख पढाई शुल्क लाग्ने बताइएको छ।