मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
अनु आचार्य काठमाडौं
Invalid date format o८:o९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

डेढ वर्षदेखि माथिल्लो मैलुङ ‘ए’को काम ठप्प

Read Time : > 1 मिनेट
अनु आचार्य, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:o९:oo

रसुवा र धादिङको सीमाक्षेत्र सोमदाङमा निर्माण भइरहेको ६.५ मेगावाटको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत् आयोजनाको काम ठप्प भएको छ । आयोजना निर्माणका लागि रकम अभाव भएपछि आयोजनाको काम रोकिएको हो । कोरोना महामारी, त्रिशूली थ्री बीको प्रसारण लाइन नबन्नु तथा रकम अभावका कारण करिब डेढ वर्षदेखि काम ठप्प भएको आयोजनाका प्रमुख जितमान शेर्पाले बताए । ‘सुरुको कोभिडमा काम रोकियो, दोस्रो कोभिड हुँदा काम गर्‍यौँ, त्यतिवेला सफ्ट ट्यांकको काम गरेका थियौँ, त्यसपछि हिउँ पर्‍यो, काम हुन सकेन, हिँउ पर्ने समयमा काम नै हुँदैन,’ उनले भने ।

बैंकले सम्पत्ति धितो राखेर ऋण दिन बन्द गरेसँगै आयोजना निर्माणका लागि रकम अभाव भएको उनले बताए । ‘बैंकहरूले लोन दिन रोकेपछि आर्थिक अभाव भयो, काम गर्न सकेनौँ, यस्तो समयमा कहाँबाट ल्याउने पैसा, हाम्रो सम्पत्ति राखेर पनि पैसा पाएनाैँ, त्यही भएर पनि काम रोकिएको हो,’ उनले भने, ‘अब अहिले ऋण दिने भनिएको छ, हामी पनि प्रक्रियामा गएका छौँ ।’ 

आगामी साता निर्माणस्थलमा जाने तयारीमा रहेको उनले बताए । हालसम्म आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भएको उनको भनाइ छ । ‘अब मेसिन जडान, दुई सय ५० मिटर पाइप जडान, ६ वटा ट्यांकर ब्लक बनाउने काम बाँकी छ,’ उनले भने । त्रिशूली थ्री बीको प्रसारण लाइन नबन्दा आयोजनाको प्रसारण लाइन निर्माण हुन नसकेको समेत उनले बताए । ‘त्रिशूली थ्री बीको प्रसारण लाइनमा हाम्रो विद्युत् जोडिने हो, यो नबनेसम्म हाम्रो आयोजना सम्पन्न भए पनि विद्युत् खेर जाने देखिन्छ,’ उनले भने, ‘अब त्रिशूली थ्री बीको प्रसारण लाइन सँगसँगै हामीले पनि काम गर्नुपर्ने देखियो ।’ वन क्षेत्रबाट प्रसारण लाइन बनाउनुपर्ने भएकाले स्वीकृतिका लागि प्रक्रिया अघि बढाइएको छ ।

अर्को वर्षदेखि उत्पादन सुरु गर्ने गरी काम गरिरहेको आयोजनाले ग्राङसम्म आफूले नै प्रसारण लाइन निर्माण गर्नुपर्छ । आयोजनाका अनुसार सोमदाङदेखि ग्राङसम्म १६ किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्छ । आयोजनाको काम वेला–वेलामा रोकिँदै आएको छ । चिसो मौसम सुरु भएपछि काम रोकिने गरेको छ भने हिउँ पर्ने समय, वर्षा र चाडपर्वको समयमा आयोजनामा कुनै पनि काम हुँदैन ।

रसुवा र धादिङको सीमाक्षेत्र सोमदाङमा ०६९ सालदेखि आयोजना निर्माण सुरु भएको हो । भूकम्प, नाकाबन्दी, ठेकेदार परिवर्तन, वर्षा र हिउँ पर्ने समयमा काम हुन नसक्नेलगायतका कारण आयोजना निर्माणको कामले गति लिन सकेको थिएन । हरेक वर्ष असारदेखि भदौसम्म र पुसदेखि चैतसम्म दुई चरणमा निर्माण कार्य अवरुद्ध हुने गरेको छ । नियमित काम गर्न सकिएमा करिब ६ महिना मात्र आयोजनाको काम हुने गरेको छ । यो आयोजना रन अफ रिभर प्रणालीमा निर्माण भइरहेको छ । आयोजनाले हिउँदको समयमा पनि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सक्ने आयोजनाले जनाएको छ ।