१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ श्रावण १८ बुधबार १६:३७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोसीपीडित १५ सय घरपरिवारको उद्धार

विद्यालय, सामुदायिक भवन र मन्दिरमा बास

Read Time : > 1 मिनेट
२०७९ श्रावण १८ बुधबार १६:३७:००

सप्तकोसीको बाँध फुटेर गाउँ पसेपछि विस्थापित भएका एक हजार पाँच सय परिवारको उद्धार गरिएको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार बेलका नगरपालिका वडा नम्बर ३, ८ र ९ तथा सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ का स्थानीयको उद्धार गरिएको हो ।

उनका अनुसार उद्धार कार्य जारी छ । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय खटिएका छन् । उनले भने, ‘बेलका नगरपालिकाको वडा नम्बर १ र २ मा पनि उद्धार गर्न टोली खटिएको छ ।’ उद्धार गरिएका घरपरिवारलाई उच्च स्थानमा रहेका विद्यालय, सामुदायिक भवन, मन्दिर तथा चर्चमा राखिएको उनले बताए । उनले भने, ‘उद्धार जारी छ । साँझसम्म तथ्यांक संकलन हुन्छ ।’

यता बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बाढी प्रभावित क्षेत्रबाट झन्डै एक हजार आठ सय घरपरिवारलाई आज साँझसम्म सुरक्षित स्थानमा ल्याउनुपर्ने बताए । उनले भने, ‘कोसीको माथिल्लो भागबाट तल्ला भागमा पानी बढेर आउने क्रम जारी छ । त्यसो भएकाले तत्काल प्रभावित हुने क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा पुर्‍याउनुपर्नेछ ।’

अविरल वर्षाले सप्तकोसी नदीमा पानीको बहाव बढेपछि उदयपुरको बेलका नगरपालिका– ८ मा रहेको लहुरेखोँचको डुम्रीबोटको बाँध फुटेको छ । बाँध फुटेपछि बुधबार बिहान कोसी मानवबस्तीमा पसेको थियो । 

बेलका नगरपालिका वडा नम्बर १, २, ३, ८ र ९ तथा सुनसरीको बराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६ र ९ का स्थानीय प्रभावित भएका छन् । प्रभावित क्षेत्रका स्थानीय आफ्नो घरको खाद्यान्न, लत्ताकपडा र वस्तुभाउ लिएर सुरक्षित स्थानतर्फ लागेका छन् ।

पानीको बहाव बढेपछि सप्तरी जिल्लामा पर्ने सप्तकोसी नगरपालिकाका ६ र ७ नम्बर वडामा प्रत्यक्ष रूपमा असर पर्न सक्ने बताइएको छ । जसका लागि सतर्कता अपनाउन सुरु गरिएको छ । त्यसैगरी सप्तरीकै कञ्चनपुर नगरपालिकाका १, २, ४, ५ र १० नम्बर वडामा असर गर्ने बताइएको छ ।