
पहिरोले दोलखाको उपल्लो उत्तरी क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग सुनखानी–साङ्बा सडक अवरुद्ध बनेको छ । गएरातlको वर्षातका कारण कालिञ्चोक गाउँपालिका– १ स्थित सुनखानी–साङ्बा सडकखण्डको क्याङपोलमा झन्डै ८० मिटर सडक बगेपछि अवरुद्ध बनेको हो ।
सडक अवरुद्ध हुँदा बेगुम्पा पुगेका चारवटा बोलेरो जिप उतै थुनिएको कालिञ्चोक– १ का वडाध्यक्ष पदम थामीले जानकारी दिए । सडक अवरुद्ध हुँदा नियमित यात्रा गर्ने यात्रु र निकोभुमे माध्यमिक विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीसमेत विद्यालय आउन सकेका छैनन् । कालिञ्चोक– १ को क्याङपोल र मुङ्चाको बीचभागमा पर्ने हेलेक्पाथली भन्ने स्थानमा पहिरो झर्दा सडक अवरुद्ध बनेको हो ।
कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले पहिरोका कारण दर्जनौँ बस्तीसँग सम्पर्क टुटेको बताएका छन् । उनले तत्काल सडक सञ्चालनमा ल्याउन कठिनाइ भएको बताएका छन् । उक्त खण्डमा पूर्वाधार विकास कार्यालयको ठेक्का लागेको भएकाले समाधानका लागि आवश्यक पहल भइरहेको जनाएका छन् ।