मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १६ सोमबार
  • Saturday, 14 December, 2024
२o७९ श्रावण १६ सोमबार o७:४९:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

बालबालिकाका लागि आत्मनिर्भर शिक्षा

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १६ सोमबार o७:४९:oo

आत्मनिर्भर बनाउन नसक्ने शिक्षाले बालबालिकाको भविष्य उज्ज्वल बनाउन सक्तैन । विकसित मुलुकका विद्यालयमा बालबालिकालाई गृहकार्यका रूपमा आफैँले पत्ता लगाई विभिन्न विषयमा सूचना संकलन गर्न लगाउने अभ्यास गराइन्छ । बालबालिकाको उमेर सुहाउँदा ससाना काम आफैँले गर्नुपर्ने हुन्छ, जसलाई तिनले व्यवहार र प्रयोगमा सहजै ल्याउन सक्छन् । हाम्रोजस्तो समाजमा बालबालिकाले घरायसी वातावरणबाट पनि कतिपय व्यावहारिक सीप सिक्न सक्छन् । बालबालिकाले हाँस्दै–रमाउँदै सिक्न पाउनुपर्छ । सिकाइ प्रभावकारी र व्यवस्थित गर्न विषयगत सामग्रीमा खेलौना, अनि मात्र सिकाइ प्रक्रियालाई बढाउनु उपयुक्त हुन्छ । बालबालिका पढ्ने कक्षाकोठा आकर्षक र स्वस्थ हुनु जरुरी छ ।

विद्यालय, घरपरिवार समुदायले समेत बालबालिकालाई बालमैत्री व्यवहार गरिनुपर्छ । विद्यालय कक्षाभित्र बालकेन्द्रित क्रियाकलाप हुनैपर्छ । हरेक शिक्षकले आफूले पढाउने विषय वस्तुसँग सम्बन्धित शैक्षिक सामग्रीमा चित्र, शब्द, कार्ड, अक्षर कार्ड आदिका साथै गीत, कथा, कविताका माध्यमबाट सिर्जनात्मक क्रियाकलाप विकास गराउन सक्छ ।

बालबालिकालाई पढ्न सिकाउने विधि अपनाउँदा साह्रै रोचक र सरल ढंगले तिनका इच्छा र चाहनालाई कदर गर्दै मायालु वातावरणमा पढाउनुपर्छ । अनि मात्र क्रमैसँग तिनको सोच र विचार विकास र परिवर्तन हुँदै पढ्ने रुचि बढ्छ । हुन त पढ्ने सीपलाई यान्त्रिक कौशलका रूपमा हेर्ने पनि गरिन्छ । तिनलाई अक्षरका आकृतिसँग जानकारी गराउँदै घोकाउने प्रवृत्तिकै बाहुल्य छ । आज यस किसिमको सिकाइ विधिलाई अवैज्ञानिक भन्न थालिएको छ । पढ्न सिकाउने यस्ता प्रक्रियाले केटाकेटीलाई उत्साह जगाउँदैन । पट्यारलाग्दा शैक्षणिक प्रक्रियाले बालबालिकाको सिक्ने मनोबल कमजोर हँुदै जान्छ । लामो समयसम्म विद्यालय गएका आफ्ना केटाकेटीले अक्षर पढ्नदेखि अन्य कुरा नजानेको देखेर अभिभावक निराश हुने र बालबालिकालाई हकार्नेसमेत गर्दा केटाकेटी निरुत्साहित हुन पुग्छन् ।

हाम्रो समाजमा पठन संस्कृतिको खासै विकास भएजस्तो लाग्दैन । कतिपय विद्यालयका शिक्षक पनि नयाँ–नयाँ सूचनाको जानकारी लिएर विद्यार्थीका कक्षाकोठामा जाने गरेको देखिँदैन । क्याम्पस, विश्वविद्यालयलगायतमा प्राध्यापन गर्ने प्राध्यापकसमेत पुरानै नोट बोकेर कक्षाकोठामा प्रवेश गरेका देखिन्छन् । ती नोट पनि वर्षौँ पहिले तयार गरिएका पाठमा सीमित देखिन्छन्, नयाँपन केही देखिन्न । यसरी मुलुकका बौद्धिक व्यक्तिहरूमा समेत पठनीय आदत मौलाउन सकेको देखिँदैन । यसको मूल चुरो भनेको बाल्यकालदेखि नै सिक्ने, बुझ्ने र पढ्ने आदतको कमीले गर्दा यस्तो भएको हो । केवल पढ्ने भनेको परीक्षाका लागि मात्र हो । परीक्षामा पास भए पुगिहाल्छ भन्ने आममानसिकताको परिणाम हो ।

सुरुदेखि नै शैक्षणिक विधिमा सुधार गरेर बालबालिकालाई पढ्ने इच्छा जगाउन आवश्यक छ । सानै उमेरदेखि पढ्नुपर्छ र नयाँ कुरा जान्नुपर्छ भन्ने सोचको विकास गराउन पढ्ने बानी चाहिन्छ । त्यसबाट पठन संस्कृतिको विकास हुँदै जान्छ र यसबाट आत्मनिर्भर जनशक्ति निर्माण हुन सक्छ । अहिलेसम्मकै हाम्रो शिक्षाको चुरो भनेको विद्यार्थीलाई जाँचका लागि तयार हुने र पढ–लेख गर्न सक्ने बनाउनेमै सीमित देखिन्छ । यसर्थ, अब बालबालिकालाई पढाउने विधिमा परिवर्तन गरेर पढ्ने इच्छा जगाउने कार्यतर्फ उन्मुख गराउँदै नयाँ कुराको खोजीतर्फ लगाउने शिक्षा चाहिएको छ ।

सानै उमेरदेखि पढ्नुपर्छ र नयाँ विषय जान्नुपर्छ भन्ने सोचको विकास गराउन पढ्ने बानी चाहिन्छ । त्यसबाट पठन संस्कृतिको विकास हुँदै जान्छ अनि मात्र आत्मनिर्भर जनशक्ति तयार हुन सक्छ ।
 

हामीकहाँ बालबालिकालाई गृहकार्य नगरेको निहुँमा निर्घात कुटपिट गरेका समाचार आइरहन्छन् । २१औँ शताब्दीमा पनि हाम्रा कतिपय बालबालिका घर वा विद्यालयमा दण्ड भोग्न बाध्य छन् । अहिले हाम्रो संविधान, ऐन, कानुनले कुनै पनि बहानामा दण्ड दिन पाइँदैन । तैपनि, कतिपय शैक्षिक संस्थामा बालबालिकालाई शारीरिक दण्ड दिँदा हात लट्ठी, पेटी या यस्तै अन्य साधनले कुटपिट गर्ने, गालामा चड्काउने, थप्पड हान्ने, कान तान्ने, कपाल तान्नेजस्ता क्रियाकलाप गर्ने गरेको पाइन्छ । यसरी बालमनोविज्ञान प्रतिकूलका क्रियाकलापले बालबालिकाको भविष्य उज्ज्वल बन्न सक्तैन । यसका लागि विद्यालय, समुदाय, अभिभावक सबैमा सचेतना हुनु जरुरी छ । 

विद्यार्थीको मूल्यांकन पद्धति जुनसुकै अपनाए पनि सिकाइ प्रक्रियामा सुधार नआउन्जेल पठनपाठन प्रभावकारी हुँदैन । हाम्रोजस्तो समाजका बालबालिकामा सिकाइ उपलब्धि खास विषयमा जस्तै गणित, अंग्रेजी विषयमा न्यून देखिन्छन् । अहिले नम्बर दिने प्रणालीबाट अक्षरांक पद्धतिमा लागिए पनि सिकाइ उपलब्धि भने उकासिएको देखिँदैन । नीतिगत कार्यगत सुधारविना सिकाइ उपलब्धि माथि बढ्दैन । हरेक बालबालिकामा विद्यालयमा पठनपाठन गरिने विषयवस्तुमा सिक्ने उत्सुकता जगाउनु जरुरी छ । सिक्ने इच्छाविना कसरी जान्ने र बुझ्ने हुने ? हाम्रा कतिपय बालबालिकामा सिक्ने उत्सुकताको कमीले गर्दा सिक्ने जाँगर मर्दैै जान सक्छ । हाम्रा परिपाटीमा बालबालिकाको रुचि, चाहनाअनुसार सिकाउने नयाँनयाँ प्रविधि खोज्ने जाँगर पनि शिक्षकमा देखिँदैन । समयअनुसार नयाँनयाँ प्रविधि र विधिको प्रयोग गर्न नसक्दा हाम्रा बालबालिका कमजोर हुँदै गएका छन् । यसर्थ, हामीले परम्परागत सिकाइको ढाँचालाई सुधार गरी नयाँ प्रविधि र विधिको प्रयोग गर्न जरुरी छ ।

अबका शिक्षकले बालबालिकाको मनोसामाजिक अवस्था बुझेर सोअनुसार सिक्ने–सिकाउने वातावरण निर्माण गर्नु जरुरी छ । शिक्षकले विद्यार्थीलाई दिएको गृहकार्य गर्दा त्यो कार्य बालबालिकाले आफ्नोलाई होइन, त्यो शिक्षकका लागि गरिदिएको बुझाइ उनीहरूको व्यवहारमा झल्कन्छ । शिक्षकले समयमै बालबालिकाको मनोविज्ञान बुझी आफ्नो सिकाइ विधिमा नयाँपन ल्याई बालरुचि जगाउने क्रियाकलापमा अघि सार्नुपर्छ । देश विकासका लागि दक्ष जनशक्ति नभइहुँदैन यसका लागि शैक्षणिक क्रियाकलापमा नयाँ प्रविधि र विधिको प्रयोग हुन जरुरी छ ।

सीप र ज्ञानको विकासबाट सिर्जनशीलतातर्फ उन्मुख हुने हो । बालबालिकालाई प्रश्नको उत्तर खोज्न सिकाउनुभन्दा उत्तरको विविध प्रयोगबाट ज्ञान सिक्ने नयाँ प्रविधिको उपाय सिकायौँ भने त्यहाँ चिट चोर्ने वा गेसपेपर घोक्ने आदत रहँदैन । सीप र दक्षताविनाको सिकाइ कुनै प्रयोजनको हुँदैन ।पाठ्यक्रमले हरेक बालबालिकामा सिर्जनात्मक, आलोचनात्मक, र विश्लेषणात्मक क्षमतासमेतको उपेक्षा राखेको हुन्छ । यसैलाई आधार मानी विद्यार्थीले कुनै पनि विषयवस्तुलाई स्वतन्त्रतापूर्वक सिक्न र आफूलाई लागेका कुरा निर्भीकतापूर्वक बोल्न र लेख्न सक्ने क्षमता बनाइराख्न सक्नुपर्छ ।
(गौतम शिक्षाविद् हुन्)