१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अर्जुन अधिकारी काठमाडाैं
२०७९ श्रावण १५ आइतबार ०६:२०:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दाताबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको  दुई लाख डोज खोप प्रयोग नै नभएर गयो खेर

Read Time : > 3 मिनेट
२०७९ श्रावण १५ आइतबार ०६:२०:००

चौथो लहरको जोखिम बढिरहेका वेला शनिबार एकै दिन साढे १७ करोड मूल्यबराबरका कोभिसिल्ड खोप ‘डेट एक्स्पायर’

पछिल्ला दिन निरन्तर बढिरहेको कोरोना संक्रमणले चौथो लहरको जोखिम बढाएको छ । तर, सरकारले कोरोनाविरुद्धको खोप अभियान प्रभावकारी बनाउन नसक्दा यही वेला साढे १७ करोड मूल्य पर्ने दुई लाख डोज खेर गएको छ ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार शनिबार दुई लाख डोज कोभिसिल्डको म्याद सकिएको हो । १७ करोड ६४ लाख मूल्यको खोप खेर गएको विभागले जनाएको छ । महाशाखा निर्देशक डा. रुद्र मरासिनीले खेर गएको खोपको मात्रा दुई लाखभन्दा बढी नै पनि हुन सक्ने बताए । ‘शनिबारदेखि म्याद सकिएर कम्तीमा दुई लाख मात्रा कोभिसिल्ड खेर गएको हाम्रो अनुमान छ । योभन्दा बढी नै पनि हुन सक्छ,’ उनले भने, ‘उक्त खोप केन्द्रीय भण्डारण स्टोरमा खेर गएको होइन, जिल्ला–जिल्लामा वितरण भएको खोप हो । विभागले देशभरबाट विवरण माग गरेको छ ।’ 

विभागमा एक लाख ६४ हजार एक सय ७० डोज खेर गएको तथ्यांक आइसकेको छ भने बाँकीको आधिकारिक तथ्यांक संकलन भइरहेको छ । तथ्यांकअनुसार जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंमा १० हजार डोज र बागमती प्रदेशमा ८५ हजार एक सय २० डोज कोभिसिल्डको म्याद सकिएको छ । त्यस्तै, प्रदेश १ मा ११ हजार, हेटौँडा कोल्ड चेन स्टोरमा ३६ हजार, टेकु कोल्ड चेन स्टोरमा १९ हजार चार सय ८० र गण्डकी प्रदेशमा दुई हजार पाँच सय ७० डोज मौज्दात रहेकामा सबैको म्याद शनिबारदेखि सकिएको छ । स्वास्थ्य सेवा विभागका फार्मेसी अधिकृत बडेबाबु थापाले खोप कति बाँकी छ र कतिको म्याद सकियो भनेर अन्तिम विवरण संकलनको काम भइरहेको बताए । 

म्याद सकिएर खेर गएको खोप विभिन्न समयमा दातृराष्ट्रबाट अनुदानमा आएको थियो । तर, स्वास्थ्य मन्त्रालयका अनुसार सम्बन्धित देशले खरिद गरेर अनुदानमा दिएकाले ती देशले हरेक वर्ष नेपाललाई गर्ने सहयोगमा उक्त रकम जोड्ने गर्छन् । 

सरकारले तेस्रो डोज लगाउनसमेत अनुरोध गरे पनि खोपप्रति उत्साहजनक आकर्षण देखिएको छैन । विगतमा दैनिक पाँच लाखसम्मले खोप लगाएकामा अहिले ५० हजारदेखि एक लाखसम्मले मात्रै लगाउने गरेका छन् । त्यसमा पनि खोप अभियान निरन्तर चलेको छैन । शनिबार ५८ हजार पाँच सय ५९ जनाले मात्रै कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप अभियान प्रभावकारी बनाउन नसक्नु र सर्वसाधारणमा उत्साह नदेखिनुले ठूलो मात्रामा खेर गएको अधिकारहरू बताउँछन् । 

विभागका अनुसार अब केन्द्रमा कोभिसिल्ड खोप छैन । तर, भएका अन्य खोपको म्याद भने धेरै रहेको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाअन्तर्गत खरिद शाखा प्रमुख डा. सुरेन्द्र चौरासियाले बताए । ‘लगाउने मानिसहरू कम उपस्थित भएका कारण खोप खेर गएको छ,’ उनले भने, ‘बीचमा संक्रमण घटेपछि सबैले खोपलाई बेवास्ता गरे । कोरोना सकियो भन्दै खोप लगाउन चासो नदिएपछि खेर गएको हो । महामारीमा खोप खेर जानु दुःखद हो । खोपको महत्वप्रति नागरिक तहमा प्रचारप्रसार आवश्यक देखिएको छ ।’

साढे तीन महिनाअघि काठमाडौं स्वास्थ्य कार्यालयमै बिग्रिएको थियो तीन हजार डोज मोडर्ना
गत चैतमा काठमाडौं स्वास्थ्य कार्यालयमै मोडर्नाको तीन हजार डोज खोप बिग्रिएको थियो । आवश्यक तापक्रम मिलाइएको भण्डारणबाट निकालेर निश्चित अवधिभित्र प्रयोग गर्न नसक्दा उक्त खोप खेर गएको थियो । मोडर्नाको खोप माइनस २० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्छ । त्यहाँबाट निकालेपछि ३० दिनसम्म दुईदेखि आठ डिग्री सेल्सियसमा भण्डारण गरेर प्रयोग गर्न सकिन्छ । तर, ३१ दिनपछि उक्त खोपको आयु सकिन्छ ।

खोप कति आयो, कति सकियो ?

हालसम्म खरिद र अनुदानको गरी पाँच करोड ८८ लाख ९१ हजार ९७० मात्रा खोप प्राप्त भएको छ । यसमध्ये चार करोड ९३ लाख ६६ हजार पाँच सय एक मात्रा प्रयोगमा आएको छ । हाल ७१ लाख ७८ हजार ८१८ डोज बाँकी छ । यसले २३ लाख ४६ हजार ६५१ मात्रा खोप प्रयोग गर्ने क्रममा र प्रयोग गर्न नसकेर खेर गएको हिसाब आउँछ । तथ्यांकअनुसार हाल भेरोसेल ४४ लाख ७५६, जोनसन एक लाख २६ हजार १३०, फाइजर ६ लाख ९२ हजार ५०२ र फाइजर पेडियाट्रिक १८ लाख ९९ हजार ४३० मात्रा बाँकी छ । 

कतिले लगाए खोप ?

केन्द्रीय तथ्यांक विभागका अनुसार देशको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० छ । सरकारले दुई करोड ३३ लाख २७ हजार ६१९ जनालाई खोप लगाउने लक्ष्य लिएको थियो । यीमध्ये दुई करोड पाँच लाख ७७ हजार १९६ जना अर्थात् ८८.२%ले पूर्ण मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो कुल जनसंख्याको ७०.५% हो । त्यस्तै, दुई करोड १५ लाख ३० हजार ६७६ जना अर्थात् ९२.३% ले पहिलो मात्रा लगाएका छन् । यो कुल जनसंख्याको ७३.८% हो । ७२ लाख ५८ हजार ५२९ जनाले तेस्रो मात्रासमेत लगाएका छन् । 

३३ संक्रमित आइसियू र चारजना भेन्टिलेटरमा उपचाररत

पुनः संक्रमणबाट दीर्घरोगको समस्या
दैनिक संक्रमणदर बढेसँगै उपचारका लागि अस्पताल पुग्नेको संख्या पनि बढ्न थालेको छ । हाल अस्पतालमा उपचाररत एक सय ५१ सक्रिय संक्रमितमध्ये ३३ जना आइसियू र चारजना भेन्टिलेटरमा उपचारत छन् । गम्भीर बिरामी भएर अस्पताल पुगेकामध्ये २८ जना काठमाडौंमा मात्र रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जसमध्ये सबैभन्दा धेरै वीरेन्द्र अस्पताल छाउनीमा १२, वीर अस्पतालमा १०, शुक्रराज ट्रपिकल अस्पतालमा पाँच र पाटन अस्पतालमा दुईजना छन् । यसबाहेक अस्पतालमा उपचाररत रहेका एक सय ५१ संक्रमितमध्ये एक सय २१ जना काठमाडौं उपत्यकामा छन् । जसमध्ये ४४ जना जनरलमा, ४४ जना एचडियूमा, २९ जना आइसियू र चारजना भेन्टिलेटरमा उपचाररत छन् । दैनिक संक्रमणदर पनि उपत्यकामै अत्यधिक भएको र हालसम्म ग्रामीण भेगमा नफैलिएकाले डराउनुपर्ने अवस्था रहेको चिकित्सकहरूले जनाएका छन् ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार देशभर सक्रिय संक्रमितको संख्या चार हजार तीन सय ६९ पुगेको छ । पुनः संक्रमणको दर बढ्दै जाँदा दीर्घरोगका समस्यासमेत जटिल बन्दै गएको एक अध्ययनले देखाएको छ ।

अमेरिकाको वासिङ्टन विश्वविद्यालयका प्रोफेसरहरूको प्यानलले गरेको सर्वेक्षणले कोभिडको संक्रमण बारम्बार हुँदा अन्य दीर्घकालीन स्वास्थ्य समस्याले आयु घटाइरहेको जनाएको छ । २०२२ जुनसम्म ५.६ मिलियन संक्रमितको क्लिनिकल रिपोर्टहरूका आधारमा गरिएको सर्वेक्षणले मुटुरोग, रगत, मस्तिष्क विकारहरू, मधुमेह, दीर्घकालीन थकान र लामो कोभिडजस्ता रोग दीर्घकालीन बढिरहेको हो ।