
संसदीय विशेष छानबिन समितिका सभापति तथा लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिन प्रतिवेदनप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको आलोचनाको खण्डन गरेका छन् । शुक्रबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूलाई प्रतिवेदनबारे प्रतिक्रिया दिँदै समिति सभापति कर्णले एकपक्षीय रूपमा प्रतिवेदन तयार भयो भन्ने एमालेको आलोचना कति सही र कति गलत छ भन्ने कुरा प्रतिवेदन पढेपछि थाहा हुने बताएका हुन् ।
‘समितिले एकपक्षीय रूपमा प्रतिवेदन तयार भयो भन्ने प्रतिपक्षले गरेको आलोचना कति सही छ, कति गलत छ, समितिको प्रतिवेदन हेरेर थाहा हुन्छ । हामीले कति मेहनत गरेर काम गरेका छौँ,’ उनले भने ।