Skip This
१७ प्रतिशतले बढ्यो अपराध : एक वर्षमा ४६ हजार आपराधिक घटना 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १२ बिहीबार
  • Monday, 17 June, 2024
नवराज मैनाली काठमाडौं
२o७९ श्रावण १२ बिहीबार o९:२o:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

१७ प्रतिशतले बढ्यो अपराध : एक वर्षमा ४६ हजार आपराधिक घटना 

Read Time : > 3 मिनेट
नवराज मैनाली, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण १२ बिहीबार o९:२o:oo

प्रहरी तथ्यांक भन्छ– हत्या, लागुऔषध, संगठित तथा आर्थिक, सवारीसम्बन्धी अपराध बढ्यो

कोरोना महामारीकै बीचमा देशमा जघन्यसहितका अपराध ह्वात्तै बढेको छ । पछिल्लो एक वर्षमा करिब १७ प्रतिशतले अपराध बढेको नेपाल प्रहरीको तथ्यांक छ ।आर्थिक वर्ष ०७७/७८ मा देशभरि ४० हजार एक सय २० अपराध दर्ता भएकोमा ०७८/७९ मा ४६ हजार नौ सय दुई पुगेको छ ।

एक वर्षको अवधिमा १६.९० प्रतिशतले अपराधका घटना बढेका छन् । जघन्यसहित सबै प्रकारका अपराध बढेको प्रहरी तथ्यांकले देखाउँछ । हत्या, लागुऔषध, संगठित तथा आर्थिक, सवारीसम्बन्धी अपराध बढेका छन् । आत्महत्या, महिला तथा बालबालिकासम्बन्धी अपराध भने थोरै घटेको छ । 

डिआइजी टेकप्रसाद राई प्रवक्ता, नेपाल प्रहरी

अपराधका घटना बढेका छन्, प्रहरीमा उजुरी गर्ने क्रम पनि बढेको छ । यसका बाबजुद पेसेवर अपराधीबाट हुने घटना न्यून नै छन् । सडकसँगै गाउँ–गाउँसम्म लागुऔषध पुग्न थालेको छ । यसलाई रोक्न प्रहरी क्रियाशील छ ।

अघिल्लो आर्थिक वर्षमा धेरै समय लकडाउन भएको र पछिल्लो वर्ष कोरोना महामारीका बाबजुद लकडाउन नभएकाले पनि अपराधका घटना बढेको हुन सक्ने प्रहरी आकलन छ । कतिपय घटनामा विगतमा भन्दा प्रहरीमा उजुरी गर्ने प्रचलन बढेकाले पनि अपराध संख्या वृद्धि भएको हुन सक्ने प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राई बताउँछन् । ‘केही अपराध बढेका छन्, प्रहरीमा उजुरी गर्ने क्रम पनि बढेको छ,’ उनले भने, ‘यसका बाबजुद पेसेवर अपराधीबाट हुने घटना न्यून नै छन् ।’ 

ज्यान मुद्दा बढ्यो, आत्महत्या घट्यो 
गत आर्थिक वर्षमा ज्यानसम्बन्धी आठ हजार पाँच सय १० मुद्दा प्रहरीमा दर्ता भएका छन् । त्यसमध्ये पाँच सय ९० कर्तव्य ज्यान तथा एक हजार ६९ ज्यान मार्ने उद्योग मुद्दा रहेका छन् । भवितव्य ज्यानसम्बन्धी चार हजार आठ सय ४५ घटना छन् । अघिल्लो वर्ष यस्ता घटना आठ हजार ५९ थिए । 

आत्महत्या भने तुलनात्मक रूपमा घटेको छ । एक वर्षमा ६ हजार सात सय ९२ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष ०७७/७८ मा यससम्बन्धी सात हजार एक सय १७ घटना प्रहरीमा दर्ता भएका थिए । संख्या घटे पनि नेपाल धेरै आत्महत्या हुने देशमा पर्दछ । गत वर्षको तथ्यांकअनुसार दैनिक नेपालमा औसतमा १८ जनाले आत्महत्या गर्दछन् । 

तीव्र रूपमा बढेको अपराधमा लागुऔषधसम्बन्धी घटना छन् । अघिल्लो वर्ष लागुऔषधसम्बन्धी तीन हजार १३ मुद्दा दर्ता भएका थिए । त्यो बढेर पछिल्लो वर्ष तीन हजार आठ सय ५६ पुगेको छ । लागुऔषध दुव्र्यसनीको संख्या पनि बढेको र खुला सीमाका कारण लागुऔषधसम्बन्धी अपराध बढेको प्रहरी प्रवक्ता डिआइजी राईको विश्लेषण छ । ‘सडकसँगै गाउँ–गाउँसम्म लागुऔषध पुग्न थालेको छ,’ उनी भन्छन्, ‘यसलाई रोक्न प्रहरी क्रियाशील छ ।’ 

चेक बाउन्सका मुद्दा मात्र पाँच हजारभन्दा धेरै 
पछिल्लो वर्ष प्रहरीमा बढेको एउटा मुद्दा चेक बाउन्ससम्बन्धी हो । गत आर्थिक वर्षमा बैंकिङ कसुरसम्बन्धी पाँच हजार तीन सय ८३ मुद्दा दर्ता भएका छन् । त्यसमध्ये करिब पाँच हजार तीन सय चेक बाउन्ससँग सम्बन्धित रहेको प्रहरी आकलन छ । 

प्रस्ट कानुन नभएकाले विगतमा चेक बाउन्सका थोरै मात्र घटनामा प्रहरीले बैंकिङ कसुर अपराधमा अनुसन्धान गर्दथ्यो । तर, पछिल्ला वर्ष चेक बाउन्स प्रहरी कार्यालयमा सर्वाधिक उजुरी पर्ने मुद्दा बन्न पुगेको छ । धेरैजसो देवानी प्रकृतिको लेनदेनसँग सम्बन्धित हुने भए पनि प्रहरीमार्फत जाँदा प्रभावकारी हुने भएकाले धेरै सर्वसाधारण बैंकिङ कसुरअन्तर्गत उजुरी गर्दछन् । यस्तो अपराधमा पीडित सीधै चेक अनादरको कसुरमा अदालत पुग्न सक्ने प्रावधान पनि छ । 

संगठित तथा आर्थिक अपराध करिब २० प्रतिशतले बढेको छ । अघिल्लो वर्ष चार हजार ६ सय ५२ अपराध दर्ता भएकोमा पछिल्लो वर्ष पाँच हजार पाँच सय १५ वटा घटना दर्ता भएका छन् । यसमा लागुऔषधसहित, जुवा, आपराधिक विश्वासघात, अपहरण, हातहतियारलगायतका मुद्दा राखिएका छन् । चोरीसम्बन्धी अपराध करिब ३३ प्रतिशतले बढेका छन् । अघिल्लो वर्ष दुई हजार तीन सय ८२ चोरीसम्बन्धी मुद्दा दर्ता भएकोमा बढेर तीन हजार एक सय ८८ पुगेको छ । सामाजिक अपराध आठ हजार एक सय ६८ बाट बढेर नौ हजार नौ सय ८४ पुगेको छ । सवारीसम्बन्धी मुद्दा दुई हजार एक सय ७८ बाट दुई हजार पाँच सय २६ पुगेको छ । 

घटे बलात्कारका घटना 
बलात्कारसम्बन्धी घटना भने साढे ७ प्रतिशतले घटेको छ । आर्थिक वर्ष ०७७/७८ मा बलात्कारका दुई हजार पाँच सय ३१ घटना दर्ता भएका थिए । ०७८/७९ मा दुई हजार तीन सय २३ घटना दर्ता भएका छन् । अघिल्लो वर्ष बलात्कार प्रयासका सात सय ५३ घटना भएकामा पछिल्लो वर्ष ६ सय ५५ दर्ता भएका छन् । महिला तथा बालबालिकामाथि हुने अपराधविरुद्ध प्रहरीले विशेष सक्रियता बढाएकाले पनि यससम्बन्धी अपराधमा न्यूनीकरण भएको अपराध अनुसन्धान विभागका एक अधिकारी बताउँछन् ।

६ वर्षमा ४९ प्रतिशत अपराध बढ्यो, अनुसन्धान गर्ने प्रहरी बढेनन् 
पछिल्लो ६ वर्षमा ४९ प्रतिशतले अपराध बढेको छ । आव ०७३/७४ मा देशभरि जम्मा अपराध संख्या ३१ हजार चार सय ६३ दर्ता भएका थिए । जुन ४९ प्रतिशतले बढेर पछिल्लो वर्ष ४६ हजार नौ सय दुई पुगेको छ । सबै किमिसका अपराध बढिरहेको प्रहरी तथ्यांक छ ।

यसरी अपराध बढिरहँदा अपराध अनुसन्धानमा प्रहरीको संख्या भने बढ्न सकेको छैन । प्रहरी प्रधान कार्यालयले क्राइम एक्सन प्लान लागू गरी अपराध अनुसन्धानमा दक्ष जनशक्ति कुल जनशक्तिको १० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको थियो । तर, अहिले पनि करिब आठ प्रतिशत मात्र छन् । 

अपराध बढेअनुसार जनशक्ति बढाउन नसकिएको प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राई स्विकार्छन् । ‘क्राइम एक्सन प्लानअन्तर्गत दक्ष जनशक्ति बढाउने योजना चलिरहेकै छ,’ उनी भन्छन्, ‘तर, अपराध अनुसन्धानमा अझै जनशक्ति पुर्‍याउन सकिएको छैन । उनीहरूलाई प्रोत्साहन भत्ता दिलाउनुपर्छ भनेर हामी लागेका छौँ ।’ अपराध अनुसन्धानमा संलग्न कतिपय प्रहरीलाई संगठनभित्रैबाट झुटा मुद्दामा फसाउने जस्ता प्रवृत्तिले पनि अपराध अनुसन्धानतर्फ काम गर्न प्रहरी इच्छुक हुने गरेका छैनन् । 

ad
ad
ad
ad