निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज ११ मंगलबार
  • Tuesday, 27 September, 2022
अर्जुन अधिकारी काठमाडाैं
२०७९ श्रावण ११ बुधबार ०६:१०:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अस्पतालमा ज्वरोका बिरामी बालबालिकाको चाप, कारण खोजिएन

Read Time : > 4 मिनेट
२०७९ श्रावण ११ बुधबार ०६:१०:००

कान्ति बाल अस्पतालको तथ्यांकअनुसार आइतबार मात्र ज्वरोका ९५० बिरामीले ओपिडी सेवा लिए

  • अन्य अस्पतालमा पनि ज्वरोका बिरामी बालबालिका बढे
  • चिकित्सक भन्छन्– यो ज्वरो आउने मौसम नै हो

केही दिनयता ज्वरोले सताएर अस्पताल जाने बालबालिकाको संख्या बढेको छ । देशकै एक मात्र केन्द्रीय बाल अस्पताल कान्तिसहित अन्य अस्पतालमा पनि ज्वरोका बिरामी बालबालिकाको चाप बढेको हो । तर, के कारणले ज्वरो फैलिएको छ भन्ने खोजिएको छैन ।

कान्तिको तथ्यांकअनुसार आइतबार ज्वरोका नौ सय ५० बिरामीले ओपिडी सेवा लिएका छन् । वर्ष दिनअघि ७ साउनमा चार सय बिरामीले ओपिडी सेवा लिएका थिए । यसले गत वर्षको तुलनामा पनि यसपालि ज्वरोका बिरामी बढेको देखाएको छ । 

ज्वरोका कारण अस्पताल आउने बालबालिकामा आँखा पाक्ने, घाँटी दुख्ने, शरीर दुख्नेजस्ता समस्या पनि देखिएको कान्तिका बालरोग विशेषज्ञ डा. रामहरि चापागाईंले बताए । ‘एक–दुई सातादेखि ज्वरोका बिरामी बढी आएका छन् । ज्वरो र झाडापखाला वर्षामै देखिने हो । तर, भर्नादर र मृत्युदर बढेको छैन । नौ सय ५० बालबालिका अस्पताल आउँदा १२ जना मात्रै भर्ना भएका छन् । भर्ना गर्नुपर्ने बिरामी कम भएकाले गम्भीर रोग होइन भन्ने सोचेका छौँ,’ उनले भने, ‘ज्वरोका बिरामी के कारणले बढे भन्नेचाहिँ थाहा छैन ।’ 

बिरामी ह्वात्तै बढेपछि कान्ति अस्पतालले ‘एडिनो भाइरस’को आशंकामा १५ नमुना परीक्षणसमेत गरेको थियो । तर, एक–दुई बिरामीमा मात्रै उक्त भाइरस पुष्टि भएकाले सबैमा त्यसको असर नपरेको निष्कर्षमा चिकित्सकहरू पुगेका छन् । एडिनो भाइरसले गर्दा बालबालिकाको एकातिरको आँखा पाक्ने, रुघाखोकी, कडा ज्वरो, निमोनिया र जन्डिस गराउने चिकित्सकहरू बताउँछन् । यसबाट नआत्तिन, ज्वरो बढ्दा सिटामोल दिन, कपडा खोलिदिन, पानीपट्टी लगाउन, झोलिलो पदार्थ र पानी खुवाउन चिकित्सकको सिफारिस छ । 

‘नमुना परीक्षण गरेर मात्र रोग पत्ता लगाउन सकिन्छ । तर, हामी धेरै जाँच गरेर रोग पहिचान गर्नेतर्फ लागेका छैनौँ,’ डा. चपागाईंले भने, ‘अस्पतालमै भर्ना गर्नुपर्ने धेरै भएर समस्या नै निम्तिएको भए परीक्षण हुन्थ्यो होला ।’ १४ वर्षमुनिका बालबालिकाको कान्तिमा उपचार हुन्छ । यहाँ देशभरबाट बालबालिकालाई उपचारका लागि ल्याइन्छ । 

अन्य अस्पतालमा पनि ज्वरोका बिरामी बालबालिका बढे
चिकित्सकहरू भन्छन्– यो ज्वरो आउने मौसम नै हो
निजी बाल अस्पताल इशानमा पनि ज्वरोका बिरामी बढेको तथ्यांक छ । उक्त अस्पतालको ओपिडीमा दैनिक एक सय ५० बालबालिका आउने गरेको अस्पताल प्रमुख डा. रामानन्दनप्रसाद चौधरीले बताए । तीमध्ये कम्तीमा १० जना भर्ना गर्नुपर्ने खालका हुने गरेको र ठीक हुन एक साता लाग्ने गरेको उनको भनाइ छ । 

‘मौसम परिवर्तनको समय भएकाले अस्पतालमा बालबालिका बिरामी भएर पुग्ने संख्या बढेको छ,’ इशान बाल अस्पतालका प्रमुख डा. चौधरीले भने, ‘तर, संख्या बढेकै कारण डराउनुपर्ने अवस्था भने छैन ।’ 

चिकित्सकहरूले कोरोना बढेका कारण बालबालिका त्यसबाटै संक्रमित छन् कि भनेर शंका पनि गरेका छन् । ‘अहिलेसम्म हामीले अस्पतालमा आएका बिरामीको कोरोना जाँच गरेका थिएनौँ,’ उनले भने, ‘बिरामी बढेका छन्, कोभिड पनि बढेको छ । अब भने जाँच गर्नुपर्नेछ । यसले के कारणले बालबालिका बिरामी भए भन्ने आधार बनाउन सकिन्छ ।’ अघिल्लो वर्ष पनि साउन, भदौमा बालबालिका बिरामी दर बढेको उनले बताए । 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. गणेश शाहले पनि बालबालिका बिरामी भएर अस्पताल आउने संख्यामा वृद्धि भएको बताए । तर, भर्ना गरेर राख्नुपर्ने अवस्था नभएको उनको भनाइ छ । ‘हामीकहाँ दैनिक सयदेखि दुई सयसम्म बिरामी बालबालिका ओपिडीमा आउँछन्,’ उनले भने, ‘अधिकांशको समस्या ज्वरो नै छ, तर भर्ना गर्नुपर्ने अवस्थाका छैनन् ।’ 

ज्वरो आउँदैमा डराउनु नपर्ने भए पनि कारण के हो पत्ता लगाउन भने अनुसन्धान जरुरी रहेको उनको भनाइ छ । ‘पाँचदेखि सात दिनसम्म नियमित ज्वरो आएको छ । यसले कतिपय बालबालिकामा निमोनिया पनि देखिन सक्छ,’ उनले भने, ‘कुन भाइरसका कारण बिरामी भइरहेका छन् भनेर परीक्षण गर्नुपर्ने हुन्छ ।’ 

हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालका बालरोग विशेषज्ञ डा. गणेश राई पनि मौसमी रुघाखोकी र ‘एडिनो भाइरस’का कारण बिरामी बढेको बताउँछन् । उनका अनुसार दैनिक सय बिरामी आउँदा ५० प्रतिशत ज्वरोका छन् । केही बालबालिकामा गम्भीर समस्या देखिएको पनि उनको भनाइ छ । ‘दीर्घरोगीलाई यसले बढी सताउँछ,’ उनले भने ।

भर्नादर कम भएकाले आत्तिनुपर्दैन : डा. रामहरि चापागाईं, वरिष्ठ बालरोग विशेषज्ञ, कान्ति बाल अस्पताल
एक–दुई सातादेखि ज्वरोका बिरामी बढी आएका छन् । ज्वरो र झाडापखाला वर्षामै देखिने हो, तर भर्नादर र मृत्युदर बढेको छैन । नौ सय ५० बालबालिका अस्पताल आउँदा १२ जना मात्रै भर्ना भएका छन् ।

भर्ना गर्नुपर्ने बिरामी कम भएकाले गम्भीर रोग होइन भन्ने सोचेका छौँ । ज्वरोका बिरामी के कारणले बढे भन्नेचाहिँ थाहा छैन । ‘एडिनो भाइरस’को आशंकामा १५ नमुना परीक्षणसमेत गरिएको हो ।

तर, एक–दुई बिरामीमा मात्रै उक्त भाइरस पुष्टि भएकाले सबैमा त्यसको असर नपरेको हामीहरूको बुझाइ छ । धेरै नमुना परीक्षण गरेर मात्र रोग पत्ता लगाउन सकिन्छ । अस्पतालमै भर्ना गर्नुपर्ने धेरै नभएकाले हामी धेरै जाँच गरेर रोग पहिचान गर्नेतर्फ लागेका छैनौँ । 

बालबालिकाबाहेकका भाइरल ज्वरोका बिरामी पनि बढे
कोभिड संक्रमण बढिरहेका वेला अस्पतालमा बालबालिकाबाहेकका भाइरल ज्वरोका बिरामी पनि बढेका छन् । ओपिडीमा आउने बिरामी बढे पनि भर्नादर भने खासै बढेको छैन । पछिल्लो सातायता त्रिवि शिक्षण, वीर, पाटन, सिभिल, भक्तपुर र शुक्रराज ट्रपिकल तथा सरुवारोगलगायत ठूला अस्पतालमा दैनिक १० देखि ३५ जनासम्म ज्वरोका बिरामी पुग्न थालेको चिकित्सकले जनाएका छन् । ‘वर्षाका कारण मौसममा आउने तीव्र परिवर्तन र ब्याक्टेरियल संक्रमणको उच्च जोखिम रहने भएकाले यो समयमा भाइरल ज्वरोको समस्या बढ्छ । खासगरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुने भएकाले पानीमा नभिज्ने, सरसफाइमा ध्यान दिने र फ्लुका लक्षणलाई बेवास्ता नगरी उपचार गर्नुपर्छ,’ छातीरोग विशेषज्ञ डा. नीरज बमले बताए । 

तीव्र बन्दै कोरोना, सक्रिय संक्रमित झन्डै चार हजार
संक्रमण बढिरहँदा पनि जनस्तरबाट स्वास्थ्य सावधानीमा बेवास्ता भएपछि कोरोना तीव्र बन्दै गएको छ । संक्रमितमा गम्भीर समस्याका घटना कम भए पनि दैनिक संक्रमण अत्यधिक बढेको छ । १ साउनमा एक सय ३५ मा संक्रमण भएकोमा १० दिनपछि मंगलबार ६ सय ३८ मा संक्रमण पुष्टि भएको छ, जुन झन्डै पाँच गुणा बढी हो । संक्रमणदर पनि उच्च बढेको छ । १ साउनमा तीन हजार ४१ नमुना परीक्षणमा एक सय ३५ को पजिटिभ आएको थियो, जुन ४.४३ प्रतिशत हो । तर, मंगलबार पाँच हजार ५५ नमुना परीक्षण गर्दा ६ सय ३८ को पजिटिभ आएको हो, जुन १२.६२ प्रतिशत हो । 

मृत्यु पनि बढेको छ । १ साउनमा एकजनाको मृत्यु भएको थियो । त्यसपछिका दिनमा शून्य रहेकोमा केही दिनदेखि फेरि मृत्यु भएको छ । मंगलबार दुई संक्रमितको ज्यान गएको छ । सोमबार एक र आइतबार दुईजनाको मृत्यु भएको थियो । 

भिडभाड र स्वास्थ्यका मापदण्ड उल्लंघनका कारण संक्रमण बढेको पुष्टि उपत्यकामा देखिएको संक्रमितको अंकले देखाउँछ । हाल देशभर सक्रिय संक्रमितमध्ये ६७ प्रतिशत काठमाडौं उपत्यकाका छन् । ५५ प्रतिशत काठमाडौं जिल्लाका मात्रै छन् । मंगलबारसम्म देशभर सक्रिय संक्रमित तीन हजार सात सय १४ रहेकामा काठमाडौं जिल्लाका मात्रै दुई हजार ४० रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । 

अस्पताल भर्ना भएका बिरामीमा पनि जटिल समस्या खासै देखिएको छैन । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा लक्षणसहितका केही बिरामीलाई अक्सिजन सपोर्टका लागि आइसियूमा राखिए पनि भेन्टिलेटरमा कुनै बिरामी नरहेको प्रवक्ता नवराज गौतमले बताए ।