
आज संसदीय छानबिन समितिको बैठक बस्दै छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो ।
अहिलेसम्म नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सिसिटिभी फुटेजसम्बन्धी रिपोर्ट समितिलाई बुझाएको छ । तत्कालीन अर्थमन्त्री शर्माले ०७९/८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ । पूर्वअर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।
नेपाल प्रहरीले संसदीय छानबिन विशेष समितिलाई दिएको फरेन्सिक रिपोर्टमा भिडियो पनि आएको छ । समितिका सदस्यहरूले भिडियो हेरिरहेका छन् । तर, कहिलेदेखि कहिलेसम्मको के– कति आयो भन्ने प्रस्ट छैन । १४ गतेकै छ–छैन भन्ने खुलेको छैन ।