१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
अनु आचार्य काठमाडौं
२o८१ जेठ ३ बिहीबार o७:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

टिमुरेमा सुक्खा बन्दरगाह निर्माण ठप्प

Read Time : > 1 मिनेट
अनु आचार्य, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o७:४५:oo

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ठप्प भएको छ । बर्सातको समयमा काम गर्न नसकिने भन्दै कामदारसहित चिनियाँ ठेकेदार चीन फर्किएसँगै बन्दरगाह निर्माणको काम ठप्प भएको हो ।  

गत २८ जुनदेखि बन्दरगाह निर्माणको काम ठप्प भएको बन्दरगाह निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी तिब्बत फुली कन्स्ट्रक्सन गु्रप लिमिटेडका नेपाली अनुवादक सागर अधिकारीले जानकारी दिए । ‘बर्खाको समयमा काम गर्न सकिने अवस्था छैन, सबै खोलाको काम छ, खोलाको लेबल बढेर आउने र जोखिम बढ्ने हुँदा काम गर्न सकिँदैन,’ उनले भने । बन्दरगाह निर्माणस्थलमा काम ठप्प भए पनि अहिले दुईजना चिनियाँ रहेका छन् । 

बन्दरगाह निर्माणको जिम्मा चीनको तिब्बतस्थित तिब्बत फुली कन्स्ट्रक्सन गु्रप लिमिटेडले पाएको छ । २० नोभेम्बर २०१९ मा बन्दरगाह निर्माणको शिलान्यास भएको थियो । निर्माण कार्य सुरु भएको ३० महिनामा सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि कोरोना महामारी, चिनियाँ कामदार चीनबाट निर्माणस्थलमा आउन नसक्नुलगायतका कारण कामले गति लिन नसकेको चिनियाँ ठेकेदार कम्पनीले जनाएको छ । बन्दरगाहको हालसम्म ३१ प्रतिशत काम सम्पन्न भएको तिब्बत फुली कन्स्ट्रक्सन गु्रपका म्यानेजर याङ इलीलाई उद्धृत गर्दै नेपाली अनुवादक अधिकारीले जानकारी दिए । खोला–किनारको ६ सय ६० मिटर वालमध्ये हालसम्म करिब साढे तीन सय मिटर लम्बाइमा वाल लगाउने काम भएको छ ।  

२०२३ को अक्टोबरसम्ममा बन्दरगाह निर्माणको काम सम्पन्न गर्ने चिनियाँ पक्षले मौखिक जानकारी गराएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । ‘चिनियाँ सरकारले नै बन्दरगाह बनाउने हो, सुरुमा भनिएको म्याद सकिएको भए पनि म्याद थप भएको भन्ने हामीलाई जानकारी दिइएको छैन, उनीहरूको आफ्नै प्रक्रिया हुँदो रहेछ,’ उनले भने । 

नेपाल र चीनबीच भएको सम्झौताअनुसार चिनियाँ पक्षले सुक्खा बन्दरगाह निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । करिब १२ करोड ४० लाख चिनियाँ युआनको लागतमा सुक्खा बन्दरगाह निर्माण गरिने भएको छ । चीन सरकारको आर्थिक सहयोगमा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न बन्दरगाह निर्माण हुने बताइएको छ । 

८ दशमलव ५ हेक्टर क्षेत्रफलमा निर्माण हुन लागेको बन्दरगाहमा एउटा मुख्य भवन रहने भएको छ । त्यसमा प्रशासनिक कार्यका लागि भन्सार, क्वारेन्टिन, बैंक, ल्याब, सुरक्षालगायत कार्यालयहरू रहने रसुवा भन्सार कार्यालय टिमुरेले बताएको छ । तीन सय ५० भन्दा बढी ट्रक तथा कन्टेनरहरू राख्न सकिने गरी पार्किङस्थल, गोदामघर निर्माण हुने जनाइएको  छ । चीन सरकारको सहयोगमा चिनियाँ पक्षले सीमानाकाबाट करिब साढे दुई किलोमिटरको दूरीमा रहेको टिमुरेमा सुक्खा बन्दरगाह निर्माणको काम सुरु गरेको हो ।  

बन्दरगाहको नेपाल सरकारका तर्फबाट नेपाल इन्टरमोडल यातायात विकास समितिका उपनिर्देशक हरेकृष्ण मिश्र तथा निर्माण कम्पनीका तर्फबाट याङ इङलिन, प्रोजेक्ट म्यानेजरले सम्झौतामा हस्ताक्षर गरेका थिए । 

ad
ad