१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
मञ्जु टेलर नयाँ पत्रिका
Invalid date format o६:५३:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मंकिपक्स प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा 

Read Time : > 1 मिनेट
मञ्जु टेलर, नयाँ पत्रिका
नयाँ पत्रिका
Invalid date format o६:५३:oo

संक्रमण नदेखिएका देशमा पनि २१ दिनभित्र देखिन सक्ने डब्लुएचओको चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मंकिपक्स प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ । शनिबार डब्लुएचओको भर्चुअल बैठकमा महानिर्देशक डा. टेड्रोस अड्हानोम गेयब्रेसेसले हालसम्म मंकिपक्स ७५ देशमा फैलिसकेको र अन्य देशमा पनि २१ दिनभित्र देखिन सक्ने भएकाले आपत्काल घोषणा गरिएको जनाएका हुन् । नेपालमा भने अहिलेसम्म मंकीपक्स पुस्टि भएको छैन ।

मंकिपक्स संक्रमण विश्वभर छिटो फैलिएको, तर स्वास्थ्यका अधिकारीले हालसम्म संक्रमणबारे थोरै मात्र बुझेका कारण जोखिम बढेको उनको भनाइ छ । डब्लुएचओका अनुसार हालसम्म १६ हजारभन्दा धेरैमा मंकिपक्स संक्रमण भएको र पाँचजनाको ल्यान लिएको छ । 

‘संक्रमण दिनानुदिन फैलिँदै गएको छ, तर स्वास्थ्यकर्मी निदानमा असमर्थ भएका कारण अन्तर्राष्ट्रिय रूपमै सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गर्ने अवस्थामा पुग्नुपर्‍यो,’ महानिर्देशक डा. टेड्रोसले भने, ‘मैले आवश्यक पाँच तत्वलाई विचार गरेर निर्णय लिएको हुँ ।’ 

मंकिपक्स बाँदरबाट मान्छेमा सर्ने रोग भए पनि पछिल्लो समय मान्छेबाट मान्छेमा संक्रमण फैलिरहेको डब्लुएचओको रिपोर्ट छ । ‘हाल नयाँ देखिएका केसमा बाँदरबाट मानिसमा मात्र नभई मानिसबाट मानिसमा पनि संक्रमण फैलिइरहेको छ । संक्रमण तीव्र फैलिँदै गए पनि निदान र खोपको निकै कमजोर अवस्था छ,’ उनले भने, ‘अहिलेसम्म संक्रमण नदेखिएका देशमा पनि कम्तीमा २१ दिनभित्र नयाँ केस देखिन सक्छन् ।’ 

संक्रमण फैलिएपछि २३ जुनमा पहिलो आपत्कालीन समितिको बैठकपछि डब्लुएचओले सुरुमा मंकिपक्सको प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गर्न रोकेको थियो । तर, जोखिम बढ्दै गएपछि सतर्क रहन आपत्कालीन अवस्था घोषणा गरेको जनाएको छ । 

मंकिपक्सविरुद्धको भ्याक्सिन अभाव 

संक्रमणदर तीव्र बढेपछि अमेरिकामा मंकिपक्सविरुद्धको खोपको माग अघिल्लो सातादेखि तीन गुणाले बढेको छ । तर, मागअनुसार भ्याक्सिनको उपलब्धता निकै न्यून रहेकाले प्रकोप न्यूनीकरणमा असहज भइरहेको अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागले जनाएको छ । हालसम्म अमेरिकाका ४४ भन्दा बढी राज्यमा १४ सयभन्दा बढीमा मंकिपक्स संक्रमण पुष्टि भएको छ । 

मे महिनासम्म नै मंकिपक्सविरुद्धको भ्याक्सिन ‘जेनोइज्ज’ तीन लाख डोज उत्पादन गरिएको थियो । अमेरिकाको राष्ट्रिय सार्वजनिक स्वास्थ्य संस्था ‘सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)का निर्देशक डा. रोसेल वालेन्स्कीले भनेका छन्, ‘मंकिपक्स खोपको माग आपूर्तिभन्दा अति धेरै छ, जसले न्युयोर्क सहरजस्ता ठाउँमा लामो लाइन बस्नुपर्ने अवस्था निम्त्याएको छ ।’ वालेन्स्कीले आगामी जुलाई र अगस्टमा केसहरू बढ्ने अनुमान रहेको बताएका छन् । भाइरस संक्रमण भएको कम्तीमा तीन सातापछि लक्षण देखिने र अधिकांश संक्रमितले आफू संक्रमित भएको थाहा नपाउने हुँदा जोखिम बढ्ने अनुमान गरिएको हो । हाल अमेरिकामा मंकिपक्स परीक्षण गराउनेको संख्या समेत तीव्र बढेको छ । मंकिपक्सको परीक्षण घाउबाट लिइने स्वाबबाट गरिँदै आएको छ ।