
कञ्चनपुरमा विगत एक दशकदेखि चार पक्की पुल अलपत्र पारिएका छन । ठेकेदारले पाएको जिम्मा पूरा गर्न नसक्दा पुल अलपत्र पारिएका हुन् ।
सरकारले जिल्लाका विभिन्न नदी, नाला खोलाहरूमा निर्माणका लागि ठेक्का दिएका चार पुल अहिलेसम्म निर्माण भएका छैनन् । दोदा नदी, ओदाल खोला, मलरिया नाला र मुसेपानी खोलामा अहिलेसम्म पुल निर्माण नहुँदा सर्वसाधारण मारमा परेका छन् । चारै पुलको पहिलो सम्झौता निर्माण म्याद सकिएको चौथाे, पाँचौँपटक म्याद थप हुँदासमेत पुल निर्माण हुन सकेको छैन ।
आर्थिक वर्ष ०७१–०७२ मा ठेक्का भएको देखतभूली लालझाडी जोड्ने दोदा नदीको पुल अझै अधुरै छ । लुम्बिनी राजेन्द्रकुमार शर्मा जेभीले २४ करोड २२ लाख ५७ हजार लागतमा निर्माणको जिम्मा पाएको उक्त पुलको २० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । यसअघि उक्त पुलेको पहिलो डिजाइन असफल भएपछि दोस्रो बनाइएको थियो ।
पुल निर्माणका लागि लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभीले सडक डिभिजन कार्यालय महेन्द्रनगरसँग ७० मिटर लम्बाइ फुटपाथसहित ११ मिटर चौडाइको पुल निर्माणका लागि २६ पुस ०७२ मा सम्झौता गरेको थियो । २६ पुस ०७५ मा सम्पन्न गर्नुपर्ने भए पनि पुल निर्माणका क्रममा प्राविधिक त्रुटि देखिएपछि पुल निर्माण कार्य अलपत्र परेको थियो ।
तीन पिलर गाडेर चौथो पिलर गाड्ने क्रममा दलदल भेटिएपछि पुलको डिजाइन नै परिवर्तन गरे पनि तीन वर्षमा निर्माण सम्पन्न हुनुपर्ने पुल १० वर्ष बितिक्दा पनि निर्माण भएको छैन ।
सम्झौता सकिएपछि पहिलोपटक २७ पुस ०७५ देखि २५ माघ ०७७ सम्म म्याद थप भयो, पहिलोपटक म्याद थप भए पनि काम सुरु नै नभएपछि दोस्रोपटक २६ माघ ०७७ मा ३० असार ०८० सम्म सक्ने गरी म्याद थप गरिएको म्याद निरन्तर थप्दै आगामी ०८२ माघसम्मै भए पनि पुल निर्माण समयमै नहुने शंका उब्जाएको छ ।
बुडर नायल बंक रोडअन्तर्गत गत कृष्णपुर नगरपालिका १ बंकको ओदाल खोलामा आर्थिक वर्ष ०७२/७३ मै जिम्मेवारी पाएको थागिम गल्वा भेजी भेन्चरले पाँच करोड ४७ लाख चार हजारमा ठेक्का पाएको थियो । हाल ८० प्रतिशत मात्रै प्रगति भएको छ । समयमै निर्माण सम्पन्न नसकेको भन्दै निर्माण कम्पनीलाई सडक डिभिजन कार्यालय महेन्द्रनगरले १० प्रतिशत हर्जना लगाएको छ ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरले समयमै पुल निर्माण गर्न नसकेपछि दोधाराचाँदनी– १ मलरिया नालाको ठेक्का तोडिदिएको छ । शंकरमाली अकेला जेभीले चार करोड ६१ लाख ३४ हजार लागतमा निर्माण जिम्मा पाएको पुलको हालको प्रगति ५५ प्रतिशत मात्रै रहेको छ।
बेलकोट नगरपालिका ६ र ७ जोड्ने मुसेपानी खोलामा राजेन्द्र लुम्बिनी जेभीले १५ करोड ४३ लाख २९ हजार लागतमा निर्माण जिम्मा पाएको थियो । हाल ७० प्रतिशत मात्रै प्रगति भएको छ ।
चारै पुलकोे पटक– पटक म्याद थप गर्दासमेत पुल निर्माण गर्न नसके पनि भौतिक प्रगतिभन्दा बढी वित्तीय भुत्तानी गरिएको छ । दोदा पुलको भौतिक प्रगति २० प्रतिशत, वित्तीय भुक्तानी ४५ प्रतिशत, ओदाल खोलाको भौतिक प्रगति ८० प्रतिशत वित्तीय झुक्तानी ७८ प्रतिशत, मलरिया नालाको भौतिक प्रगति ५५, वित्तीय प्रगति ५३ र मुसेपानी खोलाको भौतिक र वित्तीय प्रगति बराबरी ७०–७० प्रतिशत रहेको छ ।
सडक डिभिजन कार्यालयले काम नगर्ने ठेकेदारमाथि डन्डा बजाएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारीसमेत रहेका इन्जिनियर प्रसाद जोशीले अलपत्र पारिएका चारै पुलमा कार्यालयबाट उच्च निगरानी राखिएको बताए।
इन्जिनियर जोशीका अनुसार मलरिया नाला पुलको ठेक्का तोडिएको बताए । ठेकेदारले बदमासी गरेपछि कार्यालयले ठेक्का तोडेर नयाँ ठेक्का लगाउने तयारी गरेको बताए। हाल उक्त पुलको प्रगति आधा मात्रै भएको छ । ओदाल खोलाको पुल निर्माणका लागि निर्माण कम्पनीलाई १० प्रतिशत हर्जना लगाएको बताए । दोदा नदीको पुलेको आगामी १२ माघ ०८२ सम्म म्याद थप भएकाले निर्माण कार्य अघि बढेको बताए ।
सडक डिभिजन कार्यालयमातहत ठेक्का भएका पुल १०औँ वर्ष बितिसक्दा पूरा नभएपछि पूर्वपश्चिम महेन्द्र राजमार्ग मर्मतसम्भार भने तीव्र रूपमा भइरहेको जनाएको छ। गड्डाचौकी–अत्तरिया, अत्तरिया–चिसापानी र अत्तरिया–फल्टुडेसम्मको बिग्रिएको सडक मर्मत कार्य भइरहेको जनाएको छ ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर हरिशप्रसाद जोशीले एमएस कन्स्ट्रक्सनले ७० लाख बजेटमा गड्डाचौकी–अत्तरिया सडक, कापली कन्स्ट्रक्सन प्रालिले ४५ लाखमा अत्तरिया–चिसापानी र घोडासैनी निर्माण कम्पनीले २९ लाखमा अत्तरिया–फल्टुडे सडक मर्मत गरेको छ । ठेकेदारले दशकौँ बितिसक्दा पनि पुल निर्माण कार्य अलपत्र पारेपछि स्थानीयलाई आवतजावतमा समस्या भएको छ।
स्थानीयले पुल निर्माण नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको बताएका छन् । लालझाडी, कृष्णपुर, वेदकोट र दोधाराचाँदनी क्षेत्रका स्थानीय मारमा परेका हुन् ।
दोधाराचाँदनीका स्थानीय महादेव भट्टले ठेक्का भएको आठ वर्ष बितिसक्दा पनि पुल निर्माण नहुनु दुःखद भएको बताए । ‘काम सुरु गरेको आठ वर्ष भयो,’ उनले भने, ‘ठेकेदार कहिले आउँछ, जान्छ ।’ ठेकेदारले स्थनीयसँग बजेट नभएको बहाना गरेर काम नगरेको बताउँदै फर्किने गरेको उनले बताए।
लालझाडी गाउँपालिका– ५ देखतभुलीका स्थानीय पद्मा रानाले पक्की पुल निर्माण नहुँदा वर्षौँदेखि नदी तर्न काठको पुलको पुल प्रयोग गर्दै आएको बताइन् । ‘वर्षौँ भइसक्दा पनि शुल्क तिरेर काठको पुलबाट नदी वारपार गर्ने बाध्यता हटेन, पक्की पुल भएर आउजाउ पर्ने सपना छ,’ उनले भनिन्, ‘चुनावमा जहिले पनि नेताहरू पुल बनाउँछु भन्छन्, चुनाव जितेर गएपछि बिर्सिन्छन् ।’
दोदामा पुल नहुँदा नागरिकले काठेपुलमा मोटरसाइकल, साइकलको शुल्क तिरेर आवतजावत गर्नुपर्ने बाध्यता भएको बताए । ‘नदीमा पुल छैन, स्थानीय समितिले निर्माण गरेकै काठेपुल प्रयोग गर्दा सवारीसाधनको शुल्क तिर्नुपर्छ,’ ‘उनले भनिन्, ‘शुल्कभन्दा पनि जान जोखिममा राखेर आवत–जावत गर्नुपर्ने बाध्यता छ ।’ एकपटकका लागि साइकल २० र मोटरसाइकल ४० रुपैयाँ तिर्नुपर्ने बाध्यता छ । देखतभुलीका स्थानीय अगुवा जनकराज जोशीले सम्बन्धित निकायबाट ताकेता नहुँदा ठेकेदार कम्पनीले लापरबाही भएपछि पुल निर्माण कार्य अलपत्र परेको बताए ।
लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी पुल निर्माण तत्कालीन साइड इन्चार्ज गोविन्द विष्टले अहिले निर्माण कार्य सुरु भएको बताए । ‘विगतको डिजाइनअनुरूप त्रुटि भेटियो, कंक्रिड भेटिएन,’ उनले भने, ‘दोस्रोपटकको डिजाइनसमेत ढिला पाइयो, अहिलेको थपको समयमले काम समयमै सम्पन्न नहुने भएकाले म्याद थप्नुपर्छ ।’ अहिले पुल निर्माणको काम भइरहेको बताउँदै अब निरन्तर काम हुने उनले बताए । लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले समयमै पुल निर्माणका लागि पालिकाले सम्बन्धित निकायलाई दबाब दिने बताए ।