१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार o८:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मौद्रिक नीतिले सेयर बजारलाई ‘मलम’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o८:२६:oo

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले सेयर बजारलाई मलम लगाउने काम गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लगानीकर्ताको सबैभन्दा चासोको विषय रहेको सेयर कर्जालाई केही परिमार्जन गरेको छ । बैंक तथा वित्तीय संस्थाबाट सेयर कर्जा लिन पाउने चार करोडको सीमा हटाएको छ भने १२ करोडको सीमालाई भने यथावत् राखेको छ ।

यसअघि एक बैंकबाट चार करोड र समग्र प्रणालीबाट १२ करोड रुपैयाँसम्म मात्रै सेयर धितो कर्जा लिने पाउने व्यवस्था गरेको थियो । नीति परिमार्जनसँगै लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लिन पाउनेछन् । ब्रोकरबाट व्यवस्थित रूपमा कर्जा प्रवाह भएसँगै १२ करोडको सीमा कर्जा पनि हटाइने मौद्रिक नीतिमा उल्लेख छ ।

गत वर्षको मौद्रिक नीतिमार्फत ४–१२ को व्यवस्थापछि सेयर बजार घटेर १९ महिनायताकै न्यून बिन्दुमा आएको लगानीकर्ताको जिकिर छ । बजार निकै घटेपछि लगानीकर्ताले सेयर धितो कर्जा सीमा नै खारेजीको माग गर्दै आन्दोलन गर्दै आएका थिए । गत वर्ष मौद्रिक नीति आएको भोलिपल्टबाटै ३२ सयसम्म परीक्षण गरेको बजारको ओरालो यात्रा सुरु भएको थियो ।

सेयर सीमाकै कारण बजार घटेपछि लगानीकर्ताले राष्ट्र बैंकका गभर्नरको तीव्र आलोचना हुँदै आएको छ । सोही कारण पनि धितो कर्जा सीमालाई सामान्य परिमार्जन गर्न राष्ट्र बैंक बाध्य भएको सेयर लगानीकर्ता बताउँछन् । सेयर बजार दबाब समूहका महासचिव नयन बाँस्तोलाले अघिल्लो वर्षको मौद्रिक नीतिले लगाएको घाउलाई यस वर्षको नीतिले मलम लगाउने काम गरेको बताए । ‘समग्रमा मौद्रिक नीति सकारात्मक मान्नुपर्छ, भोलिको दिनमा अघिल्लो मौद्रिक नीतिजस्तो नकारात्मक प्रभाव नभई सकारात्मक हुँदै जान्छ भन्नेमा आशावादी छौँ,’ उनले भने । पूरै निराशा हुने अवस्था नभएको बताउँदै ४० प्रतिशत सकारात्मक प्रभाव पर्ने बाँस्तोलाको भनाइ छ ।

लगानीकर्ताले सेयर धितो कर्जामा लागू गरिएको जोखिम भारलाई सय प्रतिशतमा झार्नुपर्ने माग राख्दै आएका थिए । लगानीकर्ताको मागलाई राष्ट्र बैंकले केही संशोधनसहित सम्बोधन गरेको छ । नयाँ व्यवस्थाअनुसार २५ लाखसम्मको सेयर धितो कर्जामा जोखिम भार सय प्रतिशत कायम गरिएको छ भने सोभन्दा बढीको कर्जामा १५० प्रतिशत लागू हुने भएको छ ।

लगानीकर्ता तथा नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले पनि केही हदसम्म माग सम्बोधन भएको मान्नुपर्ने बताए । उनले भने, ‘ठूला लगानीकर्ताको हितमा भन्दा पनि साना लगानीकर्ताका लागि सकारात्मक हुने गरी मौद्रिक नीति आएको छ, समग्रमा पुँजी बजारको हितमा छ ।’ 

त्यस्तै, मर्जरमा गएका कम्पनीहरूको कारोबार रोक्का नहुने व्यवस्थालाई लगानीकर्ताले सकारात्मक रूपमा लिएका छन् । पुस महिनासम्म मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको कारोबार रोक्का नहुने मौद्रिक नीतिमा उल्लेख छ ।

पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेलले मर्जरमा कम्पनीको कारोबार रोक्का नहुने व्यवस्था पनि लगानीकर्ताले उठाउँदै आएको मागलाई सम्बोधन भएको बताइन् । ‘हामीले उठाउँदै आएको माग सम्बोधन भएको छ, यसले लगानीकर्तालाई निकै सकारात्मक प्रभाव पार्नेछ,’ उनले भनिन् ।

त्यस्तै, नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले सेयर धितो कर्जा सीमालाई पूर्ण खारेजीको माग राखेको भए पनि मौद्रिक नीतिले सम्बोधन नगरेको बताए । ‘हामीले सडकदेखि सदनसम्मकै कुरा पुर्‍याएर पूर्ण खारेजीको माग राखेका थियौँ, तर आंशिक सम्बोधन मात्र हुन सक्यो,’ उनले भने ।

ad
ad