१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार o७:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

राप्रपाका दुवै समूहमा नेता तान्ने होडबाजी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o७:२९:oo

गत मंसिरमा महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएपछि विभाजित भएको राप्रपाका दुई समूहमा एकअर्कोबाट नेता तान्ने होडबाजी सुरु भएको छ । लिङ्देनले नेतृत्व गरेको राप्रपा र कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालमा नेताहरू ओहोरदोहोर गर्ने क्रम बढेको छ ।

राप्रपाले राजसंस्था, हिन्दू राष्ट्र, प्रदेशको सट्टामा स्थानीय स्वायत्त शासनको वकालत गरेको छ । राप्रपा नेपालले भने राजसंस्थाबारे बहस गर्ने स्थान सुरक्षित राख्दै अहिलेकै राजनीतिक प्रणालीभित्र हिन्दू राष्ट्रको पक्ष लिएको छ । 

बिहीबार राप्रपा नेपालका बरिष्ठ नेताहरू उद्धव पौडेल र चन्द्रबहादुर गुरुङ राप्रपाको केन्द्रीय सदस्य मनोनीत भए । उनीहरू राप्रपाबाट थापा अलग भएपछि उनी नेतृत्वको राप्रपा नेपाललाई समर्थन गर्दै पार्टी छाडेका थिए । उनीहरू राप्रपा केन्द्रीय सदस्य मनोनीत भएकै दिन बिहीबार राप्रपाका नेताहरू दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्याम तिमल्सिना, दमन बस्नेत, दिनेश श्रेष्ठलगायतलाई अध्यक्ष कमल थापाले राप्रपा नेपाल प्रवेश गराएका छन् । विगतमा लिङ्देनलाई निर्वाचनमा जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका नेताहरू लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राप्रपा नेपाल प्रवेश गरेका छन् । 

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेताहरूलाई पार्टी प्रवेश गराए । थापाले अरूभन्दा आफू कम राजावादी नभएको, तर परिवर्तित परिस्थितिमा राजसंस्था पुनस्र्थापनालाई कार्यनीतिक एजेन्डा बनाउन नसकिने बताए । उनले राप्रपा नेपाल बलियो शक्ति बनेपछि राजसंस्थाका विषयमा उपयुक्त निर्णय लिन सकिने पनि बताए ।

‘अहिले हामी बलियो राष्ट्रवादी बलियो शक्ति निर्माण गरौँ । भविष्यमा उपयुक्त समयमा राजसंस्थाका बारेमा उपयुक्त निर्णय गर्न हामी खुला छौँ । प्रजातान्त्रिक पार्टी भएकाले राप्रपा नेपालभित्र विविध विचारको स्थान र सम्मान छ,’ थापाले भने, ‘राजसंस्थाप्रति मेरो सम्मानमा कुनै कमी आएको छैन ।’ थापाले राप्रपाको शक्तिले मात्रै राजसंस्था पुनस्र्थापना सम्भव नभएको ठोकुवा गरे । ‘तपाईंहरू भविष्यमा राजसंस्था पुनस्र्थापना गर्न चाहनुहुन्छ भने पनि राप्रपा नेपालमा आउनुस्, हामी सँगै काम गरौँ,’ थापाले भने । 

राप्रपा नेपालले राप्रपाका नेताहरूलाई आकर्षित गर्न राजसंस्थाप्रति नरम नीति अख्तियार गर्न खोजेको एक नेताले जानकारी दिए । ‘राप्रपा नेपालले राजसंस्थाका लागि अहिले कुनै कदम नचाले पनि त्यो विचारलाई स्थान सुरक्षित गर्ने अनि राप्रपासहित राजावादी समूहमा रहेकाहरूलाई पार्टीमा आकर्षित गराउने यो रणनीति हो,’ राप्रपा नेपालका एक नेताले नयाँ पत्रिकासँग भने ।

 राप्रपा नेपाल प्रवेश गरेका गिरी र बस्नेतले राजसंस्थालाई पनि स्पेस दिनुपर्ने धारणा राखेका थिए । तर, गिरीले पूर्वराजा ज्ञानेन्द्र राप्रपाको मात्रै हुन खोजेको भन्दै त्यस्तो राजा स्वीकार गर्न नसकिने बताए । उनले भने, ‘हामीले राप्रपाको राजा खोजेका होइनौँ, दलभन्दा माथि रहेका सबैका साझा व्यक्तित्व हुन्छन् भने मात्रै राजा भए ठीक हुन्छ भनेका हौँ ।’ गिरी राप्रपा नेपालमा विगतमा थापाका सबैभन्दा निकट सहयात्री हुन् । 

लिङ्देनले भने– देश सबैभन्दा माथि 
राप्रपा अध्यक्ष लिङ्देनले देश सबैभन्दा माथि राखेर अघि बढ्ने बताएका छन् । पार्टी केन्द्रीय समिति बैठकलाई बिहीबार सम्बोधन गर्दै प्रणालीगत त्रुटि सच्याउनुपर्ने पनि उल्लेख गरे । ‘असफल प्रमाणित भइसकेको राजनीतिक नेतृत्वको अवतरण र प्रणालीगत त्रुटि सच्याउनुको विकल्प हामीसँग छैन,’ केन्द्रीय समिति बैठकमा पेस भएको राजनीतिक प्रस्तावमा लिङ्देनले भनेका छन्, ‘पटक–पटक असफल साबित भइसकेका राजनीतिक दल र नेतालाई फेरि कुर्सीमा पुर्‍याउने कि इमानदारी, निष्ठा र उच्च नैतिक बलको धरातलमा खडा भएर देशलाई नयाँ बिहानीतर्फ लैजाने प्रण गर्ने विकल्प रोज्ने ?’

ad
ad