१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०७९ श्रावण ५ बिहीबार ०७:३८:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

रानाथारू बस्तीमा सावन डोलाको रौनक

रानाथारू भाषामा पिङलाई ‘डोला’ भनिन्छ । सावनको डोलामा मौलिक पहिरनमा सजिएका रानाथारू महिला परम्परागत गीत गाएर पिङ खेल्दै रमाइलो गर्छन् 

Read Time : > 1 मिनेट
२०७९ श्रावण ५ बिहीबार ०७:३८:००

आदिवासी रानाथारू समुदायमा सावनको डोलाको रौनक सुरु भएको छ । साउन महिना लागेसँगै रानाथारू बस्तीहरूमा डोला राखिएका छन् । रानाथारू भाषामा पिङलाई ‘डोला’ भनिन्छ । सावनको डोलामा मौलिक पहिरनमा सजिएका रानाथारू महिला परम्परागत गीत गाएर पिङ खेल्दै रमाइलो गर्छन् । रानाथारू महिला तिज मनाउने क्रममा साउन महिनाभर ‘सावनको डोला’ खेलेर रमाउँछन् । दिनभरि काममा व्यस्त हुने उनीहरू राति सामूहिक रूपमा गीत गाउँदै पिङ खेल्छन् । धनगढी उपमहानगरको कैलाली गाउँ, धनगढी गाउँ, घुँइयाघाट, मनहेरालगायत रानाथारू बस्तीमा राखेका पिङमा अहिले महिलाहरूको छुट्टै रौनक छ ।

दाजुभाइ र दिदीबहिनीबीचको प्रेम दर्साउन पर्व
दाजुभाइले दिदीबहिनीका लागि पिङ राखिदिने गर्छन् भने दिदीबहिनीहरू दाजुभाइको दीर्घायुको कामना गर्दै तिजमा व्रत बस्ने गर्छन् । विवाहित छोरीचेलीलाई दाजुभाइले माइत बोलाएर ल्याउँछन् । यो पर्वले दाजुभाइ र दिदीबहिनीका बीच प्रेम बढाउने रानाथारू समुदायका अगुवाहरू बताउँछन् । यसलाई सामाजिक, सांस्कृतिक महत्व बोकेको पर्वको रूपमा पनि लिने गरिन्छ ।

धनगढी– १३, कैलाली गाउँका भल्मन्सा मोली रानाका अनुसार यो पर्व रानाथारू समुदायको मौलिक पर्व हो । दिदीबहिनीका लागि दाजुभाइले पिङ बनाइदिने, माइतबाट बोलाएर ल्याउने र दाजुभाइको दीर्घायुका लागि व्रत बस्ने भएकाले यस पर्वले दाजुभाइ–दिदीबहिनीका बीचमा आपसी प्रेम, स्नेह, सद्भाव बढाउने उनले बताए ।

 पुरुषहरूले छोरीचेलीका लागि काठको खाँबामा डोरी बाँधेर पिङ बनाउँछन् । डोरीमा काठको फल्याक बाँधिने गरिन्छ । पहिले जुट र बाबियो बाटेर पिङ बनाउने गरिन्थ्यो, तर हिजोआज बाबियो र जुट पाउन समस्या भएकाले प्लास्टिकको डोरीबाट पिङ बनाइन्छ । ‘गाउँभरिका महिलाहरू जम्मा भएर राति पिङ खेल्दै रमाइलो गर्दै गीत गाउन थालेपछि गाउँमा पर्वको उल्लास छाएको छ ।’ धनगढी गाउँका रामसिंह रानाले भने । 

 डोला पर्वमा दाजुभाइको दीर्घायुको कामना
डोला पर्वमा दिदीबहिनीले दाजुभाइको दीर्घायुका लागि पानीसमेत नपिएर व्रत बसी तिज मनाउने गर्छन् । साउनको पहिलो दिनबाटै पर्व सुरु भए पनि साउन शुक्ल तृतीयाको दिन तिजको प्रमुख दिनका रूपमा मनाउने चलन छ । यसै दिन उनीहरू पानीसमेत नखाई व्रत बस्ने गर्छन् ।

निराहार बसेका दिदीबहिनीले प्रसादका रूपमा गुलगुला, सिमही, पपरा, पुरी आदि परम्परागत परिकार बनाउने गर्छन् । गडरौँदा, कांस, कुश जातको घाँसमा विवाहिताले सात गाँठा र अविवाहिताले पाँच गाँठा पार्छन्, जसलाई चाँदीको गहनाले काटेर बत्ती र प्रसादका रूपमा चढाइएका परिकारसँगै नदीमा बगाउने चलन छ ।

विर्सजनपछि त्यही परिकार चाखेर व्रत अन्त्य गर्ने गरिन्छ । तीजका अवसरमा महिलाले घंघरिया, अंगिया, फतुइ, घुँगटजस्ता परम्परागत पोसाक र पैडा, कठुला, हरवालगायत घाँटीदेखि खुट्टासम्मका आभूषण लगाउने गरेको धनगढी गाउँका पूजा रानाले बताइन् । उनका अनुसार व्रत समापनका दिन परम्परागत पकवानहरू बाँड्ने र घरमा सबै सँगै बसेर खाने चलन छ । रानाथारू समुदायको बसोवास कैलाली र कञ्चनपुरमा मात्र छ । सरकारले रानाथारूलाई गत वर्ष आदिवासीको सूचीमा सूचीकृत गरेको थियो ।