मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १७:२४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ललितपुर महानगरले चालू आवलाई ‘सुशासन वर्ष’का रूपमा मनाउने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १७:२४:oo

ललितपुर महानगरपालिकाले चालू आर्थिक वर्ष ०७९/८० लाई ‘सुशासन वर्ष’का रूपमा मनाउने भएको छ । बुधबार ललितपुर महानगरपालिकाको नगर सभाबाट चालू आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गर्दै विभिन्न योजना तर्जुमा गरिएको सम्बन्धमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमार्फत महानगरले यस्तो जनाएको हो । 
पत्रकार सम्मेलनमा बोल्दै महानगरपालिका मेयर चिरीबाबु महर्जनले चालू आर्थिक वर्ष सुशासन वर्षको रूपमा मनाइने बताए। महानगरले गर्ने खर्च कटौती गरेर, बेरुजु उल्लेख्य मात्रामा घटाएर, पारदर्शिता प्रवर्धन गरेर, वडालाई विकासको केन्द्रको रूपमा विकसित गरेर र कार्यसम्पादन सम्झौता गरेर यस आर्थिक वर्षलाई ‘सुशासन वर्ष’ मनाउन लागिएको बताए । 
मेयर महर्जनले वारुण यन्त्रको क्षमता अभिवृद्धि गर्ने, विपद्सम्बन्धी सम्पूर्ण जनशक्ति, स्रोत, साधन, सामग्री, सूचना एउटै छातामुनिबाट परिचालन गर्ने, रिङरोडबाहिरका वडाहरूमा फोहोर संकलनमा आधुनिक उपकरणको प्रयोग तथा परिचालन गर्ने योजना बनाएको बताए । महानगरका सबै वडामा सम्भव भएसम्म आधुनिक अपांगमैत्री सार्वजनिक शौचालय निर्माण गर्ने योजना रहेको बताए । 

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष ०७९/८० का लागि ६ अर्ब ३५ करोड ३५ लाख तीन हजार रुपैयाँको बजेट प्रस्ताव गरेको थियो । जसमध्ये चालू खर्चतर्फ २ अर्ब २६ करोड ६१ लाख ५४ हजार तथा पुँजीगततर्फ ४ अर्ब ८ करोड ७३ लाख ४९ हजार रुपैयाँ विनियोजन गरिएको छ । महानगरपालिको ६ अर्ब ३५ करोड ३५ लाख तीन हजार रुपैयाँको प्रस्तुत बजेटमा आन्तरिक स्रोत ३ अर्ब ९६ करोड, संघीय ससर्त अनुदान ६५ करोड ९४ लाख, प्रदेश ससर्त अनुदान २९ करोड ९८ लाख ४ हजार र अन्तरसरकारी वित्तीय हस्तान्तरण १ अर्ब ७० करोड ४१ लाख १९ हजार रुपैयाँ रहेको छ । 

चालू खर्चतर्फको ४५ करोड रुपैयाँ ललितपुर महानगरपालिकाभित्रका ७३ वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप वार्षिक एकमुष्ठ रूपमा १० हजारका दरले उपलब्ध गराउने महानगरले जनाएको छ ।